Comments Add Comment
प्रेस स्वतन्त्रतालाई हेर्ने सरकारी नजर :

बालुवाटारमा पत्रकारको वर्गीकरण : ‘फौजी’ भर्सेस ‘बुर्जुवा’

१५ पुस, काठमाडौं । संविधानले पत्रकारलाई सत्तारुढ दलका फौज, बटालियन वा योद्धा मान्दैन । संविधानले पत्रकारलाई ‘बुर्जुवा’ वा ‘प्रतिक्रियावादी’ तत्व पनि मानेको छैन ।

पत्रकारहरुले सरकारको आलोचना गर्नै नपाइने वा सरकारको गुणगान गाउनैपर्ने पनि संविधानमा लेखिएको छैन । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेकपाका अगुवा पत्रकारहरुको भेला आयोजना गरिएको थियो । उनीहरुलाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिए ।

अध्यक्ष प्रचण्डले प्रेस संगठनका केन्द्रीय नेताहरुलाई सपथ खुवाए । उपस्थित पत्रकारलाई नेताहरुले सरकार र पार्टीको रक्षाकवच, योद्धा एवं फौजी भूमिका निर्वाह गर्न ‘ख’ गराए ।

अध्यक्ष प्रचण्डले सूचना प्रविधिमा बुर्जुवाहरुको प्रभाव रहेको आरोप लगाउँदै भने, ‘दुर्भाग्यवस अहिले इन्फरमेसन टेक्नोलोजी बुर्जुवाहरुकै हातमा छ । तपाईहरुले बुर्जुवालाई जित्नुपर्ने छ । यो लडाइँ हामीले जित्नुपर्ने छ । तपाईहरुको यो फौज, यसलाई मैले एउटा ठूलो बटालियनका रुपमा मान्छु ।’

प्रचण्डले समाचारको शैलीबारे समेत चर्चा गर्दै, ‘बुर्जुवाहरुको कन्टेन्ट गएगुज्रेको हुन्छ, तर, उनीहरुले त्यसको प्रेजेन्टेसन र रुपचाहिँ सम्हारेर हेरिराख्नुजस्तो बनाउँछन् ।….’
प्रधानमन्त्री ओलीले पनि प्रचण्डलेजस्तै पार्टीनिकट पत्रकारलाई प्रतिक्रियावादी विरुद्ध लड्न आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘हामी सानो लडाइँ लडिरहेका छैनौं । नेपाली जनताको विजयलाई फेरि पनि विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोग गरेर हमला गर्न खोज्छन् । प्रतिक्रियावादी शक्तिहरु यसमा बहुतै मेहनतका साथ लागेका छन् । तपाईहरु आ–आफ्नो ठाउँका योद्धाहरु हो, तपाईहरुले लड्नुपर्छ ।’

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डले मिडियासम्बन्धी के कस्ता अभिव्यक्ति दिए ? त्यसबारे चर्चा गर्नुभन्दा पहिले ऊर्जामन्त्री वर्षमान पुनको ‘फेसबुक गुनासो’बारे चर्चा गरौं–

बालुवाटारमा पार्टीनिकट पत्रकारहरुले सपथ खाइरहँदा पत्रकारका नेता महेश्वर दाहाल पनि थिए । अघिल्लो दिन शुक्रबार उर्जामन्त्री वर्षमान पुनले आफ्नो फेसबुक पेजमा एउटा अनलाइनले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने नियोजित उद्देश्यले समाचार लेखेको गुनासो सार्वजनिक गरेका थिए ।

हामीले मन्त्री पुननिकट स्रोतलाई सोध्यौं, कुन अनलाइनले मन्त्रीज्यूको चरित्र हत्या गरेछ ? जवाफ आयो, कामरेड महेश्वर दाहालको अनलाइनले ।

नेकपानिकट अधिकांश पत्रकारहरु मन्त्री र नेताहरुका प्रेस संयोजक, प्रेस सल्लाहकार आदिमा नियुक्त भएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मै यस्तो अवस्था छ । त्यसरी सरकारी संयन्त्रमा बसेका पार्टी निकटका पत्रकारहरुले कुनै मूलधारको मिडियासँग सम्बन्ध राख्नुभन्दा पनि सरकारी समाचारहरु लेख्ने गरी आ–आफ्नै अनलाइनहरु चलाउने गरेका छन् । र, उनीहरु त्यसैमा आफ्नो गुटको पक्षमा र अर्को गुटको विरुद्धमा समाचार लेख्छन् । वर्षमान पुन यसैको पछिल्लो शिकार बनेका पात्र हुन् ।

अधिकांश नेकपाका नेताले मूलधारका मिडियालाई बुर्जुवा, नेकपाविरोधी, इत्यादि भनेर गाली गर्छन् अनि तिनै आ–आफ्ना गुटका मिडियालाई संरक्षण गर्दै उनीहरुलाई ‘योद्धा’ का रुपमा चित्रण गर्छन् । संविधानले चिनेको प्रेसलाई सरकार र नेकपा नेताहरुले चिन्न छाडेका छन् । शनिबार बालुवाटारमा सञ्चार जगतबारे नेकपा नेताहरुको अभिव्यक्ति त्यसैको पछिल्लो उदाहरण मात्र हो ।

अब ‘बुर्जुवा’ र ‘फौजी’ पत्रकारहरुबारे अध्यक्ष प्रचण्डका कुरा सुनौं –

मैले कहिलेकाहीँ भन्ने गर्छु, हामी हिजो युद्धमा थियौं । एउटा राम्रो योजना बनाएर एउटा ठूलो फौजी कारवाही गर्‍यो भने संसारभरिका पत्रपत्रिका, रेडियो, टीभी, एक दिनलाई चाहिँ पूरै युद्धको वरिपरि घुमिराखेका हुन्थे । मलाई सम्झना छ, दाङको लमही कारवाही भइसकेपछि या आछामको ठूलो फौजी कारवाही भएपछि संसारभरिका, बीबीसीदेखि, सीएनएनदेखि, न्युयोर्क टाइम्सदेखि, वासिंटन टाइम्सदेखि इण्डियाका सबै पत्रिकाहरुको हेडलाइनचाहिँ त्यसैको वरिपरि घुम्थे । अहिले त्यो परिस्थिति छैन ।

अहिले तपाईले एउटा राम्रो आर्टिकल तयार पार्नुभयो, ब्रेन स्ट्रोमिङ हुनेखालको समाचार तपाईहरुले सम्प्रेषण गर्नुभयो भने त्यसको वरिपरि सप्पै झुम्मिन थालेका छन् । अहिले यही मोर्चा अग्रमोर्चा भएको छ । त्यसकारण तपाईहरुले ध्यान दिनुपर्ने कुरा छ । किनभने, आफू अग्रमोर्चाको लडाइँमा भएको हुनाले लडाइँ जित्नका लागि हामीले यो मोर्चाको तयारी कति राम्रोसँग गर्छौं, कति राम्रो आर्टिकल तयार गर्छौं, कति राम्रो टीभी प्रोगाम हामीले बनाउँछौं, सूचनालाई हामीले कुनरुपमा प्रस्तुत गर्छौं ।

प्रतिक्रियावादी बुर्जुवा र हामी कम्युनिष्टहरुको एउटा आधारभूत भिन्नता के हो त भन्दा हाम्रो कन्टेन्ट र हामीले प्रस्तुत गर्ने हाम्रो सार र रुपमा एकरुपता हामी कम्युनिष्टहरुको, प्रगतिशीलहरुको, वैत्रानिकहरुको विशेषता हो । बुर्जुवाहरुको चाहिँ कन्टेन्टचाहिँ गएगुज्रेको हुन्छ, उनीहरुले प्रजेन्टेसन, त्यसको फर्म, त्यसको रुपचाहिँ सम्हारेर हेरिराख्नुजस्तो बनाउँछन् । र, त्यतातिर लोभ्याएर मान्छेलाई ठग्ने बुर्जुवाहरुको कल्चर हो । उनीहरुको दृष्टिकोण हो ।

हामी हाम्रो कन्टेन्ट र हाम्रो रुपको वीचमा तालमेल मिलाउनु र जनतालाई भ्रममुक्त बनाउन मेहनत गर्नु हामी कम्युनिष्टहरुको, हामी वैज्ञानिकहरुको विशेषता हो ।
यी दुईवटा विशेषतालाई विचार गरेर तपाईहरुले सार र रुप दुबैमा सुन्दर बनाएर आफ्ना विषयहरु जनतामा प्रस्तुत गर्ने र यो डिबेट…।

प्रधानमन्त्रीजीले आज त भन्नुभएन, अरुबेला प्रायः भन्ने गर्नुहुन्थ्यो, हेर्न पनि नसकिने, सुन्न पनि नसकिने, पढ्न पनि नसकिने समाचारहरु आउन थाल्याछन् ।

यो सोसियल मिडियामा त झन् उहाँले भन्नुमात्रै भाथ्यो, मैले अर्को दिन एउटा समाचार सुन्नै नसकेर ठ्याक्कै बन्द गरेर हिँड्नैपर्‍यो क्या ! सुन्नै नसक्ने शब्दमा गाली गरेको टीभीमा आइराख्या छ । के गरी सुन्ने ? लेखेको हेर्नै सकिँदैन । बडो आफैंलाई इरिटेसन भन्दा पनि हीनताबोधी, के हुन थाल्यो भन्याजस्तो । यतिधेरै नकारात्मक, यतिधेरै गाली गलौज । यतिधेरै ध्वांशात्मक विचारका मान्छेहरु छन् भन्याजस्तो छ अहिले ।

दुर्भाग्यवश इन्फरमेसन टेक्नोलोजी बुर्जुवाहरुकै हातमा छ अहिले पनि । र, उनीहरुले त्यसलाई बडो नराम्रोसँग दुरुपयोग गरिराख्या छन् । र, हामीले विस्तारै विस्तारै त्यो टेक्नोलोजीलाई जनताको हितमा, वर्गको, राष्ट्रको हितमा प्रयोग गर्ने जमर्को गरिराख्या छौं । त्यसकारण तपाईहरुले यसमा मेहनत गरेर यसमा तपाईहरु अलि बढी सिपालु बन्नुपर्छ भन्ने मलाई लाग्छ । तपाईहरुले यसका टेक्निकल आस्पेक्टहरु, प्रजेन्टेसनका विविध फर्महरु पत्ता लगाउने र बुर्जुवालाई जित्नुपर्ने छ । यो क्षेत्रमा हामीले जित्नुपर्ने छ । यो लडाइँ हामीले जित्नुपर्नेछ ।

हामीले जित्नका लागि तपाईहरुको यो फौज, यसलाई मैले एउटा ठूलो बटालियनका रुपमा मान्छु म । अहिले हामी लडाइँमा छौं, तपाईहरुको यो फौज कति सक्षम हुन्छ, तपाईहरुले लिएका हतियारहरु कति धारिला हुन्छन्, कति तीखो हुन्छन्, विरोधीको हतियारलाई काउन्टर गर्नका लागि तपाइहरुका ती साधन स्रोतहरु कति व्यवस्थित हुन्छन् भन्ने कुराले नै लडाइँमा जित हारको फैसला हुने गर्दछ ।

हरेक क्रान्तिपछि ठुल्ठुला दार्शनिकहरुले र इतिहासका अनुभवहरुले के भन्या छ भने प्रतिक्रान्तिकारीहरु चुप लागेर बस्दैनन् । प्रतिक्रान्तिकारी तागतहरु पहिलेको भन्दा दश गुणा बढी तागतसहित क्रान्तिका शक्तिका विरुद्ध, परिवर्तनकारी शक्तिका विरुद्ध उनीहरु जाइलाग्छन् ।

उनीहरुलाई त्यो केही न केही सुविधा पनि हुन्छ । पहिला क्रान्ति किन सफल हुन्छ रे भन्दा प्रतिक्रियावादीले के ठान्दैनन् भने यी दुःख पाएका गरीव गुरुवा श्रमजीवीहरु, धन नभएका, बुद्धि पनि नभएकाहरुले मिलेर लडेर हाम्रो राज्य उल्ट्याउलान्, हामीलाई गद्दीबाट गलहत्याउलान् भन्ने उनीहरुले पत्याउँदै पत्याउँदैनन् । उनीहरुको इतिहासले र वर्गचरित्रले त्यो पत्याउन दिँदैन । जनताले जित्छन् भन्ने कुरा उनीहरुले सोचेकै हुँदैनन् । तर, एक दिन यस्तो आइदिन्छ कि जनताको तागत भारी पर्छ र उनीहरु गलहत्याइन्छन् ।

त्यसको भोलिपल्टदेखि उनीहरुले हिसाब गर्न थाल्छन् कि के कारणले हामीलाई यी सर्बहारा टाइपका, केही नभएका गरीब गुरुबाहरुले इतिहासदेखिको हाम्रो बैभवलाई उल्ट्याए ? उनीहरुले हिसाब गर्न थाल्छन्, उनीहरुसँग पैसाको तागत हुन्छ । उनीहरुसँग अनुभवको तागत हुन्छ । उनीहरुसँग शासन सत्ता कसरी चलाउनुपर्छ भन्ने अरु पनि थुप्रै अनुभवहरु हुन्छन् र तिनलाई प्रयोग गरेर फेरि प्रतिक्रान्ति गर्ने तानाबाना उनीहरुले बुन्छन् । दुनियाँभरि यसै भएको छ । र, नेपाल त्यसको अपवाद छैन ।

अहिलेको गुणात्मक राजनीतिक परिवर्तनलाई उल्ट्याउन गुणात्मक ढंगले नै प्रतिक्रियावादीहरु पनि लाग्छन् । यो कुरालाई ध्यान दिन जरुरी छ । उनीहरु अब मात्रात्मक ढंगले मात्र लाग्दैनन् ।

तपाईहरुले सुन्नुभएको होला, विभिन्नखालका चर्चा परिचर्चा भित्रभित्रै प्रतिक्रियावादीले गर्छन् र मंसिरमा प्रतिक्रान्ति हुन्छ रे भन्ने हल्ला गर्छन् । आजभोलि कोहीले भन्छन्, ल माघमा चाहिँ विचित्रै हुने भइसक्यो । तयारी भैसक्यो पनि भन्छन् । अनौठो–अनौठो लाग्छ हामीलाई चाहिँ ।

आज बिहान मलाई एकजनाले सुनाए, त्यो माघचाहिँ सरेर चैत पुग्यो रे । यस्तै–यस्तै र्‍युमर फैलाएर कहीँ न कहीँ ठुल्ठुला प्रतिक्रान्तिका तानाबाना बुन्ने काम भइराख्या छन्, हामीले त्यसलाई चिर्नु छ ।

हामी एकतावद्ध हुँदा र हामीले एकतावद्ध ढंगले आफ्नो तागतलाई प्रयोग गर्दा त्यो असम्भव छ । अब यो क्रान्ति उल्टिँदैन । बरु यो क्रान्ति झन्–झन् माथि जान्छ । झन्–झन् अगाडि बढ्छ । त्यसकारण हामीले यसमा जस्तो संविधान बनाएका छौं र हामीले भनेका छौं, हाम्रो संविधान गतिशील छ ।

गतिशील दस्ताबेजका रुपमा जनताको आवश्यकता अनुसार, राष्ट्रको आवश्यकता अनुसार यसलाई परिमार्जन गर्दै लान सकिन्छ भनेर हामीले भनेका छौं । देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौम सत्ताबाहेक सबै राजनीतिक चिजहरु परिवर्तनशील छन् भनेर संविधानमा नै घोषणा गरिएको छ, त्यसकारण यस अनुसार जनमत निर्माण गर्ने कुरामा तपाईहरु एकतावद्ध हुनुपर्छ ।

प्रचण्डका कुरा सुनिसकेपछि अब प्रधानमन्त्री केपी ओलीका कुरा सुनौं–

हामीले असाधारण उपलब्धीहरु हासिल गरेका छौं, इतिहासमा कहिल्यै भन्दा बढी । राजनीतिक हिसाबले, सुशासनको हिसाबले । शान्ति सुव्यवस्थाको हिसाबले । आर्थिक योजना र उन्नतिको हिसाबले । उपलब्धीका हिसाबले ।

अथवा सामाजिक सुप्रवन्ध, सामाजिक न्याय तर्फका हाम्रा प्रयासको हिसाबले । सांस्कृतिक जागरण र उत्थानका हिसाबले । असाधारण प्रयासहरु गरिएको छ । पछाडि परेको समुदाय अगाडि बढाउनका लागि असाधारण प्रयासहरु गरिएको छ ।

यी सप्पै प्रयासहरुको चर्चा नगर्ने, तिनलाई ओझेलमा पार्ने र विभिन्न ढंगले भ्रम पैदा गर्ने प्रयासहरु भइरहेका छन् । यस्ता कुराहरुसँग हामी सजग हुनुपर्छ । र, तपाईहरु सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

यो बहुमत, यो स्थिरता, यो स्थायित्व र यो अग्रगमनलाई कायम रहन नदिन, यसलाई ध्वस्त पार्न, बदनाम गर्न, यसप्रति भ्रम फिँजाउन, जनतामा नकारात्मक भाव जगाउन अनेक प्रयास देश–विदेशबाट भएका छन् । प्रतिक्रियावादी शक्तिहरु यसमा बहुतै मेहनतका साथ लागेका छन् । र, यसका निम्ति गोयबल्स पाराले भनेको भन्यै, भनेको भन्यै गर्ने, जेमा पनि विरोध, जेमा पनि विरोध । यसप्रकारको एउटा लहर चल्या छ । त्यसलाई हामीले रोक्नुपर्ने छ ।

हामी सानो लडाइँ लडिरहेका छैनौं । हामी एउटा महान लडाइँ लडिरहेका छौं । शताब्दियौंदेखि चलेको लडाइँ । र, अहिले नेपाली जनता यस लडाइँमा विजयी भएको छ ।

यस विजयलाई फेरि पनि जनतालाई वर्गल्याउने, साधन स्रोत सम्पन्नहरुले साधन स्रोतको प्रयोग गरेर र खास गरी विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गरेर, त्यसमा लगानी गरेर, त्यसमा खटाएर, उनीहरुले त्यसमार्फत हमला गर्न खोज्छन् । र, सारा उपलब्धीहरुलाई ओझेल पार्ने, नभएका कुराहरुलाई उछाल्ने, सबै जनताले अन्तरवस्तु बुझ्न पाएको हुँदैन, त्यसकारण भ्रम फिँजाएपछि त्यो भ्रमको असर परिराख्या हुन्छ । त्यसकारण उनीहरुले भ्रम फिँजाउँछन् । यस्तोमा हामी सजग हुन जरुरी छ ।

त्यसकारण तपाईहरुबाट राष्ट्रले ठूलो अपेक्षा गरेको छ । तपाईहरु आ–आफ्नो ठाउँका योद्धाहरु हो । तपाईहरुले देशका लागि लड्नुपर्छ । देशका लागि लड्ने भनेको सामाजिक सदभावका साथ राष्ट्रिय एकताका लागि लड्नुपर्छ । एकतावद्ध प्रयासबाट देश बनाउनका लागि लड्नुपर्छ ।

एकताविरोधी विचार, क्रियाकलापका विरुद्ध लड्नुपर्छ । अनेकता, फाटोका विरुद्ध लड्नुपर्छ । अनुशासनहीनता, अराजकताका विरुद्ध लड्नुपर्छ । बेठीक भ्रम फैलाउनेहरुका विरुद्ध लड्नुपर्छ र सही कुरा स्थापित गर्न तपाईहरुले लड्नुपर्छ । तपाईहरुका विचारहरु, तपाईहरुका कलमहरु, तपाईहरुका कम्प्युटरहरु त्यसरी चल्नुपर्छ ।

तपाईहरु देशप्रति अत्यन्त जिम्मेवार हुनोस् र सकारात्मक सोचका साथ एकतावद्ध भएर पार्टीका नीतिहरु अनुसार सञ्चार क्षेत्रमा प्रतिक्रियावादीहरुका दुश्चक्रहरुलाई पार गर्नोस् । हमलाहरुलाई चिर्नोस् । र, कमसेकम स्वच्छ, निश्पक्ष, सत्यको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, शान्तिको पक्षमा, स्थिरता र स्थायित्वको पक्षमा काम गर्नोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment