Comments Add Comment

एउटा निडर सामाजिक योद्धा जन्माउनु छ

केही समय पहिले लेखिएको मेरो ‘नजन्मिएकी छोरीको सवाल’ मा समाजमा घटेका सत्य घटनाहरुलाई भावनात्मक रुपमा उजागर गर्न उभ्याइएकी एउटी काल्पनिक पात्र मात्र थिई ऊ । हाम्रो विघटोन्मुख सामाजिक मान्यताका सामाजिक तत्वहरु र तिनका अपाच्य व्यवहारहरु देखेर छोरी भ्रुणहरुको मनोदशाको चित्रण मात्र थिई ऊ । तर, पनि सपना भनी प्रस्तुत गरिएको मेरो आफ्नै कल्पनाले मलाई नै कयौं दिनसम्म झस्काइरह्यो । उसका चिन्ता, भय र सम्भावित सन्त्रासहरुले मलाई विथोली रह्यो, गिजोली रह्यो ।

उक्त लेखमा प्रस्तुत गरिएकी भ्रुण पात्रका सवालहरु गलत थिएनन् । उसले सुने, देखेको समाज पनि सत्य थियो । समाजमा घटेका घटना पनि सहि थिए । जसको कारण उसको मनमा उब्जिएको भय र सन्त्रास र आफ्नो सुरक्षाप्रतिको चिन्ता पनि जायज थिए । तर, पनि उसको निर्णय गलत थियो । समाजसँग जुध्न नसक्ने उसको भावना कमजोर रह्यो । समस्यासँग भागेर हिँडेको उसको उपस्थिति फिक्का रह्यो । परिवार, समाज, संस्कार, कानुन र राज्यसँग लड्न नसक्ने उसको हिम्मत कमजोर भयो । आमा, परिवार, समाज, संस्कार, कानून र राज्यका सकारात्मक पक्षहरुलाई देख्न र विश्वास गर्न नसकी जीवनको मीठो अनुभूति संगाल्ने अवसरहरुलाई गलहत्याउनु उसको गल्ती भयो । आमाको सपना र विश्वासलाई लत्याउनु भुल भयो । मलाई आफ्नै कल्पनाका यस्तै सवालहरुले कयौं दिनसम्म पछ्याई रह्यो ।

साच्चै सबै छोरी भ्रुणहरु र जन्मिएका छोरीहरुले यसरी नै सबै पुरुष नातासम्बन्धको विश्वास नगर्ने हो भने परिवार, समाज, राज्य कहाँ रहन्छ होला र ? पारिवारिक, सामाजिक मूल्यमान्यताहरुले बाँधेको हाम्रा आपसी सम्बन्धहरु कसरी मजबुत रहन्छन् होला र ?

बाबुको खोलभित्रका एकाध राक्षसी बाबुहरुसँग सन्तानको खुशीमा आफ्नो सुख देख्ने तमाम बाबुहरुलाई कसरी दाँज्न सकिन्छ र? सन्तानको सपना पुरा हुँदा आफ्नो सपना पुरा भएको ठानेर दङ्ग पर्ने बाबुहरुलाई कसरी शंका गर्न सकिन्छ छ र ? यतिखेर म आफ्नै बाबुलाई सम्झँदै छु, जसले आफ्ना आवश्यकता, रहर र सपनाहरुलाई थाती राखेर सँधै छोराछोरीका आवश्यकता, रहर र सपनाहरुलाई हरतरहले पुरा गर्ने कोसिस गर्नुभयो ।

बुबा सधैँ हामीलाई सपना देखाउनु हुन्थ्यो । त्यही सपना देख्ने बनाउन शहर घुमाउन लैजानु हुन्थ्यो । कहिले पहाडका उकाली चढाउनु हुन्थ्यो, ओरालीबाट झर्न सिकाउनुहुन्थ्यो । कहिले जोगवनीको रेल चढाउन त कहिले बिराटनगरका फ्याक्ट्रीहरु देखाउन लैजानुहुन्थ्यो र अरुसगँ भन्नु हुन्थ्यो ‘छोराछोरीलाई देखाउनुपर्छ, यिनीहरुले देखेर त हो सिक्ने’ ।

हो हामीले शहर देख्यौँ, रेल देख्यौँ, फ्याक्ट्री देख्यौँ, विकास देख्यौँ र त सपना देख्यौँ । त्यही सपनाले डोर्‍यायो आफ्नो जीवन लक्ष्यमा अघि बढ्न । त्यही सपनाले हिम्मत बढायो आफ्नो गन्तव्य पहिचान गर्न ।

हाम्रा कयौँ दाजुभाईहरुको दिदीबहिनीहरुप्रतिको सम्मान र मायालाई अविश्वास गर्न कसरी सकिन्छ र ? नेपाली समाजमा मनाइने चेली र माइतीको सम्बन्धलाई प्रगाढ बनाउने तीज र तिहारको यति महत्व अहिले सम्म कसरी रहन सक्थ्यो होला र, यदि सबै दाजुभाइले आफ्ना चेलीबेटीलाई माया र सम्मान नगरेको भए ? यतिखेर म आफ्नै भाइलाई सम्झँदै छु, जोसँग बालापनमा सगँसगै खाने, खेल्ने मात्र हैन सगँसगैँ सपना पनि देख्थ्यौँ हामी । जसले भाइ भएर दिदीप्रति गर्नुपर्ने सबै कर्तव्य पुरा गरेको छ ।

कुनै पनि छोरीचेलीको हुर्काइबढाइमा आफन्तीहरुको पनि त उत्तिकै योगदान हुन्छ । चाडबाड, धर्मसंस्कारहरुले उनीहरुको चौतर्फी विकासमा उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आफन्त, नातागोताका अग्रजका संस्कार र व्यवहारबाट पनि बालबालिकाहरुले धारण निर्माण गर्ने, भविष्यको बारेमा बुझ्ने र लक्ष्य निर्धारण गर्ने हुन्छन् । म यतिखेर मेरा सहयोगी र भरोषायोग्य आफन्तहरुलाई सम्झँदैछु, जसले सधैँ मलाई माया, मेरो इमानदारीतामा विश्वास र मेरो लक्ष्यमा भरोषा गर्थे । अनि एकाध खराब प्रवृत्तिहरुसँग सारा आफन्तहरुलाई कसरी दाँज्न सकिन्छ र ?

मानिसको धारणा विकास गर्न, चरित्र निर्माण गर्न र लक्ष्य निर्धारण गर्न समाजले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यतिखेर म जन्मेको, हुर्केको र पढेको समाज सम्झदैँछु, जो शिक्षित थियो । तर, त्यो भन्दा बढी चेतनशील थियो । राजनैतिक चेतना र गतिविधिहरु देखेर, प्रत्यक्ष अप्रत्यक्ष भोगेर यो सिकियो कि पढ्नुपर्छ, केही गर्नुपर्छ र केही बन्नुपर्छ । सायद यही राजनैतिक र सामाजिक चेतनाले जीवनमार्ग पहिचान गर्न सहयोग गर्‍यो । अनि समाज छोरीहरुको लागि असुरक्षित छ भनेर ठोकुवा गर्न कसरी सकिन्छ र ? केही खराब नियतिहरुलाई सम्झेर समग्र समाजप्रति लाञ्छना लगाउन कसरी सकिन्छ र ?

विद्यालय, विश्वविद्यालय र कार्यालयका हरेक गतिविधिहरुबाट हामीले केही न केही सिकिरहेकै हुन्छौं । हाम्रो ज्ञान बढाउन, ज्ञान बाँड्न र अनुभव आदन–प्रदान गर्न यी संस्थाहरुको देनलाई कसैले एकाध शिक्षक, प्राध्यापक र अग्रज–समकक्षीहरुको अपाच्य व्यवहारको आधारमा समग्र संस्था र सम्बन्धीत व्यक्तित्वहरुलाई अविश्वास गर्न कसरी सकिन्छ र ?

शिक्षा, स्वास्थ्य, रोजगारी, राजनैतिक पहुँचजस्ता आधारमा महिला सशक्तिकरणको लागि लगानी, अवसर र पहुँचको सिर्जना गर्ने सरकार र राज्यप्रति पनि कसरी आशा मार्न सकिन्छ र ?

असुरक्षा छोरीहरुको मात्रै हैन, गरिबहरुको पनि उत्तिकै छ । भोकाहरुको खानामा सुरक्षा छैन यहाँ, नाङ्गाहरुको एकसरो लाज ढाक्ने लुगाको सुरक्षा छैन यहाँ । लिंगीय खाडलभन्दा ठूलो वर्गीय खाडल छ । जातीय खाडलले पनि मानिसहरु पिल्सीरहेकै छन् । राज्य संचालनमा हिस्सा नपाएकोमा रुष्ट छन् कोही, कोही राज्य व्यवस्थाले पछाडि पारेकोमा असन्तुष्ट छन् । क्षेत्रीय विभेदका रापमा छन् कोही, कोही राजनैतिक विभेदको मारमा परेका छन् । हो, हामीले यीनै असुरक्षाबाट सुरक्षा खोज्ने हो, यिनै विभेदबाट समानतामा पुग्ने हो । यहाँ हामी आफ्नैसँग लड्नुछ, हरेक पाइलामा लड्नु छ, आफ्नो सुरक्षाका लागि, अधिकारको लागि, समान अवसरको लागि, आत्मसम्मनको लागि ।

हो, मलाई अब यिनै असुरक्षाहरुको विरुद्धमा, यिनै विभेदहरुको विरुद्धमा लड्न सक्ने एउटा निडर सामाजिक योद्धा जन्माउनु छ । परिवारलाई परिस्थितिअनुरुप विश्वास, शंका र प्रश्न गर्न सक्ने छोरी जन्माउनु छ । समाज र संस्कारका गलत प्रवृत्तिहरुलाई औंला ठड्याउन सक्ने, राज्यका विभेदकारी व्यवस्था र कानुनका गलत व्याख्याहरुको विरुद्धमा बोल्न सक्ने छोरी जन्माउनु छ । अन्यायको विरुद्धमा बोल्न सक्ने, न्यायको पक्षमा खुल्न सक्ने छोरी जन्माउनु छ । जसको लागि मैले उसलाई गर्भावस्थादेखि नै संविधानका धारा र मुलुकी संहिताका दफ।हरु पढाउनु छ । राज्य व्यवस्थाले गरेका विभेदहरु देखाइदिनु छ । समाजका संस्कार र कुसंस्कारबीचको फरक छुट्याइदिनु छ । परिवार र समाजमा छोरीका लागि मात्र बनाइएका फरक मान्यताहरुको बारेमा जानकार बनाउनु छ ।

उसले छोरी भएकैमा भ्रुण हत्या गर्ने र गर्न बाध्य बनाउने आमा, बाबु, परिवार र समाजलाई फेरी कहिल्यै छोरी भ्रुणको हत्या गर्ने सोच्न पनि नसक्ने बनाउन सकोस् । बाल्यकालमा उसका कलिला अंगहरुमा मायाभाव दर्शाएर सुम्सुम्याउने परिवार र समाजका कुण्ठित आत्माहरुको हात कुण्ठित गर्न सकोस् । किशोरयवमा उसको शारीरिक परिवर्तनलाई देखेर गिद्धे नजर लाउनेहरुको नजर झुकाईदिन सकोस् । सामाजिक संस्कारले बनाएका महिला रजस्वला हुँदा र विवाहपछिका नीति नियमहरुलाई समयसँगै बदल्न सकोस् । परिवार, शिक्षालय, कार्यालय र समग्र समाजमा लिंगीय विभेद्ध अन्त्य गरी समानता कायम गर्ने कार्यमा एउटा कोशेढुंगा सावित हुन सकोस् ।

सपना देखोस् आफ्ना लागि । कर्म गरोस् अरुका लागि । सेवा गरोस् दु:खीहरुको । लडाईं लडोस् अन्यायको विरुद्ध । आवाज उठाओस् आवाजविहीनहरुको । हात समाओस् कर्मयोगीहरुको । उसको विचार र दृढ संकल्पले समाज बदल्ने हिम्मत गरोस् । उसको आवाजले संसार बदल्ने ताकत राखोस् । उसको जन्म इतिहास बनोस्, उसको कर्म सँधै वर्तमानमा बाँचिरहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment