Comments Add Comment

पर्यटन बोर्डबाट जोशीले पाए अवकाश, नयाँ सीईओ बन्न १७ आकांक्षी

८ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीको ४ वर्षे कार्यकाल समाप्त भएको छ । उनले सोमबारबाट अवकास पाएका छन् ।

पर्यटन बोर्ड संचालक समितिले जोशीलाई थप चार महिनाको अवधि थप गरी जागिर लम्ब्याइदिन खोजेको थियो । तर, जोशीले भने यसलाई इन्कार गरेका छन् । सीइओ जोशीले कानूनी परामर्शपछि चार महिनाका लागि आफू सो पदमा नबस्ने निष्कर्षमा पुगेको जानकारी दिए ।

जोशीले दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाटै आउने भन्दै नयाँ सीइओको प्रतिस्पर्धीका रुपमा आफूलाई उभ्याएका छन् । नयाँ सीइओका लागि १७ जनाको आवेदन परेको छ, त्यसमध्ये जोशीको हो ।

‘थपिएको चार महिना मैले सीइओ स्वीकार गर्दा भविश्यमा कहिले पनि आवेदन गर्न नपाइने प्रावधान रहेछ, त्यसकारण मैले त्यो अस्वीकार गरी खुला प्रतिस्पर्धामा आएको हुँ,’ अनलाइनखबरसँग उनले भने । अहिले नियुक्ति लिँदा स्वतः दोस्रो कार्यकाल गनिन्छ । त्यसकारण जोशीले खुला प्रतिस्पर्धामा छनोट हुन सके पूर्ण कार्यकाल नै चलाउने सुर गरेका हुन् ।

सीइओ जोशीसहित पर्यटन बोर्ड भित्रबाटै १० जनाको आवेदन परेको छ । बोर्डबाटै सीइओमा आवेदन गर्नेहरुमा निर्देशक काशीराज भण्डारी र हिक्मत सिंह ऐर रहेका छन् । प्रवन्धकहरुमा रोहिणी खनाल, नविन पोखरेल, उदय भट्टराई, सूर्य थपलिया र लेखनाथ भुषालसमेत आकंक्षी देखिएका छन् ।

यसबाहेक वरिष्ठ अधिकृत सन्तोष बिक्रम थापा र कुन्दन शर्मा (मिश्र)ले समेत सीईओका लागि आवेदन दिएका छन् । बोर्ड बाहिबाट भने ७ जना आकांक्षी देखिएका छन् । विमल नेपाल, प्रमेश श्रेष्ठ, दीपक बास्ताकोटी, प्रयास अधिकारी, विष्णुप्रसाद गौतम, धनन्जय रेग्मी र बच्चुनारायण श्रेष्ठको आवेदन परेको हो । बच्चु नारायण श्रेष्ठ अहिले भ्रमण वर्ष सचिवालयका सदस्यसचिव हुन् ।

बढीमा एक महिनाभित्र नयाँ सिइओको सिफारिस भइसक्ने सीइओ सिफारिस समितिका संयोजक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

भ्रमण वर्षमा नेतृत्व अभाव

नेपाल पर्यटन बोर्ड खासगरी नेपाल भित्रका आन्तरिक पर्यटकीय गन्तब्यलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न स्थापना भएको हो । बोर्डमा सीइओ नहुँदा अब ५ जना निर्देशकहरुको एक समूहले बोर्डको नेतृत्व गर्नेछ । त्यसो त नयाँ नियुक्ती नहुँदासम्म बोर्डको काममा अनौपचारिक ढंगले सहजिकरण गरिदिन जोशीलाई आग्रह गरिएको छ ।

नियमित प्रक्रियाद्धारा पदरिक्त भएको र नियमित प्रक्रियाबाटै पदपूर्तिको प्रक्रिया अगाडी बढेका कारण भ्रमण वर्ष र त्यसको तयारीमा प्रभाव नपार्ने सहसचिव उपाध्याय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment