
२१ पुस, वीरगञ्ज । ८ मार्च (फागुन २५)मा वीरगञ्जमा सामाजिक कार्यमा सक्रिय अभियन्ताहरुको सम्मेलनको आयोजना हुने भएको छ । भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको पहलमा ‘अभियन्ता सम्मेलन २०२०’ आयोजना गर्न लागिएको हो ।
विभिन्न पेशामा आवद्ध रहेर व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवन भन्दा माथि उठेर दिन दुःखी, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न निस्वार्थ भावले विभिन्न अभियान सञ्चालन तथा सामाजिक कार्य गरी रहेका २ सय सामाजिक अभियन्ताहरु सम्मेलनमा सहभागी हुने आयोजकले जनाएको छ । मार्च ८, २०२० का दिन वीरगञ्जमा हुने सम्मेलनमा प्रदेश २ मै रहेका र बाहिर स्वदेश तथा विदेशमा रहेर प्रदेशका लागि काम गरिरहेकाहरु पनि सहभागी हुनेछन् ।
त्यस बाहेक सम्मेलनमा तीन जना अन्तराष्ट्रिय मुख्य वक्ता, दुई वटा प्यानल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान गर्नुको साथै प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन गरिनेछ । सँगसँगै सम्मेलनमा विविधतामा एकता प्रर्वद्धन गर्ने मनोरञ्जनतात्मक सांस्कृतिक साँझ राखिएको छ ।
सम्मेलनमा सामाजिक विकासः स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा (महिला तथा बालबालिका, जेष्ठ नागरीक र अपङ्गता) र खेलकुद, संस्कृति, भाषा, सम्पदा, कला र पर्यटन, आर्थिक उन्नत्ति, रोजगार, व्यापार, प्राकृतिक विपद्बाट जोगिने र रेजिलिएन्ट, प्रदेशको मान, सम्मान, इज्जत बढाउने, सरसफाई, स्वाच्छता र वातावरण संरक्षण, विज्ञान, प्रविधि र आविष्कार, भौतिक संरचना निर्माण, सुसाशन र मितव्ययीता, पारदर्शिता र जवाफदेहितामा योगदान, साझेदारी, सहकार्य र समन्वय (स्थानीय तथा संघीय सरकार सित र सहयोगी निकाय)मा उल्लेखनीय काम गरेका अभियन्ता सहभागी हुनेछन् ।
अभियन्ता सम्मेलन २०२० मा सहभागिताको लागि सोमबारदेखि दर्ता खुल्ला गरिएको छ । इच्छुक अभियन्ताले आफू सहभागी हुन वा अन्य कुनै अभियन्तालाई सहभागी गराउन अनलाइन वा पेपर मार्फत दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
भोरका अध्यक्ष राज कुमार महतोले १० वटा क्षेत्रमा सेवारत अभियन्ता सम्मेलनको उद्देश्य सामाजिक सेवा गर्ने व्यक्तिलाई उत्प्रेरित गर्ने भएको बताए ।
‘विकास र समृद्धिमा अभियन्ताको भूमिका र योगदानलाई एकिकृत रुपमा औपचारिक रुपमा स्थापित गराउनुपर्ने छ, अभियानीहरुबीच एक आपसमा उपलब्धी, चुनौती, सामाधानका उपाय तथा सिकाइको अनुभव आदान प्रदान गर्ने मौका सम्मेलनबाट प्राप्त हुन्छ,’ अध्यक्ष महतोले भने, ‘साथै उनीहरुको क्षमता विकास गराउँदै थप अभियान सञ्चालन गर्न तथा सामाजिक कार्य गर्न उत्साह प्रदान हुने विश्वास हामीले लिएका छौं । ’
प्रतिक्रिया 4