
२४ पुस, काठमाडौं । इरानले इराकस्थित अमेरिकी सैनिक अखडामा गरेको आक्रमण आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक, राजनीतिक, आर्थिक, सामाजिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समाचारको रूप दिएर छापेका छन् ।
भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो ।
पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो । यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको थियो । यसले नेपालको व्यापार घाटा कम गर्न मुख्य भूमिका खेल्दै आइरहेको थियो ।
अन्नपूर्णका अनुसार, चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ । कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो ।
गौतम निवासमा प्यानल जमघट
सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओलीइतरका नेताहरूको गोप्य जमघट भएको छ ।
अन्नपूर्णका अनुसार नेकपाभित्र अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच सहमति जुट्न सकस भइरहेका बेला भएको हो । बैठकमा प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए ।
अन्नपूर्ण लेख्छ– नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली र उनीपक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् ।
इराकस्थित अमेरिकी बेसक्याम्पमा इरानले गरेको आक्रमणको त्रासदीपूर्ण परिस्थिति झेलेका नेपालीको अनुभवबारे कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, त्यहाँ कार्यरत नेपालीले जमिनमुनि बंकरमा लुकेर ज्यान जोगाएको बताएका छन् ।
‘नागिरक अधिकार खोस्दै सरकार’ शीर्षकको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । आधा दर्जन विधेयकमा नागरिकको भेला हुन पाउने, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रताललगायत विषयका अधिकार कुण्ठित गर्ने प्रावधान राखेर सरकारले नागरिक अधिकारमाथि प्रहार गर्न खोजेको कान्तिपुर समाचारको सार छ ।
नागरिकले संयुक्त राजय अमेरिका र इरानबीच द्वद्ध बढ्दा मध्यपूर्वमा काम गरिरहेका करि १० लाख नेपाली असुरक्षित देखिएको समाचार छापेको छ ।
वैदेशिक रोजगारीमा गएका २५ लाख नेपालीमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्रतिस्पर्धा नगर्राइ जीटूजीका माध्यमबाट अर्बौं रुपैयाँ पर्ने सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरीद गर्ने तयारी गरेको अर्को खबर पनि नागरिकमा पढ्न सकिन्छ ।
प्रतिक्रिया 4