+
+
Shares

सामान्य प्रशासन मन्त्रालयका खरिदारविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १८:४७

१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८३ हजार रुपैयाँ घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका खरिदार त्रिलोचना पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्धा दायर गरेको छ ।

पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा व्यहोराको आधारमा सेवाग्राहीबाट उक्त रकम घुस लिएको देखिन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कृषि सामग्री कम्पनीका स्टोरकिपरविरुद्ध भ्रष्टचारको मुद्धा

अख्तियारले विभिन्न जातका धानको बिउ लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको आरोपमा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका स्टोरकिपर रामबाबु महतोविरुद्ध पनि मुद्धा दायर गरेको छ ।

६८ हजार रुपैयाँ घुस लिएर स्टोरमा रहेको धानको बिउ लिलाम प्रक्रिया सम्पन्न हुनु अगावै प्रक्रियामा सहभागी नभएका व्यक्ति सिया किशोर साहलाई दिएर सार्वजनिक संस्थालाई हानीनोक्सानी पुर्‍याएकाले उनीविरुद्ध मुद्धा दायर गरिएको कोइरालाले बताए ।

घुस लिएको ६८ हजार रुपैयाँ जफत हुने र बिक्री नभएको धानको बिउको मूल्य करिब ८ लाख ३६ हजार ६ सय ८० रुपैयाँ बराबर बिगोदाबीसहित भ्रष्टचारको मुद्धा दायर गरिएको उनले बताए ।

श्री राम राइस मिलका सञ्चालक समेत रहेका साहले महतोलाई घुस दिएर सो मूल्य बराबरको धानको बिउ लिएर व्यक्तिगत लाभ लिएर सार्वजनिक संस्थालाई नोक्सानी पुर्‍याएकाले उनीविरुद्ध पनि मुद्धा दायर गरिएको कोइरालाले बताए ।

महेन्द्रनगर नगर विकास समितिका अध्यक्षविरुद्ध पनि मुद्धा

यस्तै महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यक्ष पदमा बहाल भई लाभ र सुविधा लिएको आरोपमा विष्टविरुद्ध मुद्धा दायर गरिएको कोइरालाले बताए ।

विष्टले भारतको गुरुकुल विश्वविद्यालय, बृन्दावन मथुरा उत्तरप्रदेशबाट माध्यमिक शिक्षा कक्षा १० उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?