Comments Add Comment

देश आर्थिक स्थायित्वतर्फ, परिसूचकहरु सकारात्मक : अर्थ मन्त्रालय

२३ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक देखाउँदै अर्थ मन्त्रालयले नेपाल आर्थिक स्थायित्वतर्फ उन्मुख रहेको बताएको छ । गत साउनदेखि मंसिरसम्म समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको मन्त्रालयको निश्कर्ष छ ।

मन्त्रालयले बुधबार रिपोर्ट सार्वजनिक गर्दै  निर्यातमा वृद्धि र आयातमा संकुचनले वैदेशिक व्यापारको असन्तुलनमा सुधार आएको जनाएको छ । संघीय सरकारको खर्च र राजस्व संकलनमा सामान्य वृद्धि देखिएको छ ।

आयात घट्दा त्यसको असर भन्सार राजस्वमा परे पनि आन्तरिक राजस्व परिचालनले भने उत्साहित बनाएको अधिकारीहरुले बताए । स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा उत्साहजनक वृद्धि भएको तथा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदारको संख्यामा समेत मंसिर महिनामा सुधार देखिएको मन्त्रालयले जनाएको छ । विदेशी लगानीमा उत्साहजनक वृद्धि भएको र पर्यटक आगमनमा समेत सुधार देखिएको विश्लेषण गरिएको छ ।

बैंकिङ सेवाको पहुँच दू्रत गतिले बढ्दै गएको भन्दै अर्थ मन्त्रालयले बीमा प्रिमियम संकलन समेत वृद्धि भएको जनाएको छ । विद्यूत उत्पादन, आपूर्ति र उपभोग बढेकोजस्ता कारणले मुलुकभित्र आर्थिक क्रियाकलाप बिस्तार भएको र त्यसले अर्थतन्त्र स्थिरतातर्फ उन्मुख भएको विश्लेषण मन्त्रालयको छ ।

भन्सार राजस्वमा कमी

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा आयात घट्दा त्यसले समग्र व्यापार घाटामा सुधार देखिएको छ । तर, त्यसको प्रभाव भने राजस्व संकलनमा देखिएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार भन्सार राजस्व अघिल्लो आवको तुलनामा १.९१ प्रतिशतले घटेको हो । आयात भएका वस्तुमा लाग्ने मूल्य अभिवृद्धि करसमेत ३.६९ प्रतिशतले घटेको छ । मन्त्रालयका अनुसार मंसिर २०७६ सम्म भन्सार महशुल ६५ अर्ब ५७ अर्ब उठ्यो । जबकी अघिल्लो आवको ५ महिनामा ६६ अर्ब ८५ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो ।

यस वर्ष सरकारले २ खर्ब १३ अर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य राखेको छ । आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र आयकरमा भएको सुधारले समग्र राजस्व संकलनमा भने अघिल्लो वर्षको तुलनामा ३.७१ प्रतिशत वृद्धि देखिएको छ ।

करको दायरा बिस्तार

चालु आवको बजेटमा उल्लेख भएअनुसार करको दायरा बिस्तारमा उल्लेख्य प्रगति देखिएको छ । स्थायी लेखा नम्बर अनिवार्य गरेपछि आर्थिक वर्षको सुरुवातमा २१ लाख ७२ हजार २ सय स्थायी लेखा नम्बर जारी भएकोमा ५ महिनापछि यस्तो संख्या ३० लाख ६१ हजार ७ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ महिनामा मात्र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ७ लाख ५२ हजार ३ सय ६४ ले वृद्धि भएको छ । यसले आयकर संकलनमा पनि सुधार देखिएको छ ।

सरकारले यस वर्ष कूल २ खर्ब ८० करोड रुपैयाँ आयकर संलकनको लक्ष्य राखेको छ । त्यसमध्ये ५ महिनामा ५४ अर्ब ७६ करोड रुपैयाँ आयकर संकलन भएको छ जुन अघिल्लो आवको तुलनामा ३१.३२ प्रतिशत बढी हो । अघिल्लो आवको पहिलो ५ महिनामा ४१ अर्ब ७० करोड रुपैयाँ आयकर संकलन भएको थियो ।

वैदेशिक ऋण र अनुदान बढ्यो

५ महिनाको अवधिमा सरकारले लिनउे वैदेशिक ऋण र अनुदान बढेको छ । मन्त्रालयका अनुसार यस वर्ष ५ महिनामा कूल १२ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भयो ।

यो गत वर्षको समिक्षा अवधिको तुलनामा १७८.९ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँ मात्र वैदेशिक अनुदान आएको थियो । वैदेशिक ऋणतर्फ ५ महिनामा २७ अर्ब ९० करोड प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा १०४.५ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा १३ अर्ब ६५ करोड रुपैयाँ मात्र आर्थिक वृद्धि भएको थियो ।

निकासीमा पाम आयलकै वर्चश्व

यस वर्ष आयात घटेको छ भने निर्यात बढेको छ । निर्यातमा सबैभन्दा ठूलो हिस्सा प्रशोधित पाम आयलको छ । यसको निर्यातमा धेरै भर गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् ।

तथ्यांक अनुसार यस वर्ष ५ महिनामै ११ अर्ब ५२ करोड बराबरको पाम आयल निर्यात भयो । अघिल्लो आवको ५ महिनामा १ अर्ब ३४ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो ।

पाम आयलबाहेक सेन्थेटिक यार्न, उनी गलैचा, तयारी कपडा, भट्टमासको तेलजस्ता वस्तु निकासी बढी भएको तथ्यांक छ । आयातमा भने डिजेल, एमएस विलेट, पेट्रोल, एचआरसीटजस्ता वस्तुको हिस्सा उल्लेख्य छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने, स्वदेशमा नै औद्योगिक कच्चा पदार्थको उत्पादन बढाउन लिएका नीतिले आयात प्रतिस्थापनमा योगदान गरेको हो । सिमेन्ट र क्लिङकरको आन्तरिक उत्पादनमा भएको वृद्धिले ती वस्तुको आयात घटेको अर्थ मन्त्रालयको भनाई छ ।

५ महिनाको अर्थतन्त्रका मूख्य परिसूचक

कूल सरकारी खर्च : २ खर्ब ९८ अर्ब ९५ करोड

चालु खर्च : २ खर्ब ४६ अर्ब ९२ करोड

पूँजिगत खर्च : ३७ अर्ब ४८ करोड

राजस्व संकलन : ३ खर्ब १८ अर्ब ६२ करोड

व्यापार घाटा : ५ खर्ब ३३ अर्ब ६४ करोड

कम्पनी दर्ता : ११ हजार २६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment