+
+
Shares

सुर्खेतका युवा भैंसीपालन तर्फ आकर्षित

रासस रासस
२०७६ पुष ९ गते १४:४३
फाइल फोटो ।

९ पुस, सुर्खेत । पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन । कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको शव आएका घटना पनि नौलो होइन ।

मूलतः रोजगारीकै लागि खाडी मुलुकमा जाने नेपाली युवाले ठूलो दुःख भोग्नु परिरहेको छ । सपना र श्रम बेचेर रित्तो हातमा फर्कनुपर्ने विवशताले युवा निरुत्साहित बन्दै गएका छन् । स्वदेशमा रहने युवा पनि लागूऔषध दुव्यर्सनी सिकार बनिरहेका छन् । स्थल तथा हवाइमार्गबाट लागूऔषध ओसारपसार भइरहेको छ ।

मदिरा तथा लागूऔषधले युवा समाज तहसनहस हुँदै गएको छ । गाउँ शहरमा अधिकांश युवा आपराधिक कर्ममा लागेको पाइन्छ । यद्यपि यो जटिल परिवेशमा भने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका– १० का दुई युवाले रोजगारीकै लागि विदेश जानुपर्छ भन्ने सोच बदल्ने उत्प्रेरणा जगाएका छन् ।

वीरेन्द्रनगर नगरपालिका– १० सुवर्ण शाही र उत्तम उपाध्यायले रु एक करोडको लगानीमा विएसयु कृषि फार्म स्थापनागरी यही असारदेखि सञ्चालनमा ल्याएका छन् । फार्ममा २० दुहुँना भैंसी, २० पाडापाडी र एक राँगा छ । उक्त फार्मबाट दैनिक २ सय लिटर दूध बजारमा निर्यात गर्छ । बजारमा प्रतिलिटर रु ७० दूध बेच्दा दैनिक रु १४ हजार आम्दानी हुने गरेको फार्म सञ्चालक शाहीले बताए ।

“हामीले चार बिगाहा क्षेत्रफलको जमीन भाडामा लिएका छौं”, सञ्चालक शाहीले भने, “अब अझै १० भैंसी थप्छौं । कणकनाथ जातका कुखुरा र टर्कीपालन गर्ने तयारीमा पनि छौं ।” भर्खरै सुरु गरेकाले धेरै आम्दानी नभए पनि भविश्यमा यस फार्मलाई कर्णालीकै नमूना बनाउने उनले दाबी गरे ।

त्यस्तै अर्का सञ्चालक उत्तम उपाध्यायले फार्मले कन्य च्याउ, तरकारी उत्पादनलाई समेत जोड दिएको बताए । एघार जनालाई फार्ममा रोजगारी दिएको बताउँदै उनले भावी दिनमा बँदेल, हाँस, बङ्गुरलगायत पशु तथा पक्षीपालन व्यवसायलाई पनि अगाडि बढाउनेगरी कार्ययोजना बनाइरहेको जनाए ।

सुरुमा बजार पाउन गाह्रो भए पनि अहिले बजारको मागअनुसार दूध आपूर्ति गर्न धौधौ भएको उनको भनाइ छ । नेपियर, जै र वर्षिम जातको घाँस भैँसीका लागि उत्पादन गरेको भन्दै सञ्चालक उपाध्यायले सरकारलाई व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्नु अनुरोध गरे ।

उक्त कृषि फार्मको आजै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अवलोकन गरिन् । युवाले नमूना कार्य गरेको भन्दै उनले परिश्रमी युवाको व्यवसाय प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन पहल गरिने बताइन् ।

“हामी नमूना युवा व्यवसायीलाई खोजिरहेका छौं,” मन्त्री केसीले भनिन्, “हामीले बुझेका छौं । किसानको आफ्नो लगानीले मात्रै सञ्चालन गर्न गाह्रो छ ।” सरकारले ऊर्जाशील युवाका लागि लगानी गर्ने उनको भनाइ थियो

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?