Comments Add Comment

उखु खेती : विचौलिया बन्दा बिल्लीबाठ !

नगदमा खरिद गरेर उधारोमा दिँदा रामप्रतापले सर्वस्व गुमाए

२१ पुस, सर्लाही । लामो समयदेखि चिनी उद्योगबाट भुक्तानी नपाएका उखु किसानले आन्दोलन गरे । सरकारले माघ ७ गतेसम्म भुक्तानीका लागि पहल गर्ने लिखित सम्झौता पनि गर्‍यो । तर भुक्तानी नपाउनेमा किसान मात्रै छैनन् । विचौलियासमेत छन्, जसको उखुको भुक्तानी नपाएका कारण सर्वस्व गुमाउने अवस्था आएको छ ।

पुर्खाले आर्जेको १० कठ्ठा जग्गा र घरघडेरी गुमाउँदा पनि उखुको ऋणमा डुबेका छन्, ७१ बर्षीय रामप्रताप महतो । विचौलियाका रूपमा झण्डै तीन दशकदेखि उखुको कारोबार गर्दै आएका उनी भन्छन्, ‘अहिले न यताको न उताको भएको छु । मेरो भन्दा राम्रा अवस्था त किसान छ ।’

किसानलाई दिए, आफूले गुमाए

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ४ का बासिन्दा हुन् रामप्रताप महतो । जिल्लामा तीन वटा चिनी उद्योग स्थापना भएपछि उखु खेती गर्ने किसानहरु बढे । अनि रामप्रतापले बिचौलियाको पेशा रोजे ।

चिनी उद्योगले खरिद गर्नुपर्ने उखु गाउँ–गाउँ पुगेर खरिद गर्न थाले । चिनी उद्योगलाई उखु दिँदा पैसा पाउन महिनौं लाग्थ्यो । त्यसैले पैसाको खाँचो टार्न किसानहरु केही सस्तोमा भए पनि रामप्रतापलाई उखु दिन्थे । महतोले भन्छन्, ‘मैले उखु तौलिएछि हातमै पैसा दिन्थें ।’

त्यसैले त उखु मिलअरूले लाखौं रकम किसानलाई दिन बाँकी हुँदा पनि रामप्रतापले सबैको पैसा दिएका छन् ।

किसानसँग उखु किन्ने बेलामा उनी कहिले जग्गा बन्धकी राखेर ऋण लिन्थे त कहिले गाउँको साहूसँग ऋण काट्थे ।

किसानसँग नगदमा किनेको उखु उनले हरिवनस्थित इन्दुशंकर, धनकौलस्थित अन्नपूर्ण, रौतहटको गरुडास्थित श्रीराम चिनी उद्योगमा लगेर बेचेका थिए । त्यसो गर्दा २–४ पैसा आम्दानी हुने भएकाले उनी खुसी थिए । ‘शुरुमा त फाइदा नै भयो’ उनी भन्छन्, ‘त्यसबाट श्रीमती र १० सन्तानको पालनपोषण पनि गरेँ ।’

आफूसँग १० कठ्ठाजति जग्गा हुँदा पनि आफ्नै खेतमा उखु खेती गरेनन् । बिचौलिया बनेर छोराछोरीलाई पढाउने र थप जग्गा जोड्ने योजना बनाए ।

तर चिनी उद्योगले समयमै भुक्तानी दिन छाडेपछि समस्यामा पर्दै गए । ऋण दिने साहूले कस्दै लगेपछि भएको १० कठ्ठा जग्गा पनि बेच्नुपर्‍यो ।

गाउँकै साहू सुरेन्द्र साहसँग २ बर्षअघि ४ लाख ऋण लिएर फेरि उखु किने । तर नगदमा किनेर चिनी मिल पुर्‍याएको उखुको झुक्तानी अझै पाएका छैनन् ।

अब चिनी उद्योगले बाँकी सबै रकम दिएपनि साँवा र व्याज तिर्न नपुग्ने अवस्था रहेको उनले सुनाए । ‘कुनै सम्पत्ति छैन । घडेरी समेत बेचेर अर्कैको घरमा आश्रय लिइरहेको छु’ उनले भने, ‘अब ऋण कसरी तिर्ने ?’

एउटा छोरा वैदेशिक रोजगारीमा गएकाले उनले कमाए तिर्न सकिन्छ कि भन्ने आश भने मारेका छैनन् ।

अन्तिम विकल्प खेती

चिनी उद्योगकै कारण आफू बर्बाद भएको भन्दै रामप्रताप महतो विचौलिया नबन्ने प्रण गरेका छन् । बरु खेतीमा फर्किएका छन् ।

जसरी पनि ऋण सकाउनुछ, घर परिवार धान्नुछ’ उनले भने, ‘अर्काको ४ बिघा खेती बटैया र हुन्डामा शुरु गरेको छु ।’

उनले उखुसँगै धान उब्जाउँछन् । तर धान उब्जेको मध्ये आधा र उखु प्रतिकठ्ठा एक क्वीन्टल  जग्गा धनीलाई दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment