+
+

अमेरिकाबाट बोरा बोकेर फर्किएका पाँच नेपाली युवा !

अवैध बाटोबाट अमेरिका छिरेका नेपाली फर्काउन चाटर्ड विमान

गौरव पोखरेल गौरव पोखरेल
२०७६ पुष २ गते २२:००

२ पुस, काठमाडौं । असोज १०, २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाड्दै गर्दा दाङका अनिल (नाम परिवर्तन) अमेरिका, पीआर र सुखद भविश्यको सपना देखिरहेका थिए । २६ महिनापछि उही अनिल काठमाडौं ओलिए, बोरा बोकेर ।

अझ यो २६ महिनामा उनको खाएको हण्डर सुन्ने मात्र हो भने पनि अत्यास लाग्छ । मुटु काम्छ र मुखबाट फुत्किन्छ, ‘धन्य ! ज्यान जोगाएर फर्किएका रहेछन् ।’

अमेरिकी सरकारले चाटर्ड गरिदिएको विमान चढेर काठमाडौं आइपुग्दा अनिलसहित पाँच नेपाली युवासँग पीडैपीडाको कथा र पश्चातापबाहेक केही छैन । कतिसम्म भने आफ्नो कपडा हाल्ने ब्याग समेत थिएन, त्यसैले केसैले बोरामा त कसैले प्लाल्टिकको थैलोमा झुण्ड्याएका थिए । खल्ती रित्तो छ ।

अनि उनीहरुलाई घर कसरी पुग्ने, परिवारका सदस्यहरुलाई के जवाफ दिने भन्ने चिन्ता मात्र छ ।

अमेरिका सपनामा लाखौं स्वाहा !

रुकुममा २९ वर्षीय सुरेन्द्र (नाम परिवर्तित) बेरोजगार थिए । गाउँमै बसिरहेका उनलाई आफन्त र छरछिमेकले विकामे भइस् भनेर कराइरहन्थे, बरु विदेश गएर दुई पैसा कमाएर आइज भन्थे । घरका सदस्यहरुले गुनासो गरिरहन्थे ।

गाउँका थुप्रै अमेरिका गएर पीआर लिएको पनि सुन्थे । उनलाई लाग्यो, अब अमेरिका जान्छु, पीआर लिन्छु ।

तर, कसरी जाने थाहा छैन । उनी अमेरिका गएका व्यक्तिको घर परिवारसँग सोधेर एक एजेन्टको सम्पर्कमा पुगे । जसको नाम उनी अहिले खुुलाउन चाहँदैनन् । ती एजेन्टले सुरेन्द्रलाई अमेरिका जान पाउने संकेत त दिए तर, दुई शर्त राखेर ।

पहिलो, जसरी भएपनि अमेरिकी सीमा मेक्सिकोसम्म पुर्‍याउने, तर त्यसपछि जिम्मेवारी लिन नसक्ने ।

दोस्रो, कम्तिमा पनि २० लाख रुपैयाँ लाग्छ । त्यसमाथि बाटोमा थप रकम आवश्यक पर्न सक्छ ।

अमेरिका सपनाका अगाडि उनी सबै शर्त मान्न तयार भए । ‘अमेरिका पुगिन्छ भने कसले त्यति खर्च गर्दैन र ?’, प्रश्न गर्दै उनी भन्छन्, ‘मैले पनि घर खेत बेचेर, ऋण गरेर पैसा जुटाएको थिएँ ।’ अमेरिका जान भनेर १० असोज २०७४ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

एजेन्टले भारत हुँदै यात्रा अघि बढ्ने जनाएका थिए । दिल्लीमा केही दिनको बसाइपछि ब्राजिल हुँदै कोलम्बियाबाट सुरेन्द्रको अवैध अमेरिका यात्राको थालनी भयो । तर पानामा पुग्नुअघि दुःखका दिन सुरु भयो । विचौलियाले देखाइदिएको रुटअनुसार उनी डेरियन ग्याप नामक जंगलको बाटोबाट अघि बढेका थिए ।

जंगलमा एकातिर विषालु सर्पको डर, अर्कातिर द्वन्द्वरत् हतियारधारी समूहसँग पनि जम्काभेट । ‘उनीहरुले हामीसँग भएका सामान लुटिदिए’, सुरेन्द्रले सुनाए, ‘मसँगै गएका अन्य देशका साथीहरुको पनि सामान केही बाँकी रहेन ।’

पानामा पुगेपछि उनको यात्रा झनै कठिन थियो । हरेक दिन नयाँ परिस्थितिको सामना गर्नुपर्ने । कहिले घना जंगलको यात्रा त कहिले डुंगा शयर । ‘निकारगुवामा त एक सरो कपडा पनि शरीरमा बाँकी रहन दिएनन् । लुटेर नाँगै बनाए’, उनी सम्झन्छन् । यात्राको क्रममा कपडासमेत मागेर लगाए, निकारगुवाबाट हुण्डुरस, गोटेमाला हुँदै चार महिनाको यात्रापछि उनी मेक्सिको पुगे ।

मेक्सिको पुगेपछि अमेरिका छिर्न एजेन्टको सकारात्मक संकेतको पर्खाइमा थिए उनी । सीमा क्षेत्रमा बसिरहेका उनी अनुकुल वातावरण मिलेपछि राति सीमा पर्खाल पार गरे, तर अमेरिकी भूमिमा टेकेको पाँच मिनेट हुन नपाइ पक्राउ परे ।

उनी भन्छन्, ‘सायद सीसी क्यामराबाट हेर्दाे रहेछ ।’ त्यसपछि ११ महिनासम्म हिरासतमा बसे । विभिन्न शहरका क्याम्पमा सर्दासर्दै बुधबार नेपाल आइपुगे ।

तीन भाइको कथा उस्तै

रुकुमका सुरेन्द्र मात्र होइन, दाङ घोराहीका ३२ वर्षीय दिनेश, बाग्लुङको धाम्जाका ३० वर्षीय हरि र दाङका २९ वर्षीय अनिलको कथा पनि उस्तै छ ।

स्नातक पढेर विद्यार्थी भिषामा गएका नवलपरासीका ३२ वर्षीय पिताम्बर भिसा नविकरणविनै बसेका कारण फर्काइएका हुन् । अवैध बाटोबाट गएका चार जनाले कक्षा ८ देखि १२ सम्म पढेका छन् । एजेन्टले पढाइसँग सरोकार नहुने बताएका थिए ।

अनिलको भने भिन्न कथा छ । ०७४ मा भारत–रसिया–हुण्डुरस–पानामा हुँदै दुई महिनामै अमेरिकी सीमासम्म उनी पुगे । सीमाको पर्खाल कटेको १५ मिनेटमै पक्राउ परेपछि अन्य झैँ शरणार्थीको रुपमा अमेरिकामा बस्न निवेदन दिए ।

तर हिरासतमै रहेका वेला थर मिलेका कारण अर्कै व्यक्तिको ट्राभल डकुमेन्टमा हस्ताक्षर गराएर उनी नेपाल पठाइए । ‘मेरो मुद्दा अमेरिकामा अझै चलिरहेकै छ’, उनी भन्छन्, ‘मलाई जबरजस्ती कागज पत्र रुजु नगरी नै नेपाल पठाइयो ।’ त्यसविरुद्ध वकिलले अझै बहस जारी राखेको उनी बताउँछन् । यो प्रक्रियासम्म आइपुग्दा एक करोड रुपैयाँ खर्च भइसकेको उनले सुनाए ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी)का अधिकृतकाअनुसार विगतमा माओवादी सशस्त्र द्वन्द्वका कारण घरवारविहीन भएर नेपालमा बस्न नसकेको भन्दै आवेदन पेश गरिन्थ्यो । २०७२ सालमा भूकम्पका जाँदा पनि केही व्यक्ति त्यसैलाई आधार बनाएर अमेरिकामा बसोबास गरे ।

तर अहिले अवैध बाटोबाट अमेरिका छिर्नेको आवेदन अस्वीकृत हुने गरेको देखिन्छन् । ‘कतिपयले विप्लव समूहबाट त्रास रहेको देखाएर पनि आवेदन दिएको भेटिएको छ’, एक अधिकृतले अनलाइनखबरसँग भने, ‘तर नेपालमा अहिल्यै विप्लव समूहको समस्या त्यति विकराल भइनसकेको अमेरिकी अधिकृतहरुलाई थाहा छ ।’

अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अख्तियार गरेको आप्रवासीप्रतिको कडा नीतिका कारण पनि अवैध रुपमा अमेरिका छिर्न असम्भव रहेको ब्युरोका अधिकृतहरुको दाबी छ ।

चाटर्ड विमानको यात्रा

‘चाटर्ड विमानमा खर्च गर्नुको साटो पैसै दिनु नि !’

सपनाको देशबाट खाली हात फर्किएका उनीहरु निराशाका बीच ठट्टा गर्छन् । हुन पनि अमेरिकाले ५ नेपाली युवासहित तीन पाकिस्तानीलाई निष्कासन गर्दा नेपाली ५ करोड रुपैयाँ खर्च गरेको छ ।

विशेष प्रकृतिको १६ जना अटाउने विमानमा अमेरिकी सुरक्षा अधिकृतले उनीहरुलाई नेपाल ल्याएका हुन् ।

यसअघि विमान नै चार्टर गरेर नेपालीलाई फर्काएको प्रहरी अधिकृतहरुलाई याद छैन ।

बरु १८ भदौमा काठमाडौंबाट पक्राउ परेका अमेरिकाका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई अमेरिका लैजान भने विमान चार्टर गरिएको थियो । त्यसवेला करिब एक लाख अमेरिकी डलर खर्च भएको बताइएको थियो ।

अमेरिका यात्राको अँध्यारो पाटो विर्सनु हुन्नः प्रहरी

निष्कासित पाँच नेपालीलाई पठाइएको सूचना अमेरिकी दूतावासमार्फत आएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) को टोली सोधपुछका लागि विमानस्थल पुगेको थियो । टोलीले पाँचै जनालाई बबरमहलस्थित कार्यालयमा ल्यायो । र, उनीहरुलाई अवैध बाटोबाट अमेरिका लैजोन गिरोहबारे सोधपुछ गरेको छ ।

तर उनीहरु विचौलियाबारे बोल्न मानेनन् । बरु उल्टै भन्छन्, ‘के गर्नु भाग्य नै खोटो रहेछ । सँगै गएका एकजना साथीले पीआर लिइसके ।’

सोधपुछका क्रममा उनीहरुले दुःखका केही कथा त सुनाएका छन्, तर दलालविरुद्ध उजुरी दिन मानेका छैनन् । उनीहरुको एकैस्वर छ, ‘लैजानेले पहिल्यै मेक्सिकोबाट उताको जिम्मा लिन सक्दिन भनेको थियो । उसको पनि के दोष र !’

तर, यही अवस्था रही रहने हो भने नेपाली युवाको अवैध तस्करी नरोकिने ब्यूरोका अधिकृतहरु बताउँछन् । ‘उजुरी प्राप्त भए अनुसन्धान हुन्छ । तर, उजुरी नै पर्दैन भने सूचना राखेर बस्नुको विकल्प हुँदैन’, ब्युरोका डीएसपी नरहरि रेग्मी भन्छन् ।

ब्युरोको अनुमानअनुसार वर्षमा हजारको हाराहारीमा नेपाली युवा अवैध बाटोबाट अमेरिका जाने नाममा ठगिएका छन् । ब्युुरो प्रमुख एसएसपी ईश्वरबाबु कार्की पनि अमेरिका भन्ने वित्तिकै अँध्यारो पाटो पनि छ भन्ने नविर्सन आग्रह गर्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?