Comments Add Comment

‘मजाकहरु यथार्थमा परिणत हुँदा…’

तमासा भो ! सुनामीजस्तो एकैचोटि !

अहिले मूलतः हामीले संक्रमणकाल टुंग्यायौं । तैपनि संक्रमणकाल अझै छँदैछ । हामीले क्रान्ति र सामाजिक परिवर्तनको बाटो, जनतालाई संगठित गर्ने, सचेत गर्ने र जनताको दबाबमूलक शक्तिबाट सामाजिक अग्रगामी परिवर्तन ल्याउने बाटो समातेका छौं । यस बाटोबाट हामी आज लगभग दुई तिहाईको अवस्थामा पुर्‍याएका छौं ।

हामीले पार्टीलाई एकजुट बनाएका छौं । आमरुपमा वामपन्थी धार, कम्युनिस्ट आन्दोलन प्रगतिशील र अग्रगामी शक्तिहरु आज यस आन्दोलनमा, अभियानमा, पार्टीमा संगठित भएका छन् । मैले यो पार्टीमात्रै भनिनँ, यो एउटा अभियान हो । यो एउटा आन्दोलन हो । यो सामाजिक परिवर्तनको अग्रगामी एउटा ट्रेन्ड हो, सम्वाहक हो । यस स्थितिमा आज हामी छौं ।

हामीले अलिकति बुझेर, अलिकति नबुझेर, अनेक हिसाबले यस्तो प्रणाली ल्यायौं, जसबाट कसैको बहुमत आउँदैन । बहुमत नआएपछि स्थायित्व र स्थिरता हुँदैन । स्थायित्व र स्थिरता हुन नदिन नेपालमा हामीले हेर्‍यौं भने २००७ सालयता पाँच वर्ष कुनै सरकारले पुर्‍याएको छैन । ०१५ सालमा बहुमत आयो, ०४८ मा बहुमत आयो, ०५६ मा बहुमत आयो, तर बहुमत आए पनि टिकेन । यो किन भन्दाखेरि अस्थिरताका शक्तिहरु बलबान रहे । अस्थिरता बनाइरहने र प्रतिगमनका खेलहरु खेलिरहने ।

अस्थिरताका खेलहरुका लागि बहुमत नआउने प्रणाली चाहिन्छ । नेपालमा बहुमत नआउने प्रणाली एक ढंगले भन्ने हो भने हामीले बोक्यौं । तर, त्यसलाई पनि पराजित गरेर हामीले बहुमत ल्याएका छौं । यो साधारण कुरा होइन ।

यस्तो पार्टीले बहुमत ल्याएका छौं, जहाँ अन्तरराष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, त्यस्तो बेलामा हामीले बहुमत ल्याएका छौं । बहुमत पनि असाधारण खालको बहुमत ल्याएका छौं । केन्द्रमा मात्रै होइन, प्रदेशमा पनि र स्थानीय तहमा पनि हामीले बहुमत ल्याएका छौं । हामीले ठूला सफलताहरु पाएका छौं । खाली संविधान बनाउने, चुनाव गराउने जस्ता कुराहरु मात्र होइन । राजनीतिकरुपमा थुप्रै उपलब्धीहरु हासिल गर्‍यौं ।

हाम्रै जीवनकालमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्थालाई ढाल्यौं । निरंकुश राजतन्त्रतात्मक प्रणालीलाई ढाल्यौं । हामीले जनतालाई वास्तवमा सार्वभौमसत्ता सम्पन्न बनाएका छौं । हाम्रा अधिकारहरु संविधानले सुनिश्चित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो बाटो पनि निश्चित भएको छ । अब हामीले एकतावद्ध भएर सही बाटोमा, राष्ट्र निर्माणको दिशामा अगाडि बढ्नु छ । आजको आवश्यकता यो हो ।

तमासा भो ! सुनामीजस्तो एकैचोटि !

पहिचानको राजनीति भनेर जात जातमा लडाइदिने । भूगोल-भूगोलमा लडाइदिने । साम्प्रदायिक विद्वेषमा जनतालाई फसाइदिने । देशलाई रुवाण्डा बनाइदिने । त्यस्ता प्रयासहरुको बबण्डर चल्यो । झण्डै-झण्डै नेपाली भनेर बिर्सने, नेपाली भनेर हामीलाई बिर्साउने प्रयास भए । पहिले म फलानो जात, त्यसपछि नेपाली भन्ने कुराहरु र जात-जातका वीचमा हिंसा, तराई र मधेस, पहाड र मधेस, हिमाल र पहाड अनेक प्रकारका कुरा यस्ता पनि उछालिए । धर्मका नाममा उछालिए । धर्मका नाममा, जातका नाममा, भूगोलका नाममा कसरी विभाजित गर्न सकिन्छ, कसरी फुटाउन सकिन्छ… ।

सबभन्दा एउटा राष्ट्रलाई ध्वस्त पार्नुछ भने त्यसको एकता ध्वस्त पारिदिनुपर्छ । चीनलाई सयौं वर्ष, शताब्दियौंसम्म अफिममा डुबाइदिए । कतिवटा देशलाई शताब्दियौंसम्म जातीय द्वन्द्वमा डुबाइदिए । हामी रुवाण्डा एउटा उदाहरण भन्छौं, जो आज सबभन्दा शान्तिपूर्ण र सबभन्दा तीब्र विकासमा गइरहेको भन्ने रुपमा बुझिन्छ । त्यो देश शताब्दिऔंसम्म हुटु र टुत्सी भनेर त्यहाँ लडाइदिए । सधैं मारामार, सधैं मारामार । सिया र सुन्नी भनेर अहिले चलाइदिया छ कतिपय ठाउँमा । मुस्लिम र हिन्दुका नाममा हाम्रो देशमा चलाउन खोजिन्छ । यी सबै अत्यन्त खतरनाक प्रयासहरुलाई हामीले पराजित गर्‍यौं । र, राष्ट्रिय एकता, सामाजिक सदभावमा, विविधतामा एकता, सामाजिक सदभावमा आधारित राष्ट्रिय एकता, त्यस भावले जित्यो । र, हामीले तदनुसार नै संविधान बनायौं । तदनुसार नै हामी अगाडि बढ्दैछौं ।

अर्को प्रवृत्ति एउटा छ । राजनीतिभन्दा पर अराजनीतिक प्रवृत्ति । राजनीतिलाई विस्थापित गर्ने, राजनीतिप्रति घृणा फैलाउने, विस्थापित गर्ने र अराजनीतिक प्रवृत्तिहरुलाई बढावा दिने । त्यसले देशलाई फेरि भुँवरीमा पार्दिन्छ । यस्ता प्रवृत्तिहरुलाई पनि हामीले जित्यौं ।

भ्रम पार्ने र विकास निर्माणका कामहरु हुन नदिने । जुन काम हुँदाखेरि पनि त्यसमा विवाद खडा गर्ने । वास्तवमा आत्तिएका छन् अहिले लिएको अग्रगमनसँग, अहिले भइरहेको विकाससँग । अहिले असाधारण ढंगले नयाँ-नयाँ कामहरु भएका छन् । नयाँ-नयाँ सोचहरु भएका छन् । पत्रिकाले छापेको छ, ६ वर्षभित्र काठमाडौं-पोखरा- लुम्बिनी रेल बनिसक्ने, ७ खर्बको लगानी हुने यस्तो रुट बनाउने, यसको सर्बे भइसक्यो । मान्छेहरुको मन पोल्ने कुरा छ । यो काम भयो भनेदेखि त यो काम सरकारले अगाडि बढायो भने जस लिने भो भन्ने छ ।

मैले खोलाको बाटोबाट पनि आवागमन गर्न सक्छौं भनें, उडाए । हामी समुद्रमा जहाज चलाउन सक्छौं भनें, उडाए । कति दयनीय अवस्था छ विरोधीहरुको । कति दयनीय अवस्था । पानीमा जहाज चल्छ भन्ने कुरो पनि थाहा छैन । कति दयनीय । नदीमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ ।

हाम्रा युवाहरुले कोशीमा आफ्नै तर्फबाट बनाएर चलाएका छन् । गण्डकीमा, नारायणीमा अहिले परीक्षणका रुपमा चलाए भर्खर । प्राइभेट सेक्टरबाट युवाहरुले प्रेरित भएर । एकथरि कागजका डुंगा बाल्टीमा हालेर मजाक उडाउँदै थिए, अर्काथरिले जहाज बनाएर चलाए । फरक त्यहाँनेरि छ । रचनात्मक सोच र डिस्ट्रक्टिभ सोच । खाली दिमाग र रचनात्मक दिमाग । त्यसका वीचमा केही फरक यहाँनेर देखिन्छ ।

हामीले कोलकातासम्म पुग्नुपथ्र्यो ट्रक लिएर । डेढसय किलोमिटरमात्रै नजिक छौं, हामीले कोलकाता ल्याइसक्यौं अब । गंगा हुँदै हामीले ती सामानहरु ल्याउन सक्छौं । अब हाम्रो कोशीमै आइपुग्छ । हाम्रो गण्डकीमै आइपुग्छ केही समयपछि । यी कुराहरु देख्न सक्नेले मात्रै देख्छ, देख्न नसक्नेलाई ती मजाक हुन्छन् । मजाकहरु अलिपछि यथार्थमा परिणत हुँदा आश्चार्यचकित हुन्छन् तिनीहरु ।

एउटा यस्तोखालको छ, कुनै पोलिटिकल इस्यु नपाएपछि, कुनै खुद्रा ईस्यु पायो भने सारा प्रतिक्रियावादीहरु त्यसमा जम्मा हुन्छन् । गुठी विधेयक, जो सरोकारवाला थिए, सरोकारवाला भन्दा गैर सरोकारवालाको उछलकूद धेरै थियो । गुठी विधेयक त्यस्तो खराब केही पनि छैन । त्यसमा कुनै साना कुरामा सकमी कमजोरी छन् भने त्यसै कारण त संसदमा छलफलका लागि पठाएको । समितिमा छलफल त्यसैकारण हुन्छ । खास केही त्यसमा कमी छैन । त्यो ल्याउन नहुने विधेयक होइन ।

यस्ता कुराहरुमा एउटा तमासा भो । सुनामीजस्तो एकैचोटि । त्यसको धेरै लामो आयु हुन सक्दैनथ्यो, भएन । त्यसमा सारा देशद्रोही, जनविरोधी अनेक प्रकारका शक्तिहरु, अधिकांश शक्तिहरु त्यसमा मिसिएका छन् । केही भ्रममा पर्‍याथे । केहीले आफ्ना निम्ति केही भन्न खोज्याथे । तर, त्यो उनीहरुले भन्न पाएनन् । त्यो भन्दा बढी अरु तत्वहरु त्यसमा मिसिए । त्यो भएर यस्ता अनेक कुराहरु समय समयमा उठाउँछन् । कहिले के काण्ड, कहिले के काण्ड । यस्ता काण्डहरु उठाउँछन् । यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ ।

हुलले राज्यका नियमहरु, कानूनहरु कार्यान्वयन हुन नदिने । हुलले फैसला गर्ने । कुनै मुद्दा पर्‍यो, केही समस्या पर्‍यो भने हुलले निर्देशित गर्ने, छानविन यथार्थमा गर्न नदिने । हुलले निर्देशित गर्न खोज्ने । त्यस हुलमा स्वार्थ मिसिएर निर्देशित गर्न खोज्ने । त्यस्ता प्रवृत्ति हामीले देख्या छौं, जसबाट जोगिनुपर्छ ।

अब अहिले माहौल यस्तो बनेको छ, सही कुराको समर्थन गर्‍यो भने अप्ठ्यारो मान्नुपर्ने । सही कुरा बोल्न गाह्रो मान्नुपर्ने । सही कुरा पनि बोल्न हुन्छ र जस्तो । भ्रम फिँजाउन हुने, हल्ला गर्न हुने, नचाहिने कुरा गर्न हुने । तर, सी कुरा, सरकारले यो राम्रो काम गर्‍यो भन्न वरिपरि हेर्नुपर्ने । ओई क्या हो तँ त सरकारको समर्थन गरेर पो बोल्न थालिछस् भन्ने । सरकारले देश बनाउँछु भनिराख्या छ । सरकारले असाधारण गति लिएको छ । सरकारले असाधारण दृष्टिकोण र नीतिहरु लिएको छ । अनि केही मान्छेहरु… ।

नक्कली बेरोजगारी बढी छ

बेरोजगारीको जहाँसम्म कुरा छ, हाम्रो बेरोजगारी अलिकति सक्कली, अलिकति नक्कली । धेरैचाहिँ नक्कली छ । खेतबारी बाँझा छन्, त्यहाँ लगायो भने बेस्सरी हामीले निर्यात गरेर पैसा कमाउन सक्छौं । हाम्रा युवाहरुलाई बाटो नदेखाएर उनीहरु खेतबारी छोडेर भेडा चराउन अरबमा पुग्या छन् । यहाँ हामीले उनीहरुलाई सही बाटो दियौं भने आकर्षक आम्दानी यहाँ हुन्छ ।

मलाई अस्ति एकजना साथीले भन्दै थिए, उनले मेवाको एउटा खेती सुरु गर्‍या छन् । यति आकर्षक आम्दानी छ त्यसमा । त्यस्तै खेती त अरुले पनि गर्न सक्छ नि । हामीले आफ्नो भएको चिजको सदुपयोग गर्न नसक्ने, आफ्नो स्रोत साधन, प्राकृतिक स्रोत र मानवीय स्रोत मिसाउनुपर्‍यो नि एक ठाउँमा । त्यसलाई हामीले चलाउनुपर्‍यो नि । त्यो गर्न नसक्ने अनि विदेश पलायन हुने । त्योखालको स्थिति छँदैछ, त्यसलाई हामीले मोटिभेट गर्नुपर्ने छ ।
काम गरेका गर्‍यै छौं,

अहिले प्रगति रफ्तारले गएको छ । हामी अब छिटै नै फलाम खानी निकाल्दैछौं । तेलको हामी सर्भे गर्दैछौं । म विश्वस्त छु, त्यहाँबाट तेल निकाल्न सकिन्छ । अरु खानीहरु पनि हामी निकाल्दैछौं । हामी सिमेन्टका उद्योगहरुबाट आफूले प्रयोग गर्नेमात्रै होइन, हामी सिमेन्ट निर्यात गर्ने स्थितिमा पुग्दैछौं । फलाम खानी हामीले निकालिसकेपछि बाहिरबाट फलाम ल्याउनेभन्दा हामी फलाम निर्यात गर्न सक्ने अवस्थामा हुनेछौं । अनि त्यसबाट हामी अटो मोबाइल्स आदिका विभिन्न प्रकारका फ्याक्ट्रीहरु, निर्माण सामाग्रीहरु आफ्नो देशमा उत्पादन गर्न सक्ने छौं । जसले गर्दाखेरि व्यापारमा हाम्रो जुन असमानता र घाटा छ, त्यो भयानक घाटालाई विस्तारै पूरा गर्न सक्छौं ।
हामी कृषिको आधुनिकीकरण गर्दैछौं । सामाजिक जागरणको क्षेत्रमा कोही बालवालिका स्कुल बाहिर नरहुन् भनेर त्यसको प्रयास गर्दैछौं । हामीले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य वीमा गरेका छौं । हरेक नागरिकको बैंक खाताको अभियान सञ्चालन गरेका छौं ।

अहिले यस्तो जाडो कठांगि्रएर हुँदाखेरि पनि हामीले कम्बल, ज्याकेट आदि वितरणको प्रवन्ध गरेका छौं जिल्लामा आवश्यकता अनुसार । पहिले नै, गत वर्षबाटै मैले तयारी गर्ने र कोही पनि जाडोले कठांगि्रएर मर्न नपाओस् भनेर स्थानीय प्रशासनलाई, संघ संस्थाहरुलाई त्यसको ध्यान दिन र त्यसको प्रवन्ध गर्न भनेको छु । गत वर्ष कोही पनि कठांग्रिएर मर्न पाएन पहिलोपल्ट ।

हामीले कोही पनि बेहाल बेसहारा मान्छेलाई सडकमा रहन नदिने, सडकमा कठांगि्रएर मर्ने, गाउँ गएर तड्पिएर मर्ने स्थिति हुँदैन । किनभने, एउटा मान्छे, एउटा नागरिकलाई त्यस हालतमा पुग्न अहिलेको सरकारले दिँदैन । किनभने यो जनताको सरकार हो । यो गरीब निमुखा र दुःखीहरुको सरकार हो । त्यसकारण मैले भनें, नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन । यो यत्तिकै भनिएको होइन ।

दुनियाँमा कम्युनिस्ट आन्दोलन सिद्धिएका बेला नेपालमा कम्युनिस्ट आन्दोलन यति मजबुत भएको छ, लगभग दुई तिहाईको सरकार छ । नेपालको कम्युनिष्ट आन्दोलन दुनियाँका लागि दृष्टान्त भएको छ । एकता दृष्टान्त भएको छ । एकीकरण दृष्टान्त भएको छ । सफलता दृष्टान्त भएको छ । यसले सामाजिक न्याय र समानताका क्षेत्रमा गरेका कामहरु, महिलाहरुको, पछाडि परेको समुदायको उत्थानका लागि यसले गरेका कामहरु, मजदुर समस्या समाधानका सन्दर्भमा यसले गरेका कामहरु विश्वका लागि दृष्टान्त भएका छन् ।

हामी एउटा पार्टीका कार्यकर्ता हौं । पुष्पलालले निर्माण गर्दा पनि एउटा पार्टी थियो, आज हामीले सञ्चालन गर्दा पनि एउटा पार्टी छ । यो समयको माग थियो । देशको माग थियो । देश विकासका निम्ति आवश्यकता थियो । र, यो हामीले हासिल गरेका छौं । यसको महत्वलाई हामीले बुझ्नुपर्‍यो । कोही मान्छे मन पर्दैन होला । के कारणले मन पर्दैन, त्यो पनि मलाई थाहा छैन । कुनै आनीबानीमा कमी देख्नुहुन्छ भने भन्नोस् । व्यवहारमा कमी देख्नुहुन्छ भने भन्नोस् । क्रियाकलापमा कमी देख्नुहुन्छ भने भन्नोस् । नीतिहरुमा हामीले ठीक ढंगले देशलाई हाँकेका छौं । प्रतिक्रियावादीहरुलाई पराजीत गरेका छौं । सफल ढंगले नेतृत्व गरेका छौं ।

विरोधै गर्नुपर्ने के पर्‍यो ?

हाम्रै देशमा, हाम्रै केही मान्छेहरु व्यक्तिगत आग्रह, पूर्वाग्रह, कुण्ठा विभिन्न कुराले पनि खत्तम भो, आलोचना र विरोधबाहेक केही छैन । पार्टीमा रहेर पार्टीको समर्थनमा बोल्न नसक्ने । पार्टीको सरकार यति सफलताका साथ अगाडि बढेको छ, त्यसको समर्थनमा बोलन नसक्ने । विरोधमै मात्रै बोल्ने । यस प्रकारको कुण्ठाग्रस्त हुनुहुँदैन । यस्ता कुण्ठाहरुले कुनै सफलतामा कसैलाई पुर्‍याउँदैन । कुनै प्रेस्टिज पनि माथि उठ्दैन ।

त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु, कुनै कुण्ठा पाल्नुहुँदैन । हामी फराकिलो मनका साथ राष्ट्र निर्माणको, विकासको, समृद्धिको अभियानमा जुटेका छौं । समृद्ध नेपाल सुखी नेपाली । यसलाई विश्वले प्रशंसा गर्‍या छ । चिनियाँ नेता हुन वा भारतीय नेता हुन्, यरोपियन नेता हुन्, अरु देशका नेता हुन्, जुनसुकै देशका नेता हुन्, कोही पनि नेताहरुसँग भेट भयो भने समृद्ध नेपाल सुखी नेपालीको तपाईहरुको लक्ष एकदमै सही छ, तपाईहरुको गन्तव्य सही छ, कति राम्रो सूत्रीकरण तपाईहरुको गर्नुभयो भन्छन् ।

तर, हामीले ती लक्ष्य र उद्देश्यहरु प्राप्त गर्न यत्तिकै उद्देश्यहरुको मात्रै गीत गाइराख्या छैनौं । ती कसरी प्राप्त हुन सक्छन् ? ती प्राप्त गर्ने बाटाहरु, ती प्राप्त गर्ने विधिहरु के हुन सक्छन् ? कस्ता नीति, कस्ता कार्यक्रमका साथ तिनीहरुलाई प्राप्त गर्न सकिन्छ ? त्यो गर्दैछौं ।

अनि फेरि पनि विरोधै गर्नुपर्ने कारण के आइलाग्यो ? प्रतिक्रियावादीलाई पराजित गरिया छ । राजतन्त्रलाई फालिएको छ । संविधान बनाउन दिन्नँ भन्दा बनाइएको छ । नाकाबन्दी लाउँदा हटाइएको छ । एउटा देशबाट वेष्ठितलाई अर्को देशबाट पनि अनेकतिरबाट नाकाहरु खोलिएको छ । ट्रान्जिट ट्रान्सपोर्ट एगि्रमेन्टहरु गरिएको छ । बाटाहरु बन्दैछन् । सबैतिर विकास हुँदैछ । ग्यास पेट्रोलियमका पाइप हामीले सुरु गरेर त्यो पनि उदघाटन गरिसक्यौं । त्यस्ता थुप्रो कामहरु हामी गरेका गर्‍यै छौं । रेल ल्याउँदैछौं । अब पूर्व-पश्चिम रेल पनि चलाउँदैछौं । अनेक ठूला-ठूला कामहरु हुँदैछन् । सुधारका ठूला कामहरु हामी गर्दैछौं । अनि, विरोधै गर्नुपर्ने कारण के पर्‍यो ?

विरोधको कारण गलत नीति हुनुपर्ने, गलत व्यवहार हुनुपर्ने । असफलता हुनुपर्ने । आन्दोलनलाई कमजोर पारेको हुनुपर्ने । आन्दोलनलाई त मजबुद बनाएको छ । विरोधीहरुले सीधा आँखा गरेर हेर्न नसक्ने गरी मजबुद बनाएको छ आन्दोलनलाई । हरेक क्षेत्रमा आन्दोलनलाई सबल बनाएको छ । फेरि पनि विरोध गर्नुपर्ने !

विरोधीहरुले त गर्छन् नै, विरोधीको त काम हो । विरोधी छटपटाउँछन् । मैले भन्ने गर्‍याथें कि अब विस्तारै विरोधीहरुका सटर बन्द हुँदै जान्छन् ।

अब, प्रदेश नम्बर दुईबाट हाम्रो एक सीट पनि थिएन राष्ट्रिय सभामा । हाम्रो नोक्सान पनि भएको थिएन यसपल्ट । तर, हामीले दुईवटा सीट आफूले लिने, दुईवटा सीट अर्कोलाई दिने गरेर दुईवटा सीटको लाभमा सहमति गर्‍यौं । एकथरिको रोई कराई उधुमसँग भयो । ‘बालुवाटारबाट कालो धुवाँको मुस्लो निक्ल्यो ! दुईटा सीट सित्तै थपियो पार्टीमा बर्बाद भो, अचम्मका कविता ! कविहरु पनि नयाँ नयाँ खालका । अचम्म अचम्मका कविता ।

वास्तवमा यस्तो निराधार विरोध । जेमा पनि विरोध । तर्कहीन विरोध । यस्तो हुनुहुँदैन । तथ्यका आधारमा, तर्कका आधारमा । हामी एउटा डुंगामाथि चढेका छौं । एउटा गन्तव्यतर्फ हिँडेका छौं । डुंगामा प्वाल पार्दै जाने हो भने एउटा मात्रै डुब्दैन, सबै डुब्छ ।

तर, म भन्न चाहन्छु- जसले प्वाल पार्न खोजे पनि यो डुंगा प्वाल पार्न दिइँदैन । जसले यो डुंगा डुबाउन खोजे पनि डुंगा डुबाउन दिइँदैन । जसले यो डुंगालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । जसले यो डुंगालाई वीचैमा डुबाउन खोजे पनि डुबाउन दिइँदैन । यो डुंगा हामीसँग ७० वर्षका अनुभवहरुबाट बनेको हो । यो डुंगा भवितव्यले बनेको होइन ।
(बालुवाटारमा आयोजित एक आन्तरिक कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्वोधनको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment