Comments Add Comment

दुर्घटनाको २५ दिनपछि नायिका परमिताको स्वीकारोक्ति

२३ पुस, काठमाडौं । गत मंसिर २८ गते मा बूढानीलकण्ठमा बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट पैदलयात्रुको मृत्यु भयो । त्यसैबेला उक्त गाडीमा नायिका परमिता राज्यलक्ष्मी राणा पनि सवार रहेको अपुष्ट खबरहरु आएका थिए । तर यसको न प्रहरीले पुष्टि गर्‍यो, न परमिताले त्यो खबरको खण्डन गरिन् ।

घटना भएको २५ दिनपछि परमिताले फेसबुकमा लामो स्टाटस लेख्दै गाडीमा आफू सवार रहेको स्वीकार गरेकी छिन् । यो घटनापछि आफू विक्षिप्त बनेको भन्दै उनले आफूमा आत्महत्याको सोचसमेत आएको उल्लेख गरेकी छन् ।

राणाका अनुसार गाडी हाँक्ने पृथ्वी मल्ल ‘म्युचल फ्रेन्ड’ हुन् । मल्लले त्यसदिन साथीहरुसँगै खाजा खाने प्रस्ताव गरेको र आफूले स्वीकार गरेको राणाको भनाइ छ ।

‘उनी असल थिए र हामीसित राम्रो व्यवहार गर्थे,’ उनी लेख्छिन्, ‘त्यस दिन पनि बोली–व्यवहार राम्रो थियो । मलाई भोक पनि लागेकाले उनको प्रस्ताव स्वीकार गरेँ ।’

उनले गाडीमा ४ जना सवार रहेको उल्लेख गरेकी छन् तर, कहाँबाट कहाँ जान हिँडेको चाहिँ खुलाएकी छैनन् ।

यद्यपि त्यस रात उनीहरु सँगै ‘नाइट आउट’ मा थिए भन्ने आशय उनको स्टाटसमा झल्किन्छ ।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ, धेरै मानिसहरु, खासमा साथीहरु जो नाइट आउटपछि बिहान सबेरै काठमाडौंमा ड्राइभ गर्छन्, कृपया त्यसो नगर्नुहोला ।’

दुर्घटनापछि त्यहाँको माहोल देखेर एक स्थानीयले आफूलाई घटनास्थलबाट ‘भगाएको’ बताएकी छन् ।

‘म एकदमै आत्तिएकी थिएँ । मानिसहरु ममाथि आइलाग्न सक्ने अवस्था देखेर एक स्थानीयले मलाई आफ्नो बाइकमा बस्न आग्रह गरे’ उनले अघि भनिन् ।

कारबाट बाहिर निस्केर म रोड क्रस गरी एउटा पसल अगाडि उभिएँ । मस्तिष्क शून्यतामा थियो । दुई जना स्थानीय आएर मलाई तपाईं पनि भित्र हुनुहुन्थ्यो कि भनेर सोधे । मैले हो भनेँ । मेरो आँखाबाट आँशु झरिरहेका थिए । त्यति नै बेला एक स्थानीय व्यक्ति बाइकमा म नजिक आए । उनले म त्यहाँ बस्नु सुरक्षित नहुने बताए । उनले ‘यहाँ जे पनि हुन सक्छ’ भने । त्यसपछि त म झनै अताल्लिएँ । त्यसबेला मैले आफ्नी आमालाई सम्झिएँ । उहाँ सधैं मलाई भन्ने गर्नु हुन्छ कि म तिम्रो कारणले मात्रै जिवित छु । अब उहाँलाई के होला ? उहाँले मेरा लागि आफ्नो जीवनमा गर्नुभएको बलिदान के होला ? मलाई लाग्यो कि मेरो जीवन त अब सकियो ।’

‘केहीबेरपछि त्यही व्यक्तिले एउटा ट्याक्सी लिएर आयो । त्यसमा चढेर म घर गएँ । अनि मैले त्यहाँबाट भाग्न सुझाव दिने साथीलाई फोन गरेँ । उनले दुर्घटनामा घाइते भएको व्यक्तिलाई अस्पताल लगिएको र आफूहरु प्रहरी चौकीमा भएको बताए ।

घटनापछि आफूले पारिवारिक वकिललाई भेटेर सुझाव मागेको बताएकी छन् । वकिलले दिएको सुझावअनुसार सामाजिक सञ्जालका अकाउन्ट निस्क्रिय पारेर बसेको भन्दै उनले अघि भनेकी छन्, ‘कारमा चढ्नु मेरो छनोटको कुरा थियो, तर घटनास्थलबाट बाहिरिनु वाध्याता । किनकी म भित्रभित्रै मरिरहेकी थिएँ ।’

आफ्नो बुवाको पनि कार दुर्घटनामा मृत्यु भएकाले आफू बढी आतंकित बनेको उनी बताउँछिन् ।

मंसिर २८ गते बिहान १० बजेतिर बूढानीलकण्ठ विद्यालय अगाडि बा १४ च ६१२३ नम्बरको गाडीले ठक्कर दिँदा गोरखाकी लीला देवकोटाको ज्यान गएको थियो । गाडी चालक पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ । प्रहरीकाअनुसार गाडीमा मल्लसहित परमिता, करिश मास्के र एलिना थापा सवार थिए ।

स्टाटस हेर्दा परमिता अहिले पनि निकै आत्तिएको प्रतीत हुन्छ । उनले पटकपटक क्षमायाचना गरेकी छिन् । तर परमिता किन यतिका दिनसम्म मौन रहिन् भन्ने चाहिँ कौतुहलको विषय हो । साथै गाडी चालकले मदिरा सेवन गरेको थाहा हुँदाहुँदै त्यसमा यात्रा गर्न तयार हुनु चाहिँ उनको गल्ती देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment