Comments Add Comment

प्रधानसेनापति थापा पुस अन्तिम साता बंगलादेश जाने

४ पुस, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस अन्तिम साता बंगलादेशको औपचारिक भ्रमण गर्ने भएका छन् ।

चार दिने भ्रमणका लागि २८ पुसमा थापा बंगलादेशतर्फ प्रस्थान गर्ने तय भएको नेपाली सेनाको जंगीअड्डाले जनाएको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भ्रमणको तयारी भइरहेको बताए । ‘भ्रमणका क्रममा हुने भेटवार्ताका विषयबारेमा पनि टुंगो लागिसेको छैन’, उनले अनलाइनखबरसँग भने ।

बंगलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणमा थापाले गर्न लागेको भ्रमणमा त्यहाँका प्रधामन्त्री, रक्षामन्त्री लगायतसँग पनि भेटवार्ता हुनसक्ने अनुमान गरिएको छ ।

थापाको भ्रमण टोलीमा जंगीअड्डाका एक/एक जना उपरथी र सहायक रथी र निजी सुरक्षा अधिकृत (एडीसी) सहभागी हुनेछन् ।

बंगलादेशका प्रधानसेनापति अहमद थापाको भ्रमणपछि नेपाल आउनेछन् । भ्रमणले दुई देश बीचको सैन्य सम्बन्धलाई सुमधुर बनाउनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धनलाई सुमधुर बनाउने विश्वास लिइएको सेनाले जनाएको छ ।

भारत, चीन, अमेरिकापछि बंगलादेश भ्रमण

सरकारले २४ भदौ २०७५ मा थापालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि पहिलो पटक २७ पुसमा उनले भारत भ्रमण गरेका थिए । भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा उनले ६ दिने भारत भ्रमण पूरा गरेका थिए ।

त्यसक्रममा थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले २८ पुसमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए । सन् १९५० देखि नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्का देशको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा रही आएको छ ।

भारत भ्रमणका क्रममा उनले भारतीय सेनाको जयपुरस्थित दक्षिण–पश्चिमी कमाण्ड र लखनउस्थित केन्द्रीय कमाण्डको मुख्यालयको पनि निरीक्षण भ्रमाण गरेका थिए ।

भारतपछि उनी २०७६ असार पहिलो साता चीन भ्रमणका लागि प्रस्थान गरे । भ्रमणका क्रममा थापाले चिनियाँ समकक्षी लागयत चिनियाँ जनमुक्ति सेनाका उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता र द्विपक्षीय सम्बन्ध र सैन्य सहयोग विस्तार सम्बन्धी विषयमा छलफल गरे ।

यो पनि पढ्नुहोस चीनले बढायो सैन्य सहयोग

चीन भ्रमणका वेला मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोग अन्तरगत एक सय ५० मिलियन आरएमबी बराबरको सामग्री दिने प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

असार अन्तिममा थापाले संयुक्त राष्ट्र राष्ट्र संघको मुख्यालय, न्यूयोर्कको पनि भ्रमण गरे ।

थापा सेनापतिहरुको सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए । सम्मेलनमा १०६ सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकृतहरुको सहभागिता थियो । सोही क्रममा थापाले संयुक्त राष्ट्र संघका उच्च स्तरीय पदाधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment