Comments Add Comment

टेलिभिजनका रियालिटी शो युट्युबमा हिट, भ्यूज र ट्रेन्डिङ हेरेरै मख्ख मेकर

अहिले नेपाली टेलिभिजनमा रियालिटी शो प्रशारण गर्ने होडबाजी नै चलेको छ । विभिन्न देशमा हिट भैसकेका रियालिटी शोलाई नेपाल भित्र्याएर प्रशारण गर्न अझ निर्माताहरु अग्रसर छन् । मनोरञ्जनात्मक कार्यक्रम प्रशारणमा चिनिएका एपीवान, हिमालय टेलिभिजन, कान्तिपूर टेलिभिजन लगायतले रियालिटी शोलाई विशेष स्थान दिइरहेका छन् ।

बिहिबारबाट एपीवान टेलिभिजनमा ‘नेपाल आइडल’को तेस्रो सिजन प्रशारणमा आएको छ । दुई सिजन सफलतापूर्वक सम्पन्न गरेको यो रियालिटी शोलाई धेरैले प्रतिक्षा गरिरहेका थिए ।

विशेषगरि, यस्ता रियालिटी शो टेलिभिजनमा प्रशारण गर्नुको उद्देश्य हुन्छ, दर्शकको ध्यान आकर्षित गर्नु । नेपाली टेलिभिजनले दर्शकको आकर्षण तान्न नसकिरहेको अवस्थामा यस्ता शोले दर्शकलाई टेलिभिजनको अगाडि बस्न आकर्षित गर्छन् भन्ने सोच संचालकहरुको पनि छ । नेपालमा भारतीय टेलिभिजनको दबदबा छ । भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो, सिरियलबाट नेपाली दर्शकको मोह हटाएर नेपाली टेलिभिजनको पर्दामा आकर्षित गर्न यस्ता शोहरु प्रशारण भैरहेका छन् । तर, के यस्ता शोहरुको लोकप्रियता टेलिभिजनको टीआरपी अनुसार मापन गरिएको छ त ?

पक्कै पनि, अहिले यस्तो शो निर्माण गर्ने निर्माताहरु टेलिभिजनको टीआरपी अनुसार शोको लोकप्रियता मापन गरिरहेका छैनन् । यसैले, यस्ता शोका पत्रकार सम्मेलनमा निर्णायक, प्रतिस्पर्धीदेखि शो निर्माता युटुबको ट्रेन्डिङ र भ्यूजकै कुरा उठाएर मख्ख छन् । तर, विदेशी शोलाई विस्थापित गर्ने र नेपाली टेलिभिजनमै दर्शकको आँखा डुलाउनका लागि यस्ता शो सफल भएका छन् त भन्ने प्रश्न उठिरहेको छ ।

किन हालिन्छ युट्युबमा ?

रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी विदेशमा रहेका र टेलिभिजन नहेर्ने दर्शकको लागि युट्युबमा हाल्नु परेको बताउँछन् । उनले भने–‘प्रत्येक मेकरलाई आफ्नो शो धेरै भन्दा धेरै दर्शकले हेरुन् भन्ने चाहना हुन्छ । यसैले टेलिभिजन नहेर्ने दर्शकको लागि हामीले युट्युबमा शो हालेका हौं ।’

युट्युबबाट सजिलै दर्शकको प्रतिक्रिया पनि लिन सकिने विशालले बताए । उनले थपे–‘टेलिभिजनमा हेर्ने दर्शकले हामीलाई प्रतिक्रिया दिन गाह्रो नै हुन्छ । युट्युबबाट भने उहाँहरुले तुरुन्तै प्रतिक्रिया दिनुहुन्छ । शोको कमजोरी र राम्रो पक्ष थाहा पाउनका लागि पनि युट्युब राम्रो छ ।’

युट्युबको अर्को फाइदा आर्थिक आम्दानी पनि हो । ‘हामीले रियालिटी शो तयार गर्न धेरै लगानी गरेका हुन्छौँ । त्यो विज्ञापनबाटमात्रै उठ्न गाह्रो नै हुन्छ । तर, अहिले युट्युबले गर्दा केही हदसम्म बचाएको छ’, विशालले वास्तविकता बताए ।

त्यस्तै ‘हिमालय रोडिज’का निर्देशक अमनप्रताप अधिकारी आफ्नो लक्षित दर्शक युट्युबमा नै भएका कारण युट्युबमा हालिएको बताउँछन् । उनले भने–‘हाम्रो शोको लक्षित दर्शक भनेका युवापुस्ता नै हुन् । युवापुस्ताका मान्छेहरु अहिले टेलिभिजन हेर्ने कमै छन् । उनीहरुलाई नै लक्षित गरेर युट्युबको हालिएको हो ।’

‘हिमालय रोडिज’ एमटीभी रोडिजको फ्रेन्चाइज हो । त्यसैले युट्युबमा हाल्ने भन्दैमा आफूहरुले जे पनि गर्न नमिल्ने उनले बताए । भने–‘मैले एपिसोड तयार गरेपछि इन्डियामा पठाउनु पर्छ । उहाँहरुलाई नराम्रो लागे काटिदिनु हुन्छ । हामीले युट्युबमा नै हाल्न पाउदैनौँ । त्यसैले हामीले नियममा नै रहेर युट्युबमा हालेका छौँ ।’

रोडिज युट्युबमा आउँदा टीभीलाई खासै असर नगरेको उनको भनाई छ । ‘अरु समयको टीआरपी मलाई पत्तो भएन । तर, रियालिटी शोहरु आएको बेला टीभी हेर्ने दर्शक बढेका छन् । जुन कुरा टेलिभिजनका संचालकले हामीलाई भन्नुभएको हुन्छ’, उनको भनाई छ ।

हुनत, अहिले युटुबको ट्रेन्डिङमा एउटा क्यामेरा सोझ्याएर खिचिएका भाइरल भिडियोदेखि साउथमा बनेका महंगा चलचित्र अनी नेपाली रियालिटी शोहरु भेट्न सकिन्छ । युटुबको भ्यूज र ट्रेन्डिङले मात्रै शोको लोकप्रियता र सफलता मापन गर्न सकिदैन । तर, टेलिभिजनमा देखाउन लायक भनेर खिचिएका र निर्माण गरिएका शोहरु टेलिभिजनमै दर्शकले हेर्दा यसको निर्माणको औचित्य भने पुष्टि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment