Comments Add Comment

मासुको मुल्य बढाउन जिउँदा चल्ला मार्ने अभियान 

पशु अधिकारकर्मीको विरोध

३ पुस, काठमाडौं । नेपाल ह्याचरी उद्योग संघको आह्वानमा अहिले ब्रोइलर र कोइलर जातको कुखुराको ६० लाख जिउँदा चल्ला मार्ने अभियान देशभर चलिरहेको छ ।  कतै सहमतिमै त कतै जबरजस्ती संघका मानिसहरु चल्ला मार्दै र अण्डा नष्ट गर्दै हिँडिरहेका छन् ।

उत्पादनले बजार नपाएको भन्दै मंसिर २८ बाट संघले यो अभियान सुरु गरेको हो । पुस ८ सम्म अभियान जारी रहने बताइएको छ । कतै ह्याचरीबाट जिउँदै चल्ला खाल्डोमा पुरिएका छन् भने कतै चल्ला उत्पादनका लागि तयार सिञ्चित अण्डा नष्ट गरिएका छन् ।

भारत लगायतका मुलुकमा यसअघि ‘चिकेन होलिडे’ नाममा यस्तै अभ्यास भएको थियो । त्यसैको सिको संघले गरेको छ । तर, यस्तो अभियानले व्यवसायीलाई ठूलो आर्थिक क्षति पुग्ने त छ नै, पशुअधिकारको दृष्टिले पनि यो आपत्तिजनक क्रियाकलाप हो । पशुअधिकारकर्मीहरुले यस्तो कार्यको विरोध गरेका छन् ।

नेपाल ह्याचरी उद्योग संघ नेपालभर चल्ला उत्पादन गर्ने २८० हाराहारी उत्पादकहरुको छाता संगठन हो । चल्ला उत्पादन र वितरणका लागि व्यवसायीहरुबीच आवश्यक सहयोगदेखि सरकारसँग सौदाबाजी र बजार नियन्त्रणका लागि संघले काम गर्छ ।

यतिबेला देशैभर आफू र आफ्ना माताहतका उत्पादकका चल्ला नष्ट गर्न संघ लागिपरेको छ । साठ्ठी लाख चल्ला उत्पादन रोक्दा ह्याचरी व्यवसायीलाई तत्काल ३३ करोड हाराहारी नोक्सान पुग्ने छ । यो नोक्सान कसरी उठ्छ भन्ने जवाफ व्यवसायीसँग छैन । अहिलेसम्म कति चल्ला र अन्डा नष्ट गरिए भन्ने विवरण पनि संघले दिएको छैन ।

लहडमा लाग्दा

नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर मुलुक हो । पशुसेवा विभागका अनुसार वैदेशिक रोजगारीबाट फर्केका युवादेखि धेरै कृषकहरु पछिल्लो समय कुखुरापालनमा लागेका छन् । अहिले कृषकहरुले नाफाको ठूलो हिस्सा कुखुरापालनमा भन्दा पनि चल्ला उत्पादनमा देखे ।

कुखुरापालक खोज्दै आफूले उत्पादन गरेको चल्ला, दाना वितरणदेखि कुखुरा पालनका लागि फर्म बनाइदिनेसम्मको काम ह्याचरीवालाले गरे । कुखुरापालनबाट पैसा कमाएका धेरै कृषक ह्याचरी मालिक भए ।  फलतः देशभर चल्लाको उत्पादन मागभन्दा उच्च बन्यो । हाल  साप्ताहिक रुपमा ह्याचरीको चल्ला उत्पादन ४५ लाख छ तर बजारमा चल्लाको साप्ताहिक माग ३२ लाखभन्दा धेरै छैन ।

चल्ला जसरी पनि बेच्नैपर्ने बाध्यताले ह्याचरीहरु बीच मूल्य घटाउने होडबाजी चल्यो । अन्य कुरामा साझा सहमति भए पनि चल्ला जसरी पनि बेच्नै पर्ने विषयमा व्यवसायीमा एकता भएन । अहिले प्रतिचल्ला न्यूनतम् मूल्य ५५ रुपैयाँ भन्दा कम छ । चितवन ह्याचरी संघ अध्यक्ष ज्ञानबहादुर बिसुरालको दाबी अनुसार चल्लाको लागत मूल्य ७० रुपैयाँ पर्छ र प्रतिचल्ला उत्पादन घाटा २५ रुपैयाँ पुगेको छ ।

पशु अधिकारकर्मीको विरोध

चिक्स होलिडेका नाममा जिउँदा चल्ला मार्ने अभियानको पशु अधिकारर्मीहरुले विरोध गरेका छन् । पशुअधिकारका लागि काम गर्दै आएको संस्था एसपीसीए नेपालका अध्यक्ष विकेस श्रेष्ठले यस्तो जिउँदा पशुपन्छीलाई खाल्डोमा पुर्ने काम कुनै पनि बहानामा असैह्य भएको बताए ।

‘यो काम अमानवीय र निर्दयी हो, हामी यसको तीव्र निन्दा गर्छौं,’ उनले भने, ‘व्यवसायीले आफ्नो समस्या समाधानको अरु उपाय खोज्नुपर्छ ।’

उनले यो अभियानको विरोधमा पशु अधिकारका पक्षमा काम गरिहेका संस्थाहरुले संयुक्त कदम चाल्ने तयारी भइरहेको पनि बताए ।

विभाग भन्छ : व्यसायीको अधिकार

पछिल्लो १० दिन चल्ला उत्पादन रोकिएको छ भने भएका उत्पादन पनि नष्ट गरिएको छ । जसको असर तत्काल नपरे पनि एक महिनामा बजारमा प्रष्ट देखिने छ ।

पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा आफ्नो उत्पादन नष्ट गर्ने अधिकार सम्बन्धित व्यवसायीमा हुने बताउँछन् ।

‘उनीहरुले जे प्रयोजनका लागि चल्ला नष्ट गरे पनि त्यसको असर बजारमा देखिए मात्रै हामीले हस्तक्षेप गर्ने हो,’ उनले भने । व्यवसायीकोे चल्ला नष्ट अभियानले बजारमा पर्ने असर एक महिनापछि मात्रै देखिने पशु सेवा विभागको निश्कर्ष छ ।

स्वतः घाटामै चलेको व्यवसायमा झन् घाटा थप्ने काम व्यवसायीबाटै भएपछि उपभोक्ताबाट असुल्न प्रयास हुन सक्नेमा विभाग चनाखो रहेको महानिर्देशक डा. वंशी बताउँछन् । यसै विषयलाई लिएर विभागले ह्याचरी उद्योगीलाई छलफलमा बोलाएको पनि उनले जानकारी दिए ।

चितवन ह्याचरी उद्योग संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार प्रतिकिलो कुखुराको लागत १८० रुपैयाँ रहेको छ, तर किसानले एक सय ३० रुपैयाँमा कुखरा बिक्री गरिरहेका छन् ।

‘चल्ला उत्पादक र कुखुरा किसान मर्कामा परेपछि बाध्य भएर यो निर्णयमा पुगेका हौँ,’ अध्यक्ष बिसुरालले भने, ‘किसान पेसा छोडेर पलायन हुने अवस्था त आउनु भएन नी ।’

मूल्यमा असर परे कारबाही 

कृषि मन्त्रालयले ह्याचरी व्यवसायीको गतिविधि नजिकबाट अध्ययन गरिरहेको जनाएको छ । व्यवसायीले गलत काम गरेको देखिए पनि पशुपन्छी वधसम्वन्धी कानुन बन्ने क्रममा रहेकाले कारबाही गर्न तत्काल कुनै अधिकार नभएको मन्त्रालयका सह प्रवक्ता डा प्रदीपचन्द्र भट्टराईले बताए ।

‘आज नष्ट गरेको चल्लाले आजै मासुको मूल्य बढ्दैन, त्यसैले तत्काल कारबाही गर्न मिल्दैन,’ उनले भने ।

आफूहरु अस्वस्थ प्रतिस्पर्धा गरेर व्यापार गरेर घाटा भयो भन्दैमा उपभोक्ताहित विपरित काम भए आपूर्ति मन्त्रालयसँग समन्वय गरेर कारबाही अघि बढाउने सहप्रवक्ता भट्टराईले प्रष्ट पारे ।

ह्याचरी व्यवसायीकै कारणले बजारमा मासुको मुल्य बढे कडा कारबाही गर्ने वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

‘अहिले त उनीहरुले आफ्नै बुद्धीले आफैलाई घाटा पुर्याएका छन् यसबाट उपभोक्तामा असर परे दण्ड गर्छौं,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने । सरकारले ह्याचरी उद्योग र कुखुरा व्यवसाय बचाउन हर सम्भव प्रयास गरेको भन्दै महानिर्देशक सुवेदीले अराजक गतिविधि मान्य नहुने बताए ।

‘विभागले आफ्ना संयन्त्रमार्फत बजारको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘चल्ला र मासुको भाउ बढ्यो भने खरो कारबाहीमा उत्रिने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment