Comments Add Comment

पर्यटनले फेरियो ताङतिङको मुहार

२१ पुस, पोखरा । मादी-२ ताङतिङकी रोशमाया गुरुङ केही वर्षअघिसम्म घरायसी काम गरेर दिन कटाउँथिन् । पारीपटि्ट डाँडामा रहेको सिकलेसले धमाधम आन्तरिक तथा बाहृय पर्यटक भित्र्याएर प्रगति गर्दा ताङतिङ शून्य थियो । खुलेका केही होमस्टे पनि नाम मात्रका थिए । त्यसैले पर्यटकहरु त्यही बाटो भएर सिकलेससम्म पुग्थे, तर ताङतिङमा बस्न खोज्दैनथे ।

रोशमायाका श्रीमान दिलिप गाउँकै सरकारी स्कुलमा अस्थायी शिक्षक थिए । उनकै कमाइले परिवार धान्नुपर्ने बाध्यता थियो । करिब ६ वर्षअघि पर्यटकलाई ‘खाजा खुवाउने’ होटल सुरु गरेपछि भने रोशमाया दैनिकी मात्र होइन, आर्थिक अवस्था पनि फेरिएको छ ।

सानो होटललाई बढाएर अहिले २० कोठे सुविधायुक्त गेस्ट हाउस बनाएकी छिन् उनले । ताङतिङ गेस्ट हाउसमा गच्छेअनुसार बस्न मिल्ने कोठाहरु छन् । ‘पहिले त सानो होटलमात्रै थियो । पछि गेस्ट हाउस बनायौं । पाहुना बढ्दै गए । होटलका कोठा बढाउँदै लग्यौं,’ रोशमाया खुशी व्यक्त गर्छिन् । होटल राम्रोसँग चल्न थालेपछि उनका श्रीमान दिलिपले अहिले अस्थायी शिक्षकबाट पनि विदा लिइसकेका छन् ।

गाउँमा करिब एक वर्ष पहिले सडक पुग्यो । बाटो पुगेपछि त पर्यटकको संख्या पनि बढेको छ । ‘पोखराका पर्यटन व्यवसायीले हामीसँग सम्पर्क राख्छन् । त्यहीअनुसार हामीले व्यवस्था गर्छौं,’ रोशमाया भन्छिन्, ‘पाहुनाहरु एक रातमात्र बस्छन् । उनीहरुसँग ५ सयदेखि ७ सय रुपैयाँसम्म लिने गरेका छौं ।’

यो पनि पढ्नुहोस ताङतिङदेखि याङजाकोटः स्थानीय परिकारसँगै रमणीय दृष्य

घरमै होटल खोलेर वार्षिक ६/७ लाख रुपैयाँ आम्दानी गरिरहेकी रोशमायाले गेस्ट हाउसमा नेपालीभन्दा विदेशी पर्यटक धेरै आउने गरेको सुनाइन् । गाउँमा उनको जस्तै पाँच वटा होटल छन् । पर्यटकको संख्या बढ्दै गएकाले नयाँ होटल तथा गेस्ट हाउस पनि खुल्ने तर्खरमा रहेको उनी सुनाउँछिन् ।

होमस्टेको मुख्य आकर्षण भने ‘नारेपा’ हो । नारेपाको अर्थ कोदोको रक्सी हुन्छ । होमस्टेमा आएका पाहुनालाई दुई गिलास नारेपा सित्तैमा दिइन्छ

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा पर्ने मादी-२ ताङतिङबाट अन्नपूर्ण हिमाल, लमजुङ हिमाल, बोजुपुंगी लामा महायन बौद्ध गुम्बा, बोनधर्म घर, शिवालयलगायत दृश्यावलोकन गर्न सकिन्छ ।

पोखरा काहुँखोला कसेरी, विजयपुर खोला, छाचोक हुँदै मादी खोला उक्लँदै गुरुङ समुदायको बाहुल्यता रहेको ताङतिङ पुग्न सकिन्छ । त्यहाँ महिलाहरुले होमस्टे चलाएका छन्, जसको संख्या १४ पुगेको छ ।

केही समयअघि हामेस्टेमा सुनसान भएपनि अहिले गाउँमै बाटो पुगेपछि धेरै सुधार भएको ताङतिङ होमस्टेकी सचिव पूर्णसुब्बा गुरुङ बताउँछिन् । सिजनमा पोखरा आसपासका क्षेत्रबाट २/३ जना होमस्टेमा बास बस्न पुग्छन् । ‘हामीले रोलक्रमको व्यवस्था गरेका छौं । त्यहीअनुसार यहाँ आएका पाहुनालाई हामेस्टेको अनुभव दिने गरेका छौं,’ पूर्णसुब्बाले भनिन् ।

होमस्टेमा पुग्ने प्राय नेपाली हुन्छन् । सञ्चालकले पाहुनाका लागि होमस्टे प्याकेज सुविधा दिँदै आएका छन् । साँझ मासु खाना, बिहानको खाजा र सादा खानाको जम्मा १ हजार रुपैयाँ लिने गरिएको छ ।

होमस्टेमा बाहृय खानालाई सकेसम्म प्रतिबन्ध गरिएको पूर्णसुब्बा बताउँछिन् । ‘हामेस्टेमा चाहिने आलु, साग, पिँडालु, भुइँस्याउ, चामल सबै गाउँमै महिला समूहबाट सामूहिक उत्पादन गर्छौं,’ उनी भन्छिन्, ‘नपुगे पनि गाउँलेसँगै किन्छौं । बाहिरबाट सकेसम्म नल्याउने नीति नै छ ।’

होमस्टेको मुख्य आकर्षण भने ‘नारेपा’ हो । नारेपाको अर्थ कोदोको रक्सी हुन्छ । होमस्टेमा आएका पाहुनालाई दुई गिलास नारेपा सित्तैमा दिइन्छ । त्यसभन्दा बढी लिन चाहेमा प्रतिगिलास ३५ रुपैयाँ तिर्नुपर्छ ।

ताङतिङ पुग्न मादी तरेर जानुपर्छ । मादीमा पुल नभइसकेकाले बर्खाको समयमा पाहुना नआउने गुरुङले बताइन् । ‘बाटो बन्यो तर, पुल बनेन । पुल नबन्दा ५/६ महिना होमस्टे सुख्खा हुन्छ,’ उनले भनिन् । होमस्टेमा एकैचोटी ८५ जनालाई राख्न सक्ने क्षमता छ । प्रदेश सरकारबाट गत वर्ष पाएको १० लाख रुपैयाँले गाउँकै शिरानमा पिकनिक क्षेत्र बनाइएको छ ।

विदेशी शालिन, स्वदेशी…

गाउँमा बाटो नपुग्दासम्म स्वदेशीभन्दा विदेशी पर्यटक धेरै पुग्थे । बाटो पुगेपछि भने नेपाली पाहुनाको संख्या बढेको त छ, तर व्यवसायीहरु खुसी छैनन् । ‘विदेशी पाहुना हिँड्न मन पराउँछन् । प्राय उनीहरु हिँडेर यहाँ आउँछन,’ ताङतिङ गेस्ट हाउस सञ्चालक रोशमाया गुरुङ अनुभव सुनाउँछिन्, ‘तर नेपाली पाहुनालाई त घरसम्मै गाडीमा आउनुपर्छ ।’ उनले विदेशी पर्यटक निश्चित समयअनुसार हिँड्ने र त्यहीअनुसार खाने, सुत्ने गरेको सनाइन् ।

ताङतिङ होमस्टेकी सचिव पूर्णसुब्बा गुरुङको अनुभव पनि त्यही छ । गाउँमा ११ बजेपछि होहल्ला गर्न नपाइने भए पनि नेपाली पाहुनाले पालना नगर्ने भन्दै उनले भनिन्, ‘पाहुनाको चित्त दुखाइदिनु पनि भएन । कहिलेकाहीँ त रातभरि पनि हल्ला गरेर बसिदिन्छन् ।’ तर नेपाली पाहुनाले विदेशीले भन्दा धेरै खर्च गर्ने गरेको पनि उनले सुनाइन् ।

ताङतिङ पुग्ने स्वदेशी पर्यटक होमस्टे बस्ने र विदेशी पर्यटक गेस्ट हाउसमा बस्ने गरेको मादी-२ का वडाध्यक्ष एकजङ गुरुङ सुनाउँछन् । विदेशी पर्यटक पोखराका पर्यटन व्यावसायीको सम्पर्कमा त्यहाँ पुग्ने भएकाले होमस्टेमा बढी बस्ने उनको बुझाइ छ । भन्छन्, ‘नेपालीहरु प्राय ग्रुपमा आउँछन् र होमस्टे खोज्छन् । तर विदेशी पर्यटक सुरुमै योजना बनाएर हिँड्ने भएकाले होमस्टेमा थोरै आउँछन् ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment