Comments Add Comment

कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाख बिरामी

२२ पुस, काठमाडौं । कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाख भन्दा बढी बालबालिकाले उपचार गर्ने गरेको पाइएको छ । अस्पतालका अनुसार गत आर्थिक वर्षमा बहिरंग सेवामा १ लाख ५५ हजार र आकस्मिक कक्षमा ५५ हजार बालबालिकाले उपचार गराएका छन् ।

अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार हरेक वर्ष १० देखि १२ प्रतिशत बिरामी बढ्ने गरेका छन् । अस्पतालमा गत साउनयतामात्रै १ लाख भन्दा बढी बालबालिकाले उपचार गराएका छन् ।

साउनदेखि पुससम्म ७० हजार भन्दा बढी बालबालिकाले बहिरंग सेवामा उपचार गराएका छन् भने २७ हजार बालबालिकाले आकस्मिक कक्षमा उपचार गराएका छन् ।

गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजार बालबालिकाको भर्ना गरेर उपचार गरिएको निर्देशक बिच्छाले बताए ।

कान्ति बाल अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शय्याको अभावले देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था अझै रहेको उनले बताए । दुई महिनाअघि १० शय्याको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ छ।

अझै पनि एकदिनमा ४/५ जना बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता कान्तिमा रहेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा. डा. डिएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही विश्वस्तरिय अनुसन्धान गर्व गर्न लायक भएको बताए ।

कान्ति बाल अस्पतालले अहिले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरेको छ, भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेको छ । अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको निर्माण गर्ने योजना अस्पतालले बनाएको छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएर नक्सा पाससमेत भइसकेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment