Comments Add Comment

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु

२३ पुस, चितवन । चितवनमा बुधबारदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह-२०७६’ सुरु भएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताह सुरु गरिएको हो ।

पुस २९ गतेसम्म चल्ने सप्ताहमा जनचेतनामूलक र्‍याली, सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टीन एवम् विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए ।

अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आईपीएम कार्यक्रमलाई बढवा दिन कार्यलयले निरन्तर अभियान संचालन गरिरहेको उनको भनाइ छ ।

रसायनिक विषादीको न्यूनीकरण गर्ने उदेश्यले स्वास्थ्य र वातावरण अनुकुल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको ७ जिल्लामा सामुदायिक आईपीएम श्रोतकेन्द्र स्थापना गरिएको छ ।

काठमाडौं बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा कार्यक्रम गर्न लागिएको हुमागाईले जानकारी दिए । काभ्रे र चितवन तरकारी उत्पादन बाढी हुने जिल्लामा पर्दछन् ।

नेपालमा सन् २०१३ देखि विषादी प्रयोगमुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं,’ भन्ने तय गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।

कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्रांङगारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने ढकालले बताए ।

प्रदेश नम्वर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवनको सबैभन्दा ठूलो तरकारी बजार भरतपुर २ क्षेत्रपुरमा दुई साता अघिमात्र विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सो प्रयोगशालामा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण हुने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए ।

नेपालमा सन् १९५२ सालमा मामलेरिया रोग नियन्त्रणका लागि भित्रयाइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो ।

अन्य देशको तुलनामा प्रतिइकाइ जमीनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङकमा उल्लेख छ ।

गत वर्ष मात्र नेपालमा ६३२.४१ टन विषादी आयात भएको थियो । त्यस मध्ये कीटनासक २१६ टन, रोगनाशक २६७ टन, झारनासक १४२ टन र अन्य ५ टन रहेको छ । विषादी आयातको लागि करिब ८४ करोड रुपैयाँ गत वर्ष खर्च भएको छ ।

विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ ।

विषादीकै कारण विश्वमा वार्षिक करिब ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment