Comments Add Comment

संघीय संसदको हिउँदे अधिवेशन सुरु

४ पुस, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन औपचारिक रुपमा आरम्भ भएको हो ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसदका दुवै सदनको बैठक आरम्भ भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई उपसभामुख तुम्बाहाम्फेले पढेर सुनाइन् ।

त्यसैगरी, शुक्रबार नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन अह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले २०५१ सालमा तात्कालिन नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि बैरागी दाहाल, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टाछुट्टै  शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको पुस ११ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाइने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले यस्तो निर्णय गरको हो ।

अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment