Comments Add Comment

ल्होसार : गुरुङ समुदायले कसरी गरे मुसा वर्गको सुरुवात ?

तिब्बतबाट नेपाल झरेको ल्होसार

१२ वर्ष अघि मुसा वर्गको स्वागत गर्दा धुमधमाका साथ परिवारसँग नयाँवर्ष मनाएका धादिङका अशोक गुरुङले यो वर्ष पनि धुमधामका साथ आफ्नो तमु ल्होसार मनाउँदैछन् । १२ वर्षसम्मको ल्होसार उनको लागि खासै विशेष थिएन । यद्यपि उनलाई १२ वर्षपछिको यो ल्होसार विशेष लागिरहेको छ । जुन वर्गको बेलामा उनको जन्म भएको थियो । उनी भन्छन् ‘सांस्कृतिक रुपमा मान्ने हो भने यो वर्षभरी नै मेरो जन्मदिन हो । जुन १२ वर्षमा एक पटक आउने गर्छ ।’

१२ वर्षमा एक पटक पूरा हुने वर्गचक्र नै वास्तवमा उनीहरुको जन्मदिन रहेको जानकारहरु बताउँछन् । यद्यपि हरेक वर्षको ल्होसारलाई सबैले सक्रियताकासाथ मनाउने गर्छन् । यसरी गुरुङहरुको कूल १२ ‘ल्हो'(वर्ग)हरु मध्ये गरुड (गिद्ध (मुपि्रल्हो), सर्प (सपि्रल्हो), घोडा (तल्हो), भेँडा (मुल्हो), बाँदर (प्रहृल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), मृग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (हृयूल्हो) वर्ग छन् । तमू क्यालेन्डर अनुसार प्रत्येक वर्ष पौष १५ मा वर्ग परिवर्तन हुन्छ । आजदेखि मुसा वर्गको सुरुवात भयो भने मृग वर्गको बिदाई गरिएको छ ।

गुरुङ भन्छन् ‘१२ वर्षमा एक पटक मात्रै विशेष लाग्छ मलाई यो पर्व । हरेक वर्ष मनाउने गरेको छु । तर, आफैं जन्मिएको वर्गमा भने धुमधाम रुपमा नै पर्व मनाउन मन लाग्छ । अन्यथा यो एउटा सामाजिक पर्वको रुपमा मात्रै मनाइन्छ ।

हिमालयको फेदीमा खेतीबाली सम्बन्धी पर्व ल्होसार

विशेषगरी अन्नपूर्ण हिमाल र धौलागिरी हिमालको फेदीका गुरुङहरू पौष १५ लाई नयाँ वर्षको आरम्भको रूपमा परापूर्वकालदेखि तोला ल्होसार मान्दै आएका छन् । यसको सुरुवातको बारेमा यकीन जानकारी प्राप्त छैन । केही दशकअघिसम्म त गुरुङ समुदायको लिखित इतिहास पनि भेटिएको थिएन । अहिले मात्रै यसको लिखित इतिहास सुरु भएपछि उनीहरुले ल्होसारलाई पनि २६०३ वर्षदेखि मान्दै आएको भनेर दाबी गर्ने गर्छन् ।

तर, मानवशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. ओम गुरुङ यो २६०३ वर्ष पुरानो मात्रै नभएको बताउँछन् । बोन धर्म मान्नेहरुले परापूर्व कालदेखि नै मान्दै आएकोे यो पर्व बौद्ध संस्कृतिको प्रभावले केही बदलियो । सोही आधारमा २६०३ वर्ष भनिएको भएपनि यसको इतिहास निकै लामो भएको उनी बताउँछन् । अहिले तिब्बतमा मनाइने ल्होसार र नेपालमा मनाइने ल्होसारकोबीचमा ठूलै भिन्नता छ । वातावरण, हावापानी र संस्कृतिले पनि त्यहाँको र यहाँको ल्होसारमा फरकपना ल्याएको हुनसक्ने उनको बुझाई छ ।

भिन्न जातिको भिन्न ल्होसार किन ?

उनका अनुसार तिब्बतबाट नेपाल छिरेका तामाङ, गुरुङ र शेर्पाहरु समयको हिसाबले विभिन्न ठाउँमा आएर बसोबास गर्न सुरु गरे । विशेषगरी अन्नपूर्ण हिमाल र धौलागिरी हिमालको फेदीमा पहिले आएका गुरुङहरुको बसोबास सुरु भयो । तामाङ र शेर्पाहरुको तुलनामा उनीहरु अलिक कम चिसो ठाउँमा बसोबास गर्न थाले । उनीहरुको खेतीपनि छिट्टै नै पाक्ने गर्दथ्यो । यो समयमा अन्न बालीहरु भित्र्याएर किसानहरु परिवार र आफन्तसँग बसेर रमाइलो गर्दै यो पर्व मनाउन सुरु गरे । १५ पुषसम्ममा सबै कामहरु सकिने गर्दथ्यो । त्यसपछि रमाइलोतिर लाग्न सुरु गर्थे उनीहरु ।

त्यस्तै, काठमाडौं उपत्यकाको सेराफेरोका आएर बसेका  तामाङहरूले पूर्ण रुपमा जाडो सकिएपछि यो पर्व मनाउने सुरु गरे । तामाङहरु विशेषगरी अहिलेको तीन नं प्रदेशको आसपासमा धेरै बसोबास गर्छन् । यो हिमालदेखि महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको छ । त्यसको लागि उनीहरुले माघ शुक्ल प्रतिपदालाई नयाँ वर्षको आरम्भको रूपमा मान्न थाले । त्यसैलाई सोनाम ल्होसार भनेर चिन्न थालियो ।

त्यस्तै, सगरमाथा लगायत विभिन्न हिमालको फेदीमा रहेका शेर्पाहरुले फाल्गुण शुक्ल प्रतिपदाको दिनलाई नै नयाँ वर्षको रुपमा मान्न थालियो । हिमाली भेगमा धेरै चिसो हुने र माघको अन्तिमसम्म पनि हिउँ नै परिरहने भएकोले पनि उनीहरुले फाल्गुन १५ मा ल्होसार मान्न थाले । शेर्पाले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार मान्न थालियो । यसरी पौष, माघ र फाल्गुण यी तीनै महिनालाई ल्होसारको महिनाको रूपमा लिइएको छ । यसमा यो नै विधि भनेर अरु पर्वको जस्तो छैन । यो केवल रमाइलोको लागि गरिने विभिन्न कार्यक्रमहरु र धेरै समयसम्म भेट नभएकाहरुबीच भेटघाट गर्ने बाहाना आदि पनि यो पर्वको विशेषता हो । त्यसैले यसमा कुनै विधि र परम्पराको घेरा छैन । यो जसरी हुन्छ रमाइलो गर्ने पर्व हो ।

कसरी सुरु भयो ल्होसारको परम्परा ?

ल्होसार मान्ने सबै जातिहरु प्रकृति पूजक जातिहरु हुन् । तर, उनीहरुले बसोबासको रुपमा भिन्न भिन्न दिनहरुमा नयाँ वर्ष मनाउन थाले । यसलाई एउटै छातामा ल्याएर एकैदिन नयाँ वर्ष मान्ने भनेर पनि समय समयमा चर्चा चल्ने गरेको थियो । तर, यसमा तीनवटै समुदाय एक नभएपछि अहिलेसम्म  त्यो सम्भव नभएको जानकारहरु बताउँछन् ।

समय यकीन नभएपनि परापूर्व कालमा तिब्बतबाट झरेका तामाङ, शेर्पा र गुरुङहरुले बौद्ध संस्कृतिको प्रभावमा परी सोही अनुसारको व्यवहार गर्न थालेको गुरुङको मत छ । तमू जातिको प्राचीन धर्म संस्कार प्राकृतिक बोन संस्कार नै हो । प्रकृतिपूजक जातिको रुपमा रहेका उनीहरु नेपालमा आएपछि गुरुङहरु नेपालको मध्यभागमा आएर बसे भने तामाङहरु मुलुकको माथिल्लो भागमा बसोबास गर्न थाले । शेर्पाहरु सबैभन्दा माथि बसे ।

प्राकृतिक बोन संस्कार अन्तर्गत धामी,  पैँडी, पच्यु, ध्याव्रे, बोन लामाहरू सम्बन्धी विषय महत्वपूर्ण हुन्छन् । यसैले समाजमा जन्मदेखि मृत्यु सम्मका संस्कार सम्पन्न गर्दा कुल, कुलायन बुझाउँदा, देवी, देउरालीहरूको पूजाआजा गर्दा र बिरामी पर्दा भूत-प्रेत-पिचाश लगायतका लागुभागु मन्छाउने कार्य गरिन्छ । यही संस्कारहरुको बीचमा मनाइने गरेको ल्होसार पनि प्राकृतिक हिसाबले समेत महत्वपूर्ण मानिन्छ ।

राष्ट्रपतिलाई बोलाउँदा झनै किन घट्यो उल्लास ?

यो वर्ष ल्होसारको अवसरमा टुडिँखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाइएको थियो । नाचगान र भातृत्वको यो पर्वमा राष्ट्रपतिलाई बोलाउँदा यसको गौरव बढ्ने भनेपनि बढी सुरक्षा संवेदनशीलता र औपचारिकताले गर्दा यो वर्ष अघिल्ला वर्षहरु जस्तो रौनक नभएको गुरुङ बताउँछन् । उनी यो पर्व खुल्ला मनले सबैसँग मिलेर मनाउने भातृत्वको पर्व भएपनि विशिष्ट व्यक्तिहरुको स्वागतको लागि गरिएको औपचारिकताले यसको रौनक कम भएको उनी बताउँछन् । ‘पहिले त प्रधानमन्त्री आउनुहुन्थ्यो, आफ्ना दुःख पिरहरुको बारेमा कुरा हुन्थे । तर, अहिले यो केही पनि भएन । म त त्यसै फर्किएँ ।’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment