
१७ पुस, बुटवल । समाजवादी मगर संघ नेपालले विद्यमान प्रदेशहरुको सीमाङ्कन संशोधन गर्न माग गरेको छ ।
जनजातिहरुको सघन वस्तीलाई विभाजन गर्ने गरी भएको सीमाङ्कन अन्यायपूर्ण र अवैज्ञानिक भएको समाजवादी मगर संघको ठहर छ ।
समाजवादी पार्टी निकट संघले अन्तरिम संविधान २०६३ तथा आदिवासी जनजाति र मधेश आन्दोलनको भावना तथा राज्य पुनःसंरचना आयोगको सिफारिस अनुसार पहिचानका पाँच र सामर्थ्यका चार आधारमा प्रदेशहरुको सीमाङ्कन हुनुपर्ने माग गरेको हो ।
मगरहरुको सघन वस्ती भएका १६ जिल्लालाई समेटेर स्वायत्त मगरात प्रदेश बनाइनुपर्ने तथा प्रदेश ५ को नामाकरण मगरात–थरुहट बनाउनुपर्ने समाजवादी मगर संघका केन्द्रीय अध्यक्ष बोम दर्लामीले बताए ।
संघको यही पुस १९ गते तानसेनमा हुने प्रादेशिक भेलापछि संविधान संशोधन गरी पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरुको नयाँ सीमाङ्कन गर्न माग गर्दै सरकार र सरोकारवालासँग डेलिगेसन जाने, विचार मिल्ने राजनीतिक दल र व्यक्तित्वसँग अन्तर संवाद गर्ने लगायतका कार्यक्रम दबावमूलक ढंगले अघि बढाइने दर्लामीले बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रदेश सहइन्चार्ज नवीन सुनुवारले तत्कालीन राज्य पुनःसंरचना आयोगको सुझाव अनुसार पहिचान र सामर्थ्यका आधारमा ११ प्रदेश बनाउनुपर्ने र स्थानीय तह तथा प्रदेशसभा सदस्यको संख्या आधा कटौती गर्नुपर्ने पार्टीको अवधारणा रहेको बताए ।
प्रतिक्रिया 4