Comments Add Comment

एड्भेन्चर गेम तथा खेल पर्यटनमा जोड दिने बेला आएको छ- किशोर घिमिरे

लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध युवा हुन् किशोर घिमिरे । गीतकारको रुपमा समेत आवद्ध उनी विगतमा बैंकरको रुपमा समेत रहिसकेका छन् । रेष्टुराँ व्यवसायमा समेत हात हालिसकेका घिमिरे पछिल्लो आधा दशकदेखि पर्यटन व्यवसायमा मात्र सक्रिय भएर लागेका छन् । भारतका विभिन्न शहरमा नेपाल भ्रमण वर्ष-२०२० को प्रवर्द्धनमा समेत सक्रिय भएर लागिरहेका पर्यटन व्यवसायी घिमिरेसँग नेपाल भ्रमण वर्ष, घुमफिर तथा आन्तरिक पर्यटनका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको :

पर्यटन क्षेत्रमा सक्रिय व्यक्ति, कत्तिको घुमफिर गरिरहनु भएको छ ?

भर्खरै मात्रै भारतको नयाँ दिल्लीको व्यवसायिक भमण सकेर फर्केको छु । तर, लगतै नयाँ वर्षको आगमन सँग-सँगै नेपाल टुरिजम बोर्डले आयोजना गर्न लागेको भिजिट नेपाल-२०२० सँग सम्बन्धित कार्यक्रमहरूमा अनुबन्धित भई काम गरिरहेको छु । अर्काे महिना यही सिलसिलामा भारतको विभिन्न राज्यहरूमा भिजिट नेपालको कार्यक्रममा सहभागिता जनाउँदै छु । अहिले कामको व्यस्तताले गर्दा स्वदेशमा घुमफिर कमै छ ।

भिजिट नेपाल-२०२० मुखैमा आएको छ, तपाईंले यो वर्षलाई कसरी सेलिब्रेट गर्दै हुनुहुन्छ ?

एक पर्यटन व्यवसायीको नाताले भिजिट नेपाल-२०२० को पूर्ण सफलताको लागि पर्यटन बोर्डले तयार गरेको कार्यक्रमलाई आत्मसात गर्दै प्रचार-प्रसारमा लागेको छु । यस कार्यक्रममा भव्य, सभ्य र उत्साहजनक सहभागिता जनाई लक्ष्य प्राप्तिको योजना बनाएको छु ।

भिजिट नेपाल-२०२० लाई सफल बनाउन के-के गर्नुपर्छ होला ?

भिजिट नेपाल सफल बनाउन नेपाल सरकारको मात्र दायित्व नभई हामी जस्ता पर्यटन व्यवसायी लगायत सम्पूर्ण नेपालीहरूको मुख्य भूमिका रहन्छ । जसको सफलताको लागि आफ्नो क्षेत्रबाट सबैले प्रण गरेका छन् । सन् २०१९ को सुरुसँगै देश भित्र र बाहिर बिभिन्न पर्यटन प्रर्वद्धनका कार्यक्रमहरू घोषणा भइसकेका छन् । हामीले ती कार्यक्रमहरूमा सहभागिता जनाई नेपालको बारेको आफ्नो तर्फबाट जनचेतना जनाउँदै छौं ।

किशोर घिमिरे,

पर्यटन व्यवसायीको हिसाबले भन्नुपर्दा प्रत्येक नेपालीले घुम्ने पर्ने नेपालका मुख्य-मुख्य ठाउँहरु कुनकुन हुन् ?

नेपालमा घुम्नै पर्ने ठाउँहरू धेरै नै छन् । पैदल यात्रा, टे्रकिङ, टुर, हाईकिङ आदिको आफ्नै विशेषता छन्  । घुम्ने ठाउँको किटान गर्नुपर्दा विभिन्न निकुञ्ज, पोखरा, राराजस्ता निकै परिचित ठाउँहरू र विभिन्न पैदल यात्रा गर्नै पर्ने ठाउँहरू जस्तै एभरेष्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि ठाउँहरू तथा विभिन्न अनगिन्ती ठाउँहरू जस्तो चर्चा निकै न्यून छ । त्यस्ता ठाउँहरूको बारेमा पहिचान गर्दै घुम्न जाने सल्लाह दिन चाहन्छु ।

नेपालमा कस्तो प्रकारको पर्यटनको भविष्य देख्नुहुन्छ ? धार्मिक पर्यटन, खेल पर्यटन अथवा अन्य ?

नेपाल विशेषगरी धार्मिक पर्यटन, एडभेन्चर, टे्रकिङ, र्‍याफ्टिङको लागि प्रख्यात गन्तव्य हो । विशेषत पर्यटकहरू यहाँ घुम्न र यहाँको भौगोलिक बनोट र सुन्दरताका लागि आउने गर्छन् । अब हामी केही विशेष रूपमा प्रस्तुत हुन जरूरी छ । जस्तै, नेपालमा अन्तर्राष्ट्रिय खेलहरूको प्रवर्द्धन गर्ने साईकल रेस, बाईक रेसहरू र विभिन्न किसिमका नौला प्याकेज जस्तै अनौठा वैवाहिक समारोहहरु, खेलकुदका प्रतियोगिताहरु, सेमिनारहरूलाई पनि लक्षित गर्नु जरूरी देखिन्छ ।

नेपालमा भएका पर्यटनका पूर्वाधारहरु पर्याप्त छन् त ?

नेपालमा भएका पर्यटन पूर्वाधारहरु विगतमाभन्दा निकै थपिएको देखिन्छ । तर, पनि यो पर्याप्त चाहिँ होइन ।

लक्ष्य अनुरुप पर्यटक ल्याउन के कस्ता पूर्वाधारहरुको आवश्यकता छ ?

लक्ष्य अनुसार पर्यटन ल्याउन हाल देखिएका थोरै कमी-कमजोरीहरूको समाधान गरिनुपर्छ । जस्तै, विमान अवतरण, सडक बिस्तार, होटल विकास जस्ता आधारभूत कुराहरू पूरा गर्नु पर्ने देखिन्छ । नेपाल सरकार, पर्यटन बोर्ड यसमा लागि रहेको छ । हामी यो वर्ष लक्ष्यमा पुग्नेछौं ।

आन्तरिक पर्यटकलाई यो वर्ष कसरी आफ्नो पर्यटनको योजना बनाउने सुझाव दिनुहुन्छ ?

आन्तरिक पर्यटकलाई नयाँ ठाउँ र नयाँ यात्रा गन्तव्यहरू पत्ता लगाई ती  ठाउँहरू घुम्ने योजना बनाउन सुझाव दिन्छु ।

तपाईंको आफ्नो एजेन्सीले भारतमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै रहेछ, अहिलेसम्म के कस्ता उपलब्धीहरु हाँसिल गर्नुभयो ?

हाम्रो संस्थाले भखरै मात्र भारतको विभिन्न राज्यमा गई त्यहाँका पर्यटन व्यवसायीहरूसँग बसी नेपालको बारेमा प्रचार-प्रसार गर्दै आएको छ । भर्खरै मात्र नयाँ दिल्लीको कार्यक्रम सकिएको छ । यस कार्यक्रमपछि नेपालबारे निकै नै उत्सुकता र चाहना बढेको पाइयो । यो वर्ष विगतमाभन्दा धेरै पर्यटक भित्रिने निश्चित छ । गत वर्ष पनि यस्ता कार्यक्रमले धेरै नै मद्दत पुर्‍याएको थियो ।

आन्तरिक पर्यटकलाई लोभ्याउने कुराहरु के के होलान् ?

नेपालको सुन्दरता हिमाल, पहाड र तराईका साथ-साथै त्यसको भौगोलिक बनोट, मठ, मन्दिर र विभिन्न समुदायको आफ्नै संस्कृति र संस्कारले पर्यटन लोभ्याउन सकिन्छ ।

पर्यटन वर्ष सफल पार्नका लागि सरकारले गर्न बाँकी कामहरु केही छन् कि ?

आन्तरिक पर्यटक लोभ्याउनु सरकार र हामी जस्ता पर्यटन व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन वर्ष घोषणा गर्न जरूरी छ । नेपालको आन्तरिक पर्यटन विगतमाभन्दा बढेको छ  । यसलाई अझ निकै बढाउन सकिन्छ ।

भौतिक पूर्वाधारको अभाव छ भनिन्छ, त्यो अभावलाई कसरी पूर्ति गर्न सकिन्छ ?

भौतिक पूर्वाधारको अभावै त नभनौं तर कमी चाहिँ अवश्य छ । आगामी वर्षहरुमा बृहत रूपमा भौतिक पूर्वाधार विकासमा लाग्ने र पर्यटन प्रवर्द्धनमा मद्दत पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने बानी बसाल्न जरूरी छ । जसको कारण मानिसहरू  पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणमा सचेत हुन्छन् ।

नेपालका होटल र रेष्टुराँहरुको अवस्था कस्तो देख्नुहुन्छ ?

विगतमाभन्दा निकै नै होटल रेष्टुराँहरू खुलेका छन् । यो पक्कै पनि सुखद कुरा हो । हालै विभिन्न विदेशी कम्पनीको ब्राण्ड होटेल र रेष्टुराँ खोल्नु आफैंमा राम्रो कुरा हो

सांस्कृतिक रुपले गर्न सकिने केही कार्यहरु छन् कि ?

नेपालको संस्कृतिलाई संसार सामु चिनाउनु, विदेशमा सांस्कृति कार्यक्रमहरू, झाँकी, परेड र हरेक एम्बेसीहरूमा नेपालको सांस्कृतिक विशेषताका भिडियोहरू देखाउन जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment