Comments Add Comment

घरायसी विवादपछि तरकारीमा विष : आमाको मृत्यु, ५ छोराछोरी सिकिस्त

१ पुस, वीरगञ्ज । घरायसी विवादमा तरकारीमा विष हालेर खाँदा वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ भने सोही परिवारका अन्य ५ जना सदस्य बिरामी भएका छन् ।

वीरगञ्ज–२४ बहुअरीका जगदिश कुर्मीकी श्रीमती ३४ बर्षकी राधिकादेवीको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए ।

राधिकाका छोरा ३ वर्षीय करिमन भन्ने विवेक कुमार, उनका सौताका छोरा २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल र १७ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । उनीहरुको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । सघन उपचार कक्ष (आईसीयु) मा उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

राधिका जगदिशको दोस्रो श्रीमती हुन् । १५ बर्ष पहिले जेठी श्रीमतीको मृत्यु भएपछि जगदिशले राधिकासँग विवाह गरेका थिए । स्रोतका अनुसार सोमबार बिहान खाना पकाउने विषयमा राधिका र छोरी मनिषाबीच झगडाको भएको थियो ।

त्यही रिस फेर्न सोमबार राति खाना पकाउने क्रममा राधिकाले तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् । विषादी हालेर पकाएको तरकारी परिवारका सदस्यलाई खुवाउनुको साथै राधिका आफूले समेत खाएकी थिइन् । परवानीपुरको कपडा उद्योगमा काम गर्ने जगदिश सोमबार राति घर नआई उद्योगमै बसेका थिए ।

खाना खाएलगत्तै गम्भीर बिरामी परेका उनीहरुलाई उपचारका लागि सोमाबार राति वीगञ्जको तराई हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको तराई हस्पिटलले जनाएको छ ।

अन्यलाई तराई हस्पिटलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

‘सोमबार बिहान खाना कसले पकाउने विषयमा राधिका र मनिषाबीच विवाद भएको रहेछ, प्रहरी निरीक्षक साहले भने, ‘त्यसपछि आवेशमा आएर राधिकाले राति खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विरामी आईसीयूमा भएकोले थप सोधपुछ गर्न पाएका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment