Comments Add Comment

सकारात्मक सोचले मानिसलाई निरोगी बनाउँछ-रेखा शाह

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ यो गीत धेरै नेपाली संगीतप्रेमीहरुको रोजाइमा परेको पाइन्छ । विदेशीहरुले समेत अत्यन्त मन पराउने यो गीतकी गायिका हुन्, रेखा शाह । उनकै संकलनको यो गीत आज पनि उत्तिकै लोकपि्रय छ । सिमसिमे पानीमा सहित दर्जनौं नेपाली गीतहरुमा स्वर प्रदान गरिसकेकी गायिका शाह अध्ययनशील गायिकाहरुमा समेत गर्छिन् । उनलै हालैमात्र जेन्डर स्टडिजमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । निकट भविष्यमै टप्पा शैलीको नयाँ गीत गाउने तयारीमा रहेकी गायिका शाह गत सातामात्र नातिकाजी राष्ट्रिय संगीत पुरस्कार-२०७६ बाट पुरस्कृत भएकी छिन् । तिनै गायिका शाहसँग उनको दैनिक जनजीवन, सांगीतिक करियर तथा सुन्दरतामा केन्द्रित रहेर गरिएको कुराकानी :

पछिल्लो समय सांगीतिक व्यस्तता कस्तो छ ?

भर्खरै ‘पछ्यौरी भिजायो…’ बोलको गीत र भिडियो सार्वजनिक गरेकी छु । अहिले २ वटा नयाँ गीतको संगीत संयोजन भइरहेको छ । नियमित शास्त्रीय संगीतको कक्षा लिइरहेकी छु । गायनलाई अझै निखार्ने प्रयासमा छु । ‘सिमसिमे पानीमा…’ पछि मैले अझै गतिलो लोकगीत श्रोतालाई दिन सकिनँ । यसपाली टप्पा शैलीको ‘काठैको पुतली झ्याल-झ्यालमा’ बोलको गीत गाउँदै छु ।  निकै आशावादी छु, विदेशका सांगीतिक कार्यक्रमका कुरा भइरहेका छन् ।

गायकहरुको लागि त चिसोले स्वरमा समस्या हुन्छ भन्ने मान्यता छ । स्वरलाई सुरक्षित राख्न जाडोमा के-के गर्नुहुन्छ ?

हुन त सबैले आफ्नो स्वास्थ्यलाई चिसोबाट बचाउनु जरुरी छ । हामी गायक-गायिकालाई यसको झन् जरुरी छ । चिल्लो, पिरो, अमिलोबाट सधैं टाढा छु ।  नियमित शारीरिक व्यायामका लागि जिम जान्छु । यसले शरीरलाई फिटमात्रै राख्दैन, चिसोबाट पनि बचाउँछ । तातो पानी र हर्वल चिया बढी खान्छु । न्याना लुगा लगाउँछु ।

रिजाय कत्तिको गर्नुहुन्छ ?

दैनिक संगीत कक्षाबाहेक घरमा तानपुरा र हार्मोनियममा एक-डेढ घण्टा रियाज गर्छु । यो मेरो जीवनशैली जस्तै हो ।

पढाई कहाँसम्म पुर्‍याउनु भयो ?

मैले त्रिभुवन विश्वविद्यालयबाट ‘जेन्डर स्टडी’ मा स्नातकोत्तरसम्मको पढाई सकेँ  । अमेरिकाको कुनै विश्वविद्यालयबाट अर्को कुनै विषयमा अर्को तहको पढाईको ज्ञान लिन मन लागिरहेको छ । शायद निकट भविष्यमा त्यतातिर लाग्छु होला ।

तपाईंंका गीतहरु लोकपि्रय भइरहँदा पनि तपाईंं स्वयं चाहिँ सांगीतिक गतिविधिहरुमा किन धेरै सहभागिता जनाउनुहुन्न ? गीत लोकपि्रय हुनु एउटा कुरा हो । तर, त्यो लोकपि्रयतालाई कसरी व्यवहारिक बनाउने भन्ने अर्को कुरा हो । भित्री रूपमा पब्लिकमा देखिने सेलिबि्रटीहुड खोक्रो देखासिकी मात्रै हो । धेरै कलाकारलाई आफ्नो जीवन धान्न निकै मुस्किल छ ।

सांगीतिक कार्यक्रमका नाममा शोषणबाहेक केही छैन । विदेशमा हुने कार्यक्रमको पनि कुनै फम्र्याट र एकरुपता छैन । कसैको पास्नी र ब्रतबन्धमा म गीत गाउन जान्न । त्यसैले कम देखिएको हुनसक्छ । कार्यक्रमका अफर धेरै छन् तर पाउने पारिश्रमिकको कुरो मिल्दैन । मैले संसार घुमिसकेकाले सित्तैमा म कसैको कार्यक्रममा जान्न । म्युजिक अवार्ड भनेका खरिद-बिक्रीका धन्दा बनेका छन् । त्यस्ता कार्यक्रममा कुनै सच्चा कलाकार र कलाको सम्मान छैन । त्यसैले म जहाँ  पायो त्यहाँ जान्न ।

अस्ति भरखरैको साग खेलकुदको समापन समारोहमा पनि सिमसिमे पानीको धुन बजेको सुनिएको थियो, आयोजकले तपाईंंलाई नै गाउन किन नबोलाएका होलान् ?

संगीत बुझेको र वास्तविक कलाकारलाई सम्मान गर्ने हाम्रो राजनीतिक नेतृत्व छैन । चाकडी र चाप्लुसीको भरमा यहाँ धेरै त्यस्ता कार्यक्रमहरू भएका छन् । प्रतिलिपि अधिकार सम्बन्धी कानुन बनाउने ठेकेदारलाई समेत त्यसैको पालना गर्नुपर्छ भन्ने हेक्का छैन वा मलाई नचिनेर नबोलाएका पनि हुन सक्छन् । यसमा मेरो कुनै चित्त दुखाई छैन । तर, मेरो सम्पत्ति सार्वजनिक रूपमा प्रयोग हुन्छ भने मलाई खबर नगरी र बिना पारिश्रमिक प्रयोग गर्नु सरकारी अपराध हो ।

गायिका भए पनि अभिनेत्रीभन्दा कम देखिनुहुन्न, तपाईंंको सौन्दर्यको रहस्य चाहिँ के हो ?

दार्शनिकहरु मन सुन्दर हुने मान्छेको सबै चिज सुन्दर हुन्छ भन्छन् । म सधैं सकारात्मक सोच बनाउने र अरूलाई आफ्नो तर्फबाट हानि नहोस् भनेर सचेत हुनेगर्छु । मेरो शरीरको सुन्दरता खास केही होइन, जति म मनदेखि सुन्दर छु । बाहिर देखिएको सुन्दरता त क्षणिक हो । यतिमात्र नभएर मेरो स्वस्थ खानपान, नियमित व्यायाम ७ घण्टा निद्रा पनि हो ।

तपाईंंको दैनिक बताइदिनु होस् न ?   

म बिहान ६ बजेभित्र उठिसक्छु । उठ्नेबित्तिकै तातो पानी अनि जौको सातु-ओखर खान्छु । त्यसपछि हर्वल चिया खान्छु अनि संगीत कक्षा जान्छु । त्यसपछि केही इनर्जी फुड जस्तै अण्डा, केरा, स्याउ आदि खाएर जिम जान्छु । जिम गुरुको निर्देशनमा शारीरिक अभ्यास गर्छु । सकभर हाइजेनिक खाना खान्छु । दिउँसो खाजामा रेसादार खानेकुरा खान्छु । लोकल कुखुराको मासु, खसीको मासु थोरै मात्रामा खान्छु । नेवारी परिकारका बारा र छोयल कहिलेकाहीँ खान्छु । मन लागे पनि चिल्लो, पीरो, अमिलो, मसलेदार खाना र फास्ट फुड खान्न । धुम्रपान, मदिरा सेवन केही गर्दिन ।

ब्यूटिपार्लर महिनामा कति पटक जानुहुन्छ ?

आवश्यक पर्यो भने दिनैजसो पनि जानुपर्ने हुन्छ । तर, कपाल कटाई ६ महिनामा एक चोटी, ब्लो ड्राई गर्न महिनामा ३-४ चोटी जान्छु । हेयर टि्रटमेन्ट गर्न महिनाको एकचोटी जान्छु  ।

मेकअपमा के-के गर्न मनपर्छ ?

प्रायः सुटिंगबाहेक म घरमा आफैं मेकअप गर्छु । फाउन्डेसन पाउडर, आइ स्याडो, गाजल यत्ति लगाउँछु । मलाई मेरो नेचुरल ब्युटी मनपर्छ ।

कत्तिको फेसनेवल हुनुहुन्छ ?

मलाई सबैले फेसनेबल गायिका भन्छन् । म प्रायः नयाँ डिजाइनका मलाई सुहाउने खालका लुगाफाटा देख्नासाथ किन्छु । गरगहनामा त्यति सोख नभए पनि हिराका गहना मलाई मन पर्छ । समय र मौसमअनुसारका लुगा लगाउँछु । लुगा किन्न दिल्ली, हङकङसम्म जान्छु । विदेशमा कार्यक्रममा जाँदा उतै सपिङ पनि गर्छु । साथै, प्रायः अमेरिकाबाट मलाई मन पर्ने लुगा मगाउँछु । घरको दराजमा लुगा अटाउन छाडे भने बाँड्छु ।

तपाईंंलाई असाध्यै मनपर्ने पहिरन कुन हो ?

मलाई स्कर्ट, वान पिस ड्रेस, लेहेंगा, साडी, पाइन्ट-टिसर्ट बढी मनपर्छ ।

अन्त्यमा, स्वस्थ जीवन बिताउनु के-के गर्नुपर्छ जस्तो लाग्छ ?

स्वस्थ मन नै स्वस्थ शरीर हो । सकारात्मक सोचले मान्छेलाई निरोगी बनाउँछ । सफलताले स्वस्थ जीवनको उत्कर्षमा साथ दिन्छ । काम, आराम, व्यायाम र निद्राको सही संयोजन भयो भने अझै स्वस्थ हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment