Comments Add Comment
अन्तरवार्ता :

माननीय चिनी उद्योगी भन्छन्– राजनीतिभन्दा माथि उठौं !

‘पश्चिमका किसान समझदार छन्, चारसयमा उखु बेचिरहेका छन्’

१९ पुस, वीरगञ्ज । पूर्व–पश्चिम राजमार्गमा पर्ने सर्लाहीको नयाँरोड बजारबाट ३५ किलोमिटर दक्षिणतर्फ गोडैता नगरपालिका छ । गोडैता–६ बगदहमा महालक्ष्मी चिनी उद्योग छ । त्यसका सञ्चालक हुन् प्रदेश नं ५ का कांग्रेस संसदीय दलका उपनेता एवं उद्योगी वीरेन्द्रकुमार कनोडिया ।

गत वर्षकै २१ करोड बक्यौता बाँकी राखेर बिहीबारबाट उद्योग सञ्चालनको तयारी गरिएको थियो । ठूलो संख्यामा उपस्थित किसानले एकै स्वरमा ‘पहिला पैसा देउ, अनि उद्योग चलाउ’ भन्ने अडान राखेपछि कनोडियाको प्रयास विफल भयो ।

सर्लाहीकै धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग बक्यौता नतिरेकै कारण सञ्चालनमा आउन नसकेको अवस्था छ । सर्लाहीको दक्षिणी क्षेत्रका किसानको दैलोमा रहेको उद्योग सञ्चालनमा आउने कि नआउने अन्योलमा छ ।

शुक्रबार उद्योगी कनौडियालाई रौतहटको चन्द्रनिगाहपुरमा भेटेर अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानी

आफैं गएर उद्योग मन्त्रीलाई भेटेँ । मन्त्रालयमा लिखित रूपमा पुस २१ गते सोमबारसम्म किसानको बाँकी बक्यौता भुक्तानी गर्छु भनेको छु । कसरी मिडियामा त्यस्तो आयो, म अचम्ममा परेको छु

‘किसानको पैसा नतिर्ने उद्योगी हाम्रो सम्पर्कमा छैन’ भनेर सरकारको सार्वजनिक अभिव्यक्ति आइरहँदा तपाई सुरक्षा निकायकै निगरानीमा किसानको माझ पुग्नुभयो कसरी ?

म त सरकारको सम्पर्कमा छु, किसानको सम्पर्कमा छु, बाहिर कतै गइरहेको छैन । कृषिमन्त्रीलाई फोन गरें । उद्योग मन्त्रीज्यूलाई फोन गरें । उहाँहरुको फोन उठेन । उद्योग मन्त्रालयले बोलाएकै थिएन । आफैं गएर उद्योग मन्त्रीलाई भेटें । मन्त्रालयमा लिखितरुपमा पुस २१ गते सोमबारसम्म किसानको बाँकी बक्यौता भुक्तानी गर्छु भनेर आएको छु ।

(हाँस्दै) कसरी मिडियामा त्यस्तो आयो, म अचम्ममा परेको छु । खास अन्नुपूर्ण सुगर मिलको सम्बन्धमा हो । सुनेको छु, उसको मालिक पनि काठमाण्डौंमै छ । यति ठूलो उद्योग लगाएर हामी भागेर कहाँ जाने ?

अब सोमबारसम्म तपाई किसानको बक्यौता भुक्तानी दिइसक्नुहुन्छ त ?

भनेकै छु, सोमबारसम्म भुक्तानी दिन्छु भनेर सार्वजनिक रुपमै भन्या छु । लिखित रुपमै भनेको छु । नेताहरुले राजनीतिकरण गरेको विषय मात्रै हो ।

पहिला पनि तपाईले ४५ दिन भित्र भुक्तानी दिन्छु भनेर सरकारले तोकेको भन्दा ३६ रुपैयाँ कम मूल्यमा सहमति गरेको होईन र ?

सुन्नुस न, त्यस्ता अव्यवहारिक सहमतिको कुरा छोड्नुस न । ४५ दिनभित्र कुन चिनी उद्योगले कसरी पैसा दिन सक्छ ? भन्नुस त ।

तपाईकै सहभागितामा सहमति भएको हैन र ?

मेरै सहभागितामा सहमति भएको हो, शतप्रतिशत मान्छु । तर, नयाँ नयाँ जोस जाँगर थियो, हामी उत्साहित भएर सहमति गर्‍यौं। किसानलाई पनि विश्वास दिनु थियो । तर, पाँच महिनासम्म चिनी बिक्री भएन, यो सबै किसानलाई थाहा छ । पाँच महिनासम्म चिनी गोदाममा थन्क्याएर राखेर किसानलाई ४५ दिनभित्र भुक्तानी दिन सकिन्छ त ? ३० औं वर्षदेखि स्थापित उद्योगले त एक महिना अगाडि भुक्तानी गरे । उनीहरुले पनि सेफ ल्याण्डिङका लागि ४५ दिन लेखिदिनुस् भने । सके हामीले गरौंला भनेर सहमति गरे ।

मैले सहमति गरेको छैन भनेर कहिले भनेको छ र ? हाम्रो उत्पादन बजारमा १० दिनमा बिक्री हुन्छ भने हामी किसानलाई १५ दिनमै भुक्तानी दिन्छौं नि । किसानको उखु खरिद गरेर चिनी बिक्री गरेर आएको पैसा उद्योगीले खल्तीमा राख्ने त होइन । उद्योगको अपरेटिङ कष्ट तिर्ने हो, बैंकको ब्याज तिर्ने हो, बचेको किसानलाई नै भुक्तानी गर्ने हो । त्यो पैसा अन्यत्र चलाउँदैन । उद्योगीले राम्रो गर्छु, केही नाफा गर्छु भनेर न लगानी गरेको हुन्छ ।

गत वर्षको बक्यौता रकम नदिएसम्म चिनी उद्योग चल्न नदिने भन्द्यै तपाईको मिलमा आन्दोलन भयो, यसमा तपाई के भन्नुहुन्छ ?

किसानसँग कुनै पनि विवाद छैन । किसान सन्तुष्ट छन् । उखु पनि आउन थालेको थियो । जानी–जानी केही व्यक्ति पदाधिकारीले किसानलाई उचाल्ने काम गरेका छन् । पहिलो वर्ष मिल चलाएको हौं । ट्राईल सिजनमा दुई प्रतिशत रिकभरी कम आएको छ । यसको बाबजुद ७० प्रतिशत भुक्तानी गरिसकेका छौं । उद्योगमा कुनै विचौलिया र दलाल छैन । सिस्टममा उद्योग चलिरहेको छ । सर्लाही जिल्लामा नेताहरुले उद्योगलाई आफ्नो प्रभावमा होस् भन्ने चाहेका छन् । त्यसो हुन दिएका छैनौं । राजनीतिक प्रभावबाट मुक्त उद्योग बनाएका छौं ।

धनकौल मिललाई जस्तै आफ्नो प्रभावमा राखौं भन्ने सोच कतिपय नेताको देखिन्छ । सोमबार भुक्तानी गर्छु भनिरहेकै छु । विश्वासका आधारमा किसानले उखु ल्याउन समेत शुरु गरेकै हुन् । तर चार दिनदेखि माईकिङ गरेर राजनीतिकरुपमा मोटिभेटेट किसानलाई उचालिएको रहेछ । यस्तो गतिविधिले उद्योगलाई राम्रो त गर्दैन ।

शुक्रबार पनि उखु आइरहेको छ । ठीक छ, सके आइतबार, नसके सोमबार पेमेन्ट गरेर उद्योग चलाउँछु । दुईचार दिन ढिलो हुन्छ, त्यति मात्रै हो । अब जहाँ मान्छेको राजनीति गर्ने रहर हुन्छ त्यहाँ के गर्ने ? उद्योगमा राजनीति नगर्नु पर्ने हो । किसानको उद्योग हो, सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने हो । सबैको साझा फ्याक्ट्री हो भनेर जिम्मेवार राजनीतिक व्यक्तिले बुझ्नुपर्ने हो । चाहे मेयर, सांसद, चाहे पूर्वसांसद जो सुकै हुन्, दलभन्दा माथि उठेर किसानको उद्योग भनेर बुझ्नुपर्ने हो ।

तर, सबैले यसलाई किसान उचालेर राजनीतिक औजार बनाउन खोजेको छ । दीर्घकालमा किसानलाई धेरै अहित गर्छ । नेताको केही पनि जाँदैन । सबैभन्दा बढी किसान मारमा पर्ने हो, मारमा पर्ने भनेको उद्योग हो । फ्याक्ट्रीलाई अहित गरेर किसानको कहिल्यै भलो हुँदैन । किसानलाई मारेर फ्याक्ट्री उभो लाग्दैन । एक–अर्कासँग नङ मासुको सम्बन्ध हुन्छ । हामीले यही मान्यतामा विश्वास गरेका छौं ।

मसँग २२ वर्ष उद्योग चलाएको अनुभव छ । कपिलबस्तुबाट यहाँ उद्योग ल्याउँदा त्यहाँका किसानको एकसुको बाँकी छैन । उल्टो किसानसँग ३ करोड रुपैयाँ लिनुपर्ने छ ।

केको पैसा हो त्यो ?

किसानलाई एडभान्स दिएका थियौं, बिउ विजन दिएका थियौं । किसानलाई ३ करोड दिएको एक–एक तमशुक हामीसँग छ । तर, हामीले किसानलाई छोडिदियौं । सर्लाहीमा पनि उखु खेतिको विकासका लागि करोडौं रुपैयाँ लगानी गरेका छौं । १५ सय रुपैयाँको बिउ ५ सय रुपैयाँमा दिएका छौं । अर्थात दुई सय रुपैयाँ अनुदान दिएका हौं । हाम्रो क्षेत्रमा ९५ प्रतिशत किसान खुशी छन् । राजनीति गर्ने मानिसले उचालिदिएका छन् । उचाल्न धेरै सजिलो छ । पैसा बाँकी छ, तिर्छु भनिरहेका छौं । तिर्दैनौं भनेका छैनौं । दुईचार दिन ढिलोचाँडो हो ।

किसानलाई ३० प्रतिशत रकम दिन बाँकी छ भनेर तपाई आफैं स्वीकार गरिरहनुभएको छ, अनि त्यो पैसा किन नदिएको त ?

एक सय करोडको चिनी उद्योग खडा गरेको छु, सत प्रतिशत पैसा आफ्नै लगानी हो । पुरानो लोन मेरो छ, तर सर्लाहीको उद्योग लोनबाट खोलेको होइन । बल्ल अहिले मेरो लोन आउँदैछ । ४ वटा बैंक ऋण दिन तयार छन् । बैंकिङ प्रक्रियामा केही ढिलाइ भइरहेको छ । एक महिना, दुई महिना अगाडि नै ऋण आउनुपर्ने, अझै आएको छैन । सरकारी बैंक छ, प्रक्रिया लामो छ । म त चाहन्थें, दुई महिना अगाडि नै किसानको पैसा भुक्तानी दिउँ । अथक प्रयास पनि गरेकै हो ।

बैंकबाट ऋण नआएसम्म महालक्ष्मी चिनी उद्योग नचल्ने भयो हैन त अब ?

बिहीबार उद्योग चलाएर सोमबार दिन्छु भनेकै हो । दुई–तीन दिन मात्रै समय बचाउन खोजेको मात्रै हो । किसानलाई नै फाइदा हुन्थ्यो । किसान पनि बुझ्दैन । नेताहरुको बहकाउमा किसान परेका छन् । नेताको काम के छ किसानलाई उचालिदिने, किसानलाई भड्काइदिने । ५०/६० रुपैयाँ कममा अरु उद्योगलाई उखु दिइराखेका छन् । आफ्नो नजिकको फ्याक्ट्री, गाउँ ठाउँमा दुई/चार किलोमिटर नजिक बसेको छ । उद्योगलाई सबैले सहयोग गर्नुपर्ने हो ।
स्थानीय नेता, मेयर, सांसद भनेको त उद्योगका अभिभावक हुन् । राजनीतिबाट टाढा राख्नुपर्ने हो । आफ्नै सम्झेर सहयोग गर्लान भनेको त हेरिहाल्नुभयो, किसानलाई कति उचालेर कुरा गरे । किसानको हितमा सबैले कुरा गर्नुपर्छ । तर, राजनीतिभन्दा माथि राख्नुपर्छ । उचाल्ने पछार्ने काम कसैले गर्नुहुन्न । किसानको हितमा बोलौं, राम्रो कुरा छ । उनीहरुको हकहितको कुरामा हामीले नाई भन्ने कुरै छैन । जिम्मेवार व्यक्तिले किसानलाई उचाल्ने हो त ?

उनीहरुले केका लागि यसो गरे त ?

केही कुरा छैन, आ– आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने ।

हैन, उद्योगमा कार्यकर्तालाई कर्मचारीको रुपमा राखिदेउ भन्छन् वा पैसा दिनुस् भन्छन् ? कि के भन्छन् त ?

सस्तो लोकप्रियता खोजेका, अरु त के हुनु । राजनीति गर्ने मान्छेलाई अरु के चाहियो, भोट बैंक बनाउने । म हिरो हुन्छु, किसानको अगुवा हुन्छु । किसानको नेता हुन्छु । उद्योगमा मेरो बर्चश्व हुन्छ । म जे चाहान्छु, त्यही उद्योगमा हुन्छ । किसानको नेतृत्व मैले गरेको छु । म किसानको शुभचिन्तक छु अरु सबै किसानका विरोधी । त्यही प्रदर्शन गर्न खोजेका छन् ।

गत वर्ष मिल चलाउनुभयो । चिनी त आयो होला, चिनी बेचेको पैसा किसानलाई दिएको भए त भुक्तानी पुगिहाल्थ्यो, किन नदिएको त ?

रिकोभरी कम आयो, कमसल उखु आयो । हामीले चिनी बेचेर घरमा पैसा थन्काएको छैन । जब २ प्रतिशत रिकोभरी कम आएपछि कसरी पैसा हुन्छ ?

किन त्यस्तो उखु किनेको त ?

त्यहाँ जुन जातकोे उखु छ, त्यही किन्ने न हो बाबा ! त्यसैले यस वर्षका लागि दुई सय प्रतिशत अनुदान दिएर नयाँ उखु लगाएको छु ।

तपाईले त किसानलाई कम पैसा दिने गरी सहमति पनि गराएको रहेछ नि ?

चिनी बेचेर पैसा लिएको हो । तर, २ प्रतिशत रिकोभरी कम आएको छ, आधा प्रतिशत सहमति गराएर कम गराएको छ । अनि कसरी मेन्टेन हुन्छ ?

पहिलो वर्ष घाटा भयो भन्ने तपाईको दाबी हो ? कति घाटा भयो ?

बिल्कुल सत प्रतिशत । सबैलाई थाहा छ यो कुरा । १० करोड घाटा भयो । ट्राईल सिजन हो, फ्याक्ट्री पनि फूल फेजमा चलेको हुन्न । शत प्रतिशत क्षमतामा चलोस् वा १० प्रतिशत, उद्योग चलाउँदा लाग्ने कर्मचारीलगायत अन्य दायित्व त एउटै हुन्छ । सय प्रतिशत खर्चको भारी बोकेर ३० प्रतिशत उद्योग चलाउँदा घाटा हुन्छ कि नाफा, आफैं जोड्नुस न ।

त्यसपछि गत वर्ष पाकिस्तान लगायत विदेशबाट चिनी ल्याएर बजारमा छरिएको थियो, चिनीको बजार राम्रो थिएन । मलासिसको मार्केट राम्रो थिएन । धेरै प्याक्टर हुन्छन् व्यवसायमा । दुई वर्षदेखि चिनीको बजार बिग्रेको छ । त्यसैले सबैको पेमेन्ट ढिला भइरहेको छ ।

तपाईहरुलाई लाग्छ, उद्योगपतिले उखु किन्यो, चिनी बनायो, बेच्यो पैसा कमायो तर किसानलाई किन दिएन ? किसानलाई पैसा नदिने कुनै पनि उद्योगपतिको रहर हुँदैन । उद्योगी छिटोभन्दा छिटो भुक्तानी गरौं नै भन्ने चाहान्छन् । समय परिस्थितिले व्यापारमा तलमाथि हुन्छ । त्यसको असर पर्छ । सरकारले एउटा निश्चित मापदण्डका आधारमा चिनीको मूल्य निर्धारण गरेको हुन्छ । त्यस अनुसारको रिकोभरी आउनुपर्‍याे ।

बजारको अपेक्षा गरेका हुन्छांै चिनीको बजार यस्तो हुन्छ कि तलमाथि भइरहन्छ । दुई वर्षयता बजारमा पर्याप्त मात्रामा विदेशबाट चिनी आइरहेको छ । सरकारसँग विदेशबाट चिनी ल्याउन रोक्न आग्रह गरेका हौं । गत वर्ष सरकारले रोकेको पनि हो । तर, आइसकेको चिनी त बजारमा हुन्छ । त्यसको असर पर्छ नै ।

पहिले पनि कपिलवस्तुमा उद्योग चलाउनुभयो, २२ वर्षदेखि उद्योग चलाइरहेको छु भन्नुहुन्छ । तर, उद्योगी र किसानबीच मूल्य निर्धारण, भुक्तानीमा सधैं किन द्वन्द्व हुन्छ ?

कुनै खास द्वन्द्व छैन । मिडियाले जसरी हाइलाईट गरेको छ, त्यस्तो केही पनि छैन । उद्योग राम्रो चल्यो, किसानको पैसा समयमा भुक्तानी भएको छ ।

तर, त्यतिकै सर्लाहीको बगदहमा सयौं किसान भेला भएका त होइनन् नि ?

कस्तो किसान जम्मा भएको हो, किसानलाई नै सोध्नुस न । केही किसान पीडित छन्, बाँकी बक्यौता छ, उनीहरुप्रति हाम्रो पनि सदभाव छ । उद्योगलाई घाटा पर्छ भने उनीहरुलाई पनि असर पर्छ । किसान र उद्योगबीच नङ मासुको सम्बन्ध हुन्छ । उद्योगलाई किसानले, किसानले उद्योगलाई सहयोग गर्नुपर्छ । उद्योगले कमाएन भने किसानको भुक्तानी गर्न गाह्रो हुन्छ, किसानले राम्रो उखु लगाएन, ताजा उखु दिएन भने रिकोभरी कम आउँछ ।

किसानको आँसु बेचेर उद्योगीले कमाएकै हो नि, हैन र ?

यो सब गलत कुरा छ, उद्योगी मात्रै कमाउँछ भन्ने छैन । उद्योगीले कमायो भने किसानलाई किन भुक्तानी गर्दैैन ?

यही त हाम्रो प्रश्न हो

गलत प्रश्न छ । उद्योगीले पैसा कमाउँछ भने किसानको शतप्रतिशत भुक्तानी हुन्छ । समयमा भुक्तानी हुन्छ ।

उखुमा वेष्टेज भन्ने चिज केही छैन, बगासदेखि सबै कुरा बिक्छ, अझ बिजुली निकाल्न सकिने रहेछ भन्छन् नि ?

यो सबैको मूल्य हुन्छ, यो तपाईहरुको गलत सोच छ । भारतमा बगास, प्रेस मल, बिजुली पनि निस्कन्छ, डिष्ट्रिलरी चल्छ । सबै उद्योग परिसरमा चार/चारवटा युनिट हुन्छन् – सुगर, डिष्ट्रिलरी, पावर र कम्पोष्ट प्लान्ट ।

तर, यहाँ त केही छैन । नेपालमा सानो–सानो उद्योग छ । भारतमा पाँच/पाँच गुणा ठूला उद्योग छन् । यहाँ ९ प्रतिशत रिकोभरी आउँछ, भारतमा १२ प्रतिशत रिकोभरी आउँछ ।

तपाई भन्नुहुन्छ, एउटै चिनी उद्योगको चार/चारवटा उत्पादन, उद्योगको त अर्बौं खर्बौं आम्दानी हुन्छ । तर, त्यस्तो छैन । चारवटै वस्तुको आम्दानी जोडेर, एकीकृत गरेर नाफा निकालिन्छ । संसारमै कुनै यस्तो व्यवसाय छैन, माटो बेच्छौं, बालुवा बेच्छौं, ढुंगा बेच्छौं, यसमा अर्बौंको कमाइ छ । ५० औं प्रतिशत आम्दानी छ । चिनी भारतमा पनि लागतअनुसारकै बेचिन्छ, अर्कोबाट परिपूर्ति गरिन्छ । उखुको मुल्य ४७१ रुपैयाँ प्रतिक्विन्टल छ । ९ प्रतिशत रिकोभरी छ । तर पनि किसानलाई सबै भुक्तानी गर्छौं। एउटा उद्योग स्थापना गर्न सय करोड लगानी छ, सञ्चालन खर्च १५ करोड लाग्छ, १५ करोड जति बैंकको ब्याज हुन्छ । ३० करोड रुपैयाँ शुद्ध चाहिन्छ । डेप्रिसियसन ४/५ करोड हुन्छ । कम्तिमा ३५ करोड रुपैयाँ बार्षिक आम्दानी भयो भने लागत उठ्छ । त्यसो गर्दा एक बोरा चिनीको २ हजार रुपैयाँ लागत पर्न जान्छ ।

मूल्य निर्धारणको सवालमा उद्योगी र किसानबीच सधैं द्वन्द्व देखिन्छ, त्यसका किसानले आन्दोलन नै गर्नुपर्छ, अनि बल्ल सरकारले मूल्य निर्धारण गर्छ, किन ?

पश्चिममा छैन, किसानले सस्तोमा उखु बेचिराखेको छ ।

किन त्यस्तो, उता सहज हुने यता किन नहुने ?

पश्चिमका किसान समझदार छन्, १२ प्रतिशत रिकोभरी दिने उखु ४ सय रुपैयाँ प्रतिक्विन्टलमा बेचिरहेका छन् । सरकारको दर ४ सय ७१ छ । कञ्चनपुर जिल्लामा दुईवटा उद्योग छन् । किसान र चिनी उद्योगीले सरकारले तोकेको मुल्यमा सरोकार छैन भनेर आफैं मूल्य निर्धारण गरेका छन् ।

तपाईले पनि विचौलियालाई उद्योगमा छिर्न दिएको छैन भनेर भन्नुयो, उनीहरुले उद्योगमा कस्तो समस्या निम्त्याउँछन् ?

किसानबाट नाममा सस्तोमा उखु किन्ने, सरकारको अनुदानसमेत आफैं खाने । तिनै हुन् बिचौलिया, हाम्रो उद्योगमा त्यस्ता व्यक्तिलाई छिर्र्न दिएका छैनौं, सिस्टममा चलाएका छौं ।

सब बुझेको छ, किसानले आफ्नो पैसाबाहेक अरु केही बुझ्दैन । किसानले उखु दिएको छ, त्यसको पैसा पाउनुपर्छ । घाटा–नाफासँग उसको के सरोकार ? उनीहरुको कुरा जायज छ ।

यो समस्याको दिगो समाधान के हो त ?

सरकारले किसानको पैसा देउ नै भनेको छ । ढिलोचाँडो गराउने कुरामा राज्यले समझदारी गर्न सक्छ । मैले पैसा दिन्छु भनेकै छु । केही नेताले उचालेका कारण समस्या आएको छ । किसान र हामीबीच कुनै समस्या छैन ।

उद्योग चलिहाल्छ, दुई दिनको कुरा हो । कसैले त्यसलाई प्रेष्टिज र ईगोसँग दाँजेको छ भने त बेग्लै हो । दुई दिनका लागि हामी झगडा गर्न किन जाउँ ?

कृषि उपजबाट चल्ने चिनी उद्योगका लागि राज्यले कस्तो सहयोग गर्‍याे भने राम्रोसँग चलाउन सकिन्छ ?

राज्यले किसानलाई अनुदान दिएकै छ, राम्रा जातका उखु ल्याउन सहयोग गरे अझै राम्रो हुन्छ । भारतबाट चिनी ल्याउँदा भन्सार दर बढाइदिएको छ सरकारले । हामी पहल गरिरहेका छौं, नेपालमा चिनी उत्पादन हुँदासम्म, मौज्दात रहँदासम्म बाहिरबाट चिनी ल्याउन प्रतिबन्ध लगाउन सके राम्रो हुन्छ । स्वदेशी उद्योगलाई संरक्षण नगरे धराशायी हुन्छ ।

भारतमा बाहिरबाट आउने चिनीमा शतप्रतिशत भन्सार लगाइन्छ । राजश्वको लालचमा बाहिरबाट चिनी मगाउँछौं भने भारतले त १० रुपैयाँ अनुदान दिएको छ । बाहिरबाट चिनी मगाएर देशको उद्योग धराशायी बनाउने कि स्वदेशी उद्योग बचाउने ? राज्यले सोच्ने कुरा हो । स्वदेशी उद्योग बचाउने सकारको पहिला कर्तव्य हो । नपुग भएको अवस्थामा बाहिरबाट चिनी मगाएर उपभोक्तालाई खुवाउने, बजारमा अभाव पनि गराउनुहुन्न ।

तपाईको कुरा त चिनी जस्तै गुलियो छ, किसानसँग राम्रो सम्बन्ध छ, राज्यले पनि ठिकै गर्दैछ भन्नुहुन्छ, बाहिर माहोल हेर्दा त्यस्तो देखिन्न किन ?

माहोल त सिर्जना गर्ने न हो । जति आइराखेको छ, त्यस्तो अवस्था छैन । सानो कुरालाई पनि ठूलो बनाइदिए भइहाल्छ ।

कसले गरेको त ?

गर्नेवाला मान्छेले गर्छ नि

मिडियाले ?

मिडियालाई दोष किन दिन्छु ? मिडियाले त देखेको कुरा लेखेको, बोलेको, देखाएको छ । किसानले प्रदर्शन गरेको छ, भएकै कुरालाई त मिडियाले ल्याएको हो ।

अन्त्यमा, उखु किसानसँग तपाईको के भनाइ छ ?

म किसानको एकदमै शुभचिन्तक हो । जनतामाझ राजनीति गर्ने व्यक्ति हो । साथसाथै उद्योगपति हुँ । फेरि, त्यही कुरा दोहोर्‍याउन चाहान्छु, किसान र उद्योगीबीच नङ र मासुको सम्बन्ध हुन्छ । किसान रहँदा उद्योग रहन्छ । किसानले राम्रो उखु लगायो भने उद्योगको भविष्य राम्रो हुन्छ । त्यसैले मैले करोडौं रुपैयाँ उखु खेतिको विकासमा खर्च गरेको छु । किसानलाई २ सय प्रतिशत अनुदानमा बिउ दिएको छु । त्यसले किसान र उद्योग दुवैको भलो गर्छ । तर, तुरुन्त नतिजा आउँदैन, समय लाग्छ । जुन दिनदेखि उद्योगको शिलान्यास भएको छ, मैले उखुको विकासमा लगानी गरिरहेको छु । केही प्रगति देखिएको छ । अझै राम्रो हुन एक–दुई वर्ष लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment