९ पुस, बुटवल । अत्यधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।
चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार र शुक्रवार (दुई दिन) विद्यालय बन्द गर्ने भएको हो ।
तिलोत्तमा नगरपालिकाको पुस ९ गते बसेको वैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय छन् । केही दिनदेखि रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरसमेतले चिसो बढेको छ ।
बुधवार रुपन्देहीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको थियो ।
हुस्सु र चीसो मौसमकै कारण गौतमबुद्ध विमानस्थल भैरहवाका उडानहरु पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया 4