+
+
Shares

गोरखाको च्याङ्लीमा एक घर एक एभोकाडो

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १४:४०

२१ पुस, गोरखा । पालुङटार नगरपालिका–७ च्याङ्लीको प्रत्येक घरमा एभोकाडोको विरुवा वितरण गरिने भएको छ । कृषि सामग्री बीउ विजन कार्यक्रम अन्तर्गत वडा कार्यालयले विरुवा वितरण गर्न लागेको हो । कार्यक्रमका लागि चालु आर्थिक बर्ष दुइ लाख रकम छुट्याइएको वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए ।

‘पछिल्लो समय मान्छे दीर्घरोगी हुन थाले,’ उनले भने, ‘यो एभोकाडो फल खायो भने स्वास्थ्यका लागि धेरै फाइदा पुग्छ ।’ वडामा रहेका करिव १६ सय घरधुरी सबैलाई विरुवा वितरण गर्ने उनले बताए । ‘अहिले एक घर एक एभोकाडो विरुवा वितरण गर्छाै, पछि थप्दै जाने योजना छ,’ उनले भने ।

विरुवाका लागि कृषि ज्ञान केन्द्रसँग समन्वय गर्ने वडा कार्यालयले जनाएको छ । ‘हावापानीको हिसाबले च्याङ्ली एभोकाडो खेतीका लागि उपयुक्त छ, केही किसानले व्यवसायिक रुपमा खेती पनि गर्र्दै आएका छन्, फेरि यो फल जुनसुकै रोग भएका मानिसले पनि खान मिल्छ, त्यसैले बाड्ने तयारी गरेका हौ,’ वडाध्यक्ष श्रेष्ठले भने । वडाले निशुल्क विरुवा वितरण गर्ने विरुवा ढुवानीमा लागेको खर्च किसानले व्यहोर्नुपर्छ ।

एभोकाडो फल स्वास्थ्यका लागि निकै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । ‘यसलाइ नेपालीमा घिउ फल पनि भनिन्छ,’ जिल्ला अस्पताल गोरखाका हेल्थ असिस्टेन्ट कृष्ण ढकालले भने, ‘यो फल इनर्जीको राम्रो स्रोत हो ।’ शरीरलाई आवश्यक पोटासियम, भिटामिन, फाइवर जस्ता खाद्य तत्वहरु यो फलमा पाइने उनको भनाइ छ ।

‘यो फलले एन्टिअक्सिडेन्टको काम गर्छ, यसले छालामा चमक ल्याउछ, चाँडै चाउरी पर्न दिदैन, चाडै बुढोपना पनि देखिदैन,’ उनले भने । फाइवर बढी पाइने भएकाले पेटलाई सफा राख्ने, तौल घटाउन सहयोग पुग्ने र क्यान्सर हुनबाट समेत जोगाउने उनले बताए । मधुमेहका रोगीलाई पनि यो फल फाइदाजनक हुने उनको भनाइ छ । दिनमा एक सय ग्राम एभोकाडो खाएमा एक सय ६० किलो क्यालोरी पाइने चिकित्सकहरु बताउँछन् ।

एभोकाडो फलको खेती नेपालमा बिरलै हुने गरेको कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् । ‘यो फलको खेती गर्दा धेरै स्याहार सुसार गर्न पनि पर्दैन, मेहनत पनि कम लाग्छ, तर नेपालमा यसको खेती मात्र होइन यो फल खाने बानी पनि खासै छैन,’ उनले भनिन् । यो फलको प्रयोग बिदेशमा बढी हुने उनको भनाइ छ । स्वास्थ्यका लागि निकै फाइदाजनक हुने भन्दै उनले थपिन्, ‘यो फल नास्पातिको जस्तो आकारको हुन्छ, एउटा बोटमा दुई सयदेखि चार सयसम्म दाना लाग्छ ।’

यो फलको बजार मूल्य करिव पाँच सय रुपैयाँ प्रति किलो रहेको उनले बताइन् । जिल्लाको भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका केही भागमा एभोकाडोको व्यवसायिक खेती शुरु गरिएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?