Comments Add Comment

तीन अंक जोड्दा खुशी छ मनाङ

काठमाडौं । एपीएफ, त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज क्लब । साविक विजेता मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा खेलेको सुरुवाती तीन प्रतिद्वन्द्वी हुन् ।

अरु बेला मनाङका लागि कुनै पनि खेल असाध्यै कठिन होइन तर लिग शुरु हुनु अघि जे भयो, त्यो भने मनाङको लागि राम्रो थिएन । गत सिजन लिग जिताउँदाका कप्तान विराज महर्जनसहित पहिलो रोजाईंका अधिकांश खेलाडीले क्लब छाडेका थिए । तीन विदेशी खेलाडी पनि यसपटक अन्तै लागेका थिए ।

त्यसैले मनाङले कस्तो प्रदर्शन गर्ला भन्ने चासो थियो । तर मनाङले आफ्नै नाम अनुसारको नतिजा ल्याइरहेको छ, खेल जस्तो सुकै होस् ।

एपीएफ अनि उपाधि दाबेदार आर्मी र युवा खेलाडीहरुको बाहुल्य रहेको ब्रिगेडविरुद्ध जित्दै मनाङले लगातार तीन खेल जित्दै ९ अंक जोडेको र शीर्ष स्थानमा पकड जमाएको छ । दोस्रो स्थानको मछिन्द्र क्लब ३ अंकले पछाडि छ ।

मनाङमा टच लाइनमा बस्ने प्रशिक्षक फुजा तोपेले पनि यस पटक पहिलेको जस्तो टिम नरहेकाले हरेक खेलमा ३ अंक जोड्न सक्नु महत्वपूर्ण भएको बताएका छन् ।

बिहीबार ब्रिगेडलाई १-० ले हराएपछि फुजा खासै सन्तुष्ट नदेखिएका उाले भने,यो कठिन जित जस्तो देखिन्छ । किनकी हामीले अपेक्षा गरेजस्तो भएन ।’

उनले अघि भने, तर खेलाडीलेसकेसम्म राम्रो खेल्ने प्रयास गरे । हामीले ३ अंक पायौं, जुन महत्वपूर्ण छ ।’

‘बुझ्नुपर्ने कुरा के भने यो नयाँ टिम हो, जसले २ महिना भन्दा कम समय मात्रसंगै बिताएको छ । अपेक्षा गरेअनुसार धेरै पाउन सकिन्न अहिले’ उनले क्लबको अवस्था सुनाए, ‘मनाङका अहिले जे भइरहेको छ, तपाईहरुलाई थाहै छ । ठूलो क्लबहरुमा खासै यस्तो हुँदैन । तर यो भयो । यसको अर्थ हामीले नयाँ शुरुवात गर्नुपर्छ । त्यही भएर जे अपेक्षा गरिएको छ, त्यो देखिएको छैन ।’

क्लबमा औषत खेलाडीहरु मात्र रहेको भन्दै उनले ३ अंक लिन सकेकोमा खुसी व्यक्त गरे ।

ब्रिगेडका व्यवस्थापक अर्विन गुरुङले भने ३ अंककै लागि खेलेपनि सफल हुन नसकेको बताए । ‘मनाङको टिम पहिला जस्तो राम्रो थिएन । त्यसैले बराबरी पनि होइन ३ अंक लिन्छु भनेर आएको हो, तर सकिएन’ गुरुङले भने ।

लिगको उद्घाटन खेलमै मछिन्द्रसंग २-० ले पराजित भएको ब्रिगेडले दोस्रो खेलमा फ्रेण्ड्सलाई पराजित गर्दै ३ अंक जोडेको थियो । तर मनाङविरुद्ध भने केही लागेन । जगजित श्रेष्ठले २५औं मिनेटमा गरेको एक मात्र गोलको मद्दतमा एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जित्यो । मनाङका प्रशिक्षक फुजाले पनि ब्रिगेडमा युवा खेलाडीहरु धेरै रहेको बताउँदै भने, ‘उनीहरु सिक्दै छन् । हामीले त्यसको लागि आफ्नै रणनीति बनाएको थियौँ ।’

दोस्रो खेलमा आधा समय टच लाइनमा बसेर बाहिरिएका ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुन मनाङको खेलमा पनि उपस्थित थिएनन् । त्यसले पनि मनाङविरुद्ध खेल्न ब्रिगेडलाई केही कठिन परेको हुनसक्छ । आफैँ टच लाइनमा बसेर खेलाडीलाई निर्देशन दिइरहेका अर्विनले पनि प्रशिक्षक नहुँदा गाह्रो हुने स्वीकार गरे ।

‘कोच जागिरे मान्छे, आउन भ्याएन । यसले पनि केही गाह्रो पनि भाएको हो’ अर्विनले खेलपछि भने ।

यद्यपि क्लबमा खगेन्द्रसंगै सनोज श्रेग्ठ पनि प्रशिक्षक छन् । दुबैले ट्रेनिङ गराउने गरेका छन् । ‘तर सनोज एन्फामा भएकोल हाम्रो टिममा छैन,’ अर्विनले भने ।

मनाङ र ब्रिगेडको खेलका क्रममा केही तनाव पनि भयो । ७३औं मिनेटमा ब्रिगेडका विजय गुरुङले फाउल गरेपछि रेफ्री कविन व्यन्जनकारले मनाङका एकराज बुढाथोकीलाई सिधै रातो कार्ड दिए । अन्तिम १७ मिनेट मनाङले १० खेलाडीको भरमा खेल्यो । ब्रिगेडका विजय मैदानमा ढल्दा मनाङका केही समर्थकले नकरात्मक रुपमा टिप्पणी गरेका थिए । त्यसैले खलमा तनाव भयो । यसले आफूलाई हतोत्साहित बनाएको ब्रिगेडका व्यवस्थापक अर्विन गुरुङले बताए ।

मनाङका प्रशिक्षक फुजाले भने तनावपूर्ण खेलको अपेक्षा नगरेको प्रतिक्रिया दिएका छन् ।

शंकटा र जावलाखेलको बराबरी

बिहीबारकै दोस्रो खेलमा शंकटा क्लब र जावलाखेल युथ क्लबले १-१ को बराबरी खेल्दै अक बाँडेका छन् । लक्ष्मण रुचालको गोलमार्फत पहिलो हाफमा शंकटाले अग्रता लिएपनि जावलाखेलका ड्याड्डी जुनिउरले दोस्रो हाफमा बराबरी खेल फर्काए ।

खेलपछि शंकटाका प्रशिक्षक विजय महर्जनले अपेक्षा गर्न नसक्ने गोल खाएको सुनाए । ‘३ अंक आइसकेको थियो, खेलाडीमा तालमेल नमिल्दा गोल खानपुग्यौं,’ महर्जनले भने ।

विदेशी खेलाडीले अपेक्षा अनुसार अझै प्रदर्शन गर्न नसक्दा टिममा प्रेसर परेको उनले सुनाए ।

तीन खेलसम्म अपराजित यात्रा कायम राख्न सफल जावलाखेलका प्रशिक्षक नरेश थापाले भने खेलाडीले राम्रो खेलेको बताए । पहिलो हाफमा पाएको अवसर सदुपयोग हुन नसक्नु र आफैं कमजोरीका कारण गोल खाएको भन्दै उनले भने, ‘यसका बााबजुद समग्रमा आजको खेल सोचभन्दा राम्रो भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment