Comments Add Comment

ए डिभिजन लिगमा आर्मीसँग थ्रीस्टार पराजित

प्रतिबन्ध फुकुवापछि सन्तोषको उत्कृष्ट पुनरागमन

१६ पुस, काठमाडौं । नवयुग श्रेष्ठको एक्रोब्याटिक गोल अनि प्रतिवन्धबाट फर्केपछि सन्तोष तामाङको गोलमा त्रिभुवन आर्मीले शहीद स्मारक लिगमा थ्री स्टारलाई पारजित गरेको छ ।

बुधबार भएको खेलमा विभागीय टोली आर्मीले थ्री स्टारलाई २-० ले पराजित गरेको छ । यस सिजन ललितपुरे क्लब थ्री स्टारको यो पहिलो हारसमेत हो । शुरुवाती तीन खेलमा कुनै गोल नखाएको थ्री स्टारले बुधबार २ गोल खान पुग्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा आर्मीले चार अवसर गुमायो । कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीले दुई दुई अवसर गुमाउँदा आर्मीले पहिलो हाफमा अग्रतालिन सकेन । थ्री स्टारका लागि पहिलो हाफमा रुपेश केसीको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

५१ औं मिनेटमा नवयुग श्रेष्ठ वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । तर ३ मिनेटपछि भने नवयुग चुकेनन् ।

५४ औं मिनेटमा नवयुगले कप्तान भरत खवासको पासमा एक्रोब्याटिक स्टाइलमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा आर्मीले दोस्रो गोल गर्‍यो । एन्फाको प्रतिवन्धका कारण लिगको शुरुवाती तीन खेल गुमाएका सन्तोष तामाङले पुनरागमन गर्दै गोल गरे ।

थ्री स्टारका अशोक खवासले जर्ज प्रिन्स कार्कीलाई लडाएपछि आर्मीले फ्रिकिक पाको थियो । सन्तोषले त्यही फ्रिकिकको सदुपयोग गर्दै गोल गरे ।

कुवेतविरुद्धको खेलका लागि कात्तिक ३० गते भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएर अनुशासन तोडेपछि एन्फाले सन्तोष तामाङसहित चार खेलाडीलाई एन्फाले कारवाही गरेको थियो । सन्तोष र अन्जन विष्टलाई एन्फाको अनुशासन समितीले नोभेम्बर १६ देखि लागु हुनेगरी ४५ दिनको प्रतिवन्ध लगाएको थियो । प्रतिवन्ध फुकुवा भए लगत्तै खेलेको पहिलो खेलमा सन्तोषले गोल गरेका हुन् ।

बुधबारको खेलको म्यान अफ दि म्याच पनि सन्तोष नै भए ।

९० औं मिनेटमा थ्री स्टारले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । आर्मीका विकास तामाङले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । तर रुपेश केसीले गोल गर्न सकेनन् । उनको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।

यस सिजनमा तेस्रो जितपछि आर्मी ४ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित मनाङ मर्स्याङदी शीर्ष स्थानमा छ भने ९ अंक जोडेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । समान खेलबाट ७ अंकसहित थ्री स्टार पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment