Comments Add Comment

यस्तो छ यती समूहसँग सरकारको साइनो, अढाइ दशकको अवधिमा के-के भयो ?

१८ पुस, काठमाडौं । यती कम्पनीप्रति बढी नै सदाशयता देखाउँदा सरकार यतिबेला विवादमा फसेको छ । तर यती र सरकारसँगको साइनो दुई दशकभन्दा पुरानो हो । आजको कान्तिपुर दैनिकले यही विषयलाई खुट्याउने प्रयास गरेको छ । ‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ ।

समाचारमा लेखिएअनुसार तत्कालीन एमाले नेता र शेर्पा परिवार सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट थिए । अहिले मदन भण्डारी र पासाङ ल्हामु शेर्पाकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्ध अझै घनिष्ठ भएको छ । यहाँसम्म कि सरकारले नेपाल ट्रष्टको गोकर्ण रिसोर्टको जग्गा यती समूहलाई लिजमा दिनुअघि अनकूल बनाउन एउटा कानुनलाई सात ठाउँमा संशोधन गरिएको छ । लिजको अवधि लम्ब्याउन कठिनाइ हुने नेपाल ट्रष्ट ऐनका सबै प्रावधान परिवर्तन गरेपछि मात्रै मन्त्रिपरिषदले ट्रष्ट सञ्चालक समितिको सिफारिसमा अवधि थप गरेको कान्तिपुरले लेखेको छ ।

समाचारमा लेखिएअनुसार सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिलाई भेट्न पार्टी कार्यालय बागबजार पुगेकी थिइन् । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झण्डा पनि दिए । यो २०५० सालको कुरादेखि २०७६ सालसम्मको अवधिमा भएका मुख्य घटनाक्रमबारे पनि बुँदागतरुपमा लेखिएको छ ।

· २०६६ सालमा गोकर्ण रिसोर्टको सेयर दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह ।
· २०६८ सालमा गोकुल बास्कोटा (वर्तमान सरकारका प्रवक्ता) पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्य ।
· २०६९ सालमा केपी शर्मा ओली बिरामी हुँदा आङछिरिङ शेर्पा (पासाङ ल्हामु शेर्पाको देवर, यती समूहका हर्ताकर्ता)को सहयोग ।
· २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन प्रचारप्रसारमा एयर डाइनेस्टीको प्रयोग ।
· २०७२ सालमा ओलीको सिफारिसमा कृपासुर शेर्पा पर्यटनमन्त्री, एमाले पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठानमा र हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण ।
· २०७५ सालमा आङछिरिङको स्मृतिमा विहार बनाउन लुम्बिनीमा चार बिघा जग्गा प्रदान ।
· २०७६ मा दावाफुटी शेर्पा राजदूत नियुक्त र ऐन संशोधन गरी ६ वर्षअगावै गोकर्ण रिसोर्टको लिज अवधि थप ।

नागरिक दैनिकले पनि नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणकै समाचार लेखेको छ । दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक संरचनाहरुमा निजी व्यवसायीलाई रिसोर्ट चलाउन दिने चलखेल सुरु भएको समाचारमा लेखिएको छ । यी संरचनामा संग्रहालय बनाउन नेपाल ट्रष्टको विज्ञ समितिले प्रतिवेदन दिएको छ ।

गोरखापत्र दैनिकले कम्पनी रजिष्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा परेको समाचार लेखेको छ ।

अन्नपूर्ण पोष्टले नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखा परेका र यी कमिला विदेशी काठसँगै नेपाल भित्रिएको समाचार लेखेको छ ।

राजधानी दैनिकमा सीमा विवाद सुल्झाउन राष्ट्रियसभाबाट संकल्प प्रस्ताव पारित भएको समाचार छ ।

कारोबार दैनिकका अनुसार २७ मुलुकसँग नेपालको व्यापार नाफामा भए पनि ११२ मुलुकसँगको व्यापार घाटा छ ।

नेपाल समाचारपत्र दैनिकको समाचारअनुसार हेटौंडाका आधाजसो विद्यालयका खानेपानीमा कोलिर्फम भेटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment