Comments Add Comment

कालापत्थरमा ४५ मिनेट फेसन शो

२३ पुस, काठमाडौं । जलवायु परिवर्तनको प्रभाव र संसारभर नेपालको प्राकृतिक सुन्दरता प्रदर्शन गर्ने उद्देश्यले सगरमाथा क्षेत्रमा फेसन शो आयोजना हुने भएको छ ।

गिनिज बुक अफ रेकर्डमा समेत दर्ता गर्ने उद्देश्यले संसारकै सर्वाधिक उचाइमा फेसन शो आयोजना गर्न लागिएको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

आरबी डायमन र कासाले आयोजना गर्ने यो कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले समेत सहयोग गर्दैछन् । कार्यक्रम आगामी २६ जनवरी का दिन हुनेछ । कालापत्थरको ५६४४ मिटर उचाइमा ४५ मिनेटसम्म चल्ने फेसन शोमा इटालीको मिलानबाट आएका १५ जना मोडल र ५ जना नेपाली मोडलले भाग लिने भएका छन् ।

इटालीको मिलान फेसन शोका लागि संसारभर चर्चित शहर हो । यस कार्यक्रमले भ्रमण वर्षमा नेपाल प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ । यस कार्यक्रमलाई ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ नाम दिइएको छ ।

फेसन शोमा नेपालमा पश्मिनाबाट बनेका सक्कली कपडाहरुको प्रदर्शनीसमेत गरिने भएको छ । आयोजक कासा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय डिजाइनमा उतपादन गर्ने नेपाली ब्राण्डसमेत हो । संसारमा प्रदुषणको एक कारक फेसन उद्योगसमेत मानिन्छ ।

खासगरी कमसल खालका सामान र प्लाष्टिकको अधिक प्रयोगले प्रदुषण बढाइरहेको हुन्छ । यस कार्यक्रमले सक्कली नेपाली उत्पादनको विश्वव्यापी प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको भनाइ छ ।

यस इभेन्टका दौरान ‘म्यूजिक टेलिभिजन’ले ‘मोडल्स जर्नी टू कालापत्थर’ नामक टेलिभिजन शो समेत निर्माण गरी विश्वव्यापी प्रदर्शन गर्ने भएको छ । यसले नेपालको सुन्दरतालाई संसारभर देखाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले उल्लेख गरेको छ । सहभागी मोडलहरुलाई हेलिकप्टरबाट कालापत्थरसम्म लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment