+
+

नेपालमा चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु !

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १३:५२
फाइल तस्वीर ।

२५ पुस, काठमाडौं । नेपालमा सबै खालका चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

बेलायती मेडिकल जर्नल ‘इन्जरी प्रिभेन्सन’ मा पहिलो पटक प्रकाशित नेपालमा चोटपटकको रोगभारसम्बन्धी अध्ययनले  सन् २०१७ मा सबै खालका चोटपटकका कारण नेपालमा १६ हजार ८ सय ३१ जनाको मृत्यु भएको देखाएको हो ।

जुन सन् १९९० को भन्दा ३ हजार ५ सय जनाले बढी हो ।

बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्ड र अमेरिकाको वाशिङ्गटन युनिभर्सिटिका अनुसन्धानकर्ताहरूले गरेको उक्त अध्ययनअनुसार नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुने १५ देखि ४९ वर्षका मानिसको संख्या भन्दा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या ९ प्रतिशतले बढी छ ।

उक्त अध्यनका अनुसार एक वर्षमा यातायातसम्बन्धी दुर्घटनाबाट ७ हजार ५ सय २४, मनसायविना हुने चोटपटकको कारणबाट ६ हजार ४ सय ६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट २ हजार ८ सय ४२ जनाको मृत्यु हुने गरेको छ ।

त्यसैगरी नेपालको प्रति एक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६.३१ रहेको छ,  पुरुषहरुमा त यो दर ७६ रहेको अध्ययनले देखाएको छ ।

उक्त अध्यनले दुर्घटनामा सबैभन्दा बढी पैदलयात्री ४८ प्रतिशत, चारपाङ्ग्रे मोटरवाहन प्रयोगकर्ता १८ प्रतिशत, मोटरसाइकल प्रयोगकर्ता १७ प्रतिशत, साइकल प्रयोगकर्ता १० प्रतिशत र अन्य ११ प्रतिशत रहेका छन् ।

नेपाल प्रहरीको तथ्याकंमा २०१७ मा १० हजार ९ सय ६५ सडक दुर्घटनामा भएको देखिन्छ । ती दुर्घटनाबाट २ हजार ५ सय ४१ जनाको मृत्यु र १२ हजार ३ सय ९१ जना घाइते भएको उल्लेख छ ।

अध्ययनको सारांशबारे बताउँदै युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्डका शोधकर्ता डा. पुष्पराज पन्तले चोटपटकबाट हुने स्वास्थ्य समस्यालार्इ तत्काल सम्बोधन गर्नुपर्ने धारणा राखे ।

उक्त अध्ययन टोलीमा अमेरिकाको वासिङ्टन विश्वविद्यालय र इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसनका चोटपटक अनुसन्धान प्रमुख डा. स्पेन्सर जेम्स लगायत ब्रिष्टल स्थित वेष्ट अफ इङ्ल्याण्ड विश्वविद्यालयका प्रा. जुली मिटन, डा. सन्तोष भट्ट र अमृत बाँस्तोला तथा नेपालमा रहेका ८ जना विश्वव्यापी रोगभार अध्ययनका सहकर्ताहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?