Comments Add Comment

प्रदेश ३ ले दुई दिनपछि स्थायी राजधानी पाउँछ : मुख्यमन्त्री पौडेल   

२५ पुस, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन् । उद्योग संघ मकवानपुरद्वारा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए ।

मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नं ३ सरकार लागिरहेको बताए । उनले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताए । “हाम्रो प्रदेशको समृद्धिको आधार के के हुनसक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौ”, मन्त्री नेपालले भने । उनले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राखे । बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै उनले प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment