Comments Add Comment

राष्ट्रियसभा चुनाव : सहोदर दाजुभाइ फरक–फरक दलबाट भिड्दै

२० पुस, सप्तरी । राष्ट्रियसभा सांसद पदका लागि सप्तरीमा एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका घर भएका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मृगेन्द्रलाई र समाजवादी पार्टीले अनिरुद्रलाई प्रदेश २ बाट उम्मेदवार बनाएका छन् । यी दाजुभाइले आइतबार उम्मेदवार दर्ता गराउँदै छन् ।

राजपाले मृगेन्द्रलाई शनिबार दिउँसै उम्मेदबार बनाउने निर्णय गरे पनि अनिरुद्रलाई शनिबार राति समाजवादी पार्टीले उम्मेदबार चयन गरेको थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा पनि दुवैले सप्तरी क्षेत्र नम्बर ४ बाट फरक–फरक दलबाट प्रतिस्पर्धा गरेका थिए । मृगेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट र अनिरुद्र मधेशी जनअधिकार फोरमबाट उम्मेदबार बनेका थिए । तर, दुवै पराजित भए । सो क्षेत्रबाट नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए ।

त्यसो त मृगेन्द्र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदबार बनेका थिए । तर उनी कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment