Comments Add Comment

ए डिभिजन लिगमा शंकटाको पहिलो जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शंकटा क्लबले पहिलो जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शंकटाले न्यूरोड टिम (एनआरटी) लाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा कप्तान अमित तामाङकोे पासमा दिपेश आले मगरले गोल गर्दै शंकटालाई अग्रता दिलाएका थिए । नियमित कप्तान रवि सिलवालको अनुपस्थितिमा अमितले शंकटाको आर्मब्याण्ड लगाएका हुन् ।

दोस्रो हाफको शुरुमै शंकटाले अग्रता दोब्बर पार्ने मौका गुमायो । शंकटाका जिन मारीको प्रहार एनआरटीका कप्तान प्रकाश बुढाथोकीले गोललाइनबाट क्लियर गरे ।

यस्तै ६८औं मिनेटमा एनआरटीका दर्शन गुरुङको प्रहार शंकटाका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै बचाएका थिए । ७७औं मिनेटमा दर्शनले वान भर्सेस वानमा शंकटाका गोलकिपरलाई बिट गर्न सकेनन् भने ८०औं मिनेटमा एनआरटीका जोर्डन ओवानाले गोल गरेपनि अफसाइड भएको थियो ।

जारी लिगमा शंकटाको यो पहिलो जित हो । गत सिजनको उपविजेता शंकटा पहिलो खेलमा च्यासल युथ क्लबसँग पराजित भएको थियो । एनआरटीले भने सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment