१ पुस, काठमाडौं । न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी शुरुवात गरेको छ । सरोज तामाङले दुई गोलसँगै एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराएको हो ।
एनआरटी गत वर्ष लिगको पुछारमा थियो । त्यही कारण यो सिजन सुरु हुँदा एनआरटीको दुई अंक ऋणात्मक थियो । मंगलबारको जितसँगै त्यो ऋण कटाएर एनआरटीले एक अंक जोडेको छ ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले ४०औं मिनेटमा जुनियर ओंगेको गोलबाट अग्रता लिएको थियो । एनआरटीले दोस्रो हाफमा तीन गोल थप्यो ।
६९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका सरोज तामाङले ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एनआरटीका लागि ९० औं मिनेटमा जोर्डन जुनियर निडेम्बाले गोल गर्दै फराकिलो जित दिलाए ।
प्रतिक्रिया 4