Comments Add Comment

मुख्यमन्त्रीको आग्रह : खप्तड र अपी सैपालमा होटल खोल्नुस्

१६ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ । व्यवसाय सञ्चालनमा रहेका समस्याहरु नीतिगत रुपमा समाधान गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भने, ‘अब खप्तडमा होटल बन्नुपर्छ, अपी सैपालमा बन्नुपर्छ । त्यहाँ लगानी लगाउँदा केही समस्या आएमा सरकारले गर्नुपर्ने सहयोगका लागि हामी तयार छौं ।’

जग्गा, सुरक्षा लगायतका सुविधा उपलब्ध गराउन प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।

मुख्यमन्त्री भट्टले पर्यटकीय प्रहरी गठन गर्ने विषयमा पनि छलफल भइरहेको बताए । ‘अहिलेसम्म पर्यटनसम्बन्धी प्रहरी छैन हाम्रो प्रदेशमा,’ उनले भने, ‘अब हिजोको जस्तो होइन, हामी केही नयाँ गर्ने विषयमा सोचिरहेका छौं ।’

प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई बढीभन्दा बढी ल्याउने योजना रहेका उनले सुनाए । ‘युरोपका मान्छेहरुलाई ठूला महल चाहिँदैन’ उनले भने, ‘पर्यटकहरू हाम्रो भूगोल, संस्कृति हेर्न चाहन्छन्, यसलाई हामीले प्रचार गर्न जरुरी छ ।’

धार्मिक पर्यटनलाई प्राथमिकता दिएमा प्रदेशमा भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उनले बताए । ‘हामीसँग धेरै धाम छन् । तिनको प्रचार गरे भारतबाट ठुलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सक्छौं,’ उनले भने ।

धनगढी विमानस्थलको स्तरोन्नती गर्न र प्रदेशका पहाडी जिल्लामा बन्द अवस्थामा रहेका विमानस्थलहरू सुचारु गर्न पनि प्रदेश सरकार लागिपरेको उनले बताए । खुटिया फास्ट ट्याक, महाकाली कोरिडोर र सेती लोकमार्गको निर्माणमा पनि सङ्घीय सरकारलाई ताकेता गरिरहेको मुख्यमन्त्री भट्टले बताए ।

प्रदेशका सबै पर्यटकीय क्षेत्रसँग सडक सञ्जाल पुर्‍याउन पनि सरकारले काम गरिरहेको उनले बताए । विकासको लागि एक हुन आवश्यक रहेको भन्दै मुख्यमन्त्री भट्टले भने, ‘यहाँ, ऊर्जा जडीबुटी र खनिजको ठुलो सम्भावना छ । त्यसलाई व्यवस्थित रूपमा अगाडि बढाउन सकिरहेका छैनौँ ।’

नेपाल भारत सीमा नाकामा आउने पर्यटकहरूको तथ्याङ्क राख्न पनि थालिने उनले बताए ।

प्रदेशसभा सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटक भित्राउनुपर्ने बताए । ‘२० लाख पर्यटक पुर्‍याउने सङ्घीय सरकारले उद्देश्य छ । हामीले पनि कति पर्यटक भित्र्याउने भन्ने विषयमा गम्भीर बन्न आवश्यक छ’ उनले भने, ‘कम्तीमा ३ लाख पर्यटक पुर्‍यायौं भने यो प्रदेशलाई विश्वले चिन्नेछ ।’

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले २०२० मा पर्याप्त पर्यटक भित्र्याउने तयारी रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा रहेको पर्यटकीय क्षेत्रहरूको पहिचान र प्रवर्धन गरिरहेको भन्दै उनले भनिन्, ‘हामीसँग भएका सबै क्षेत्रको प्रचार प्रसार गरिरहेका छौं, पर्यटकहरूको सहजताको लागि समेत वातावरण सिर्जना गरेका छौं ।’ यद्यपि पर्यटक क्षेत्रको प्रचारप्रसार अझै पर्याप्त नभएको उनले बताइन् ।

भ्रमण वर्षको उद्घाटन अघि धनगढीको ट्राफिक चौराहाबाट झाँकीसहित सुरु भएको र्‍याली सङ्घीय प्रहरी कार्यालयमा पुगेको समारोहमा परिणत भएको थियो । नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रमका बीचमा मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्षको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment