Comments Add Comment

सिभिल सहकारीको निक्षेपमा इच्छाराजको मनपरी !

२७ पुस, काठमाडौं । सहकारी भन्नाले सहकार्य, सामूहिक कार्य वा सँगसँगै गरिने काम भन्ने साधारण अर्थ दिन्छ । यसरी मिल्तिमा काम गरेर आर्थिक हैसियत उकास्न गरिने सामुहिक प्रयासलाई सहकारी भनिन्छ । तर केहि सहकारीले यो अवधारणा र विद्यमान कानूनको बेवास्ता गर्दा समग्र सहकारी क्षेत्र बद्नाम हुने खतरा देखिएको छ ।

यसको पछिल्लो उदाहरण बनेको छ– काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्था ।

केशवलाल श्रेष्ठ अध्यक्ष रहेको यो सहकारीको हर्ताकर्ता इच्छाराज तामाङ हुन् । ०६४ सालमा तत्कालीन नेपाल एमालेबाट समानुपातिक सभाषद् बनेका तामाङकै कम्पनीहरुमा सहकारीको अधिकांश कर्जा लगानी भएको छ ।

सहकारीको सल्लाहकार समिति प्रमुख रहेका तामाङले प्रमुख कार्यकारीको हैसियतमा संस्था चलाएको सेयर सदस्यहरु बताउँछन् । यो सहकारीमा मौलाएको बेथितिबारे नियमनकारी निकाय सहकारी विभागमा उजुरी समेत गरेका सेयर सदस्यहरु सल्लाहकार समित प्रमुख कै कारण संस्था डुब्न लागेको बताउँछन् ।

उनीहरुकाअनुसार सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा ‘इच्छाराजको राज’ छ । सहकारीमा जम्मा भएको सर्वसाधारणको सात अर्बभन्दा बढी निक्षेप इच्छाराजका कम्पनीहरुमा ऋण लगानी भएको सुरक्षाका लागि नाम उल्लेख गर्न नचाहने एक सेयर सदस्यले बताए । ‘जनतालाई ब्याजको लोभ देखाएर जम्मा गरेको निक्षेपको ठूलो हिस्सा इच्छाराजले नै लिएका छन्’, ति सेयर सदस्य भन्छन्, ‘अब त सहकारीले कवुल गरेको ब्याज पाउने होइन, सावाँ नै डुब्ने अवस्था आउन लागेको छ ।’

संस्था नै डुब्ने खतरा देखेका केहि सेयर सदस्यले पहिलो पटक २२ माघ २०७५ मा सहकारी विभागमा उजुरी गरेका थिए । विभागका उपरजिष्टार शसीकुमार लम्साल उक्त सहकारी संस्थालाई सचेत गराउँदै सेयर फिर्ता लिन चाहने सदस्यलाई संस्थाको सम्पत्ति बिक्री गरेर भएपनि रकम दिन भनेको बताउँछन् ।

स्थानीय तह सञ्चालन ऐनले सहकारीको नियमन तथा सुपरीवेक्षण गर्ने अधिकार स्थानीय तहलाई दिएकाले सुरज तण्डुकार लगायतका सेयर सदस्यहरु नियमनको आग्रह गर्न एकवर्ष अघि काठमाडौं महानगरपालिका पनि पुगेका थिए । तर एक स्थानीय तहभन्दा बढी कार्यक्षेत्र भएका कारण यो सहकारीको नियमन महानगरको क्षेत्रधिकारभित्र नपरेकाले कारबाही अघि नबढाइएको महानगरको सहकारी विभागका उपनिर्देशक सुमन अधिकारीले जानकारी दिए ।

बैंकमा अयोग्य भएपछि सहकारीमा आँखा

सहकारीको अधिकांश कर्जा लगानी भएको इच्छाराज तामाङको कम्पनीहरु केहि वर्षहरुदेखि घाटामा छन् । घाटाको कम्पनीमा बैंकहरुले लगानी गर्दैनन् । बैंकहरुबाट कर्जा पाउन अयोग्य भएपछि इच्छाराजले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको दुरुपयोग गरेको संस्था सेयर सदस्यहरु बताउँछन् ।

उनीहरुकाअनुसार सहकारीका सल्लाहकार समिति प्रमुख रहेका तामाङले त्यतिधेरै कर्जा बापत कुनै धितो राखेका छैनन् । अच्चमको कुरा के छ भने, सहकारीको सात अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी भएको उनको सिभिल होम्सको नाममा अचल सम्पत्ति समेत छैन । सेयर सदस्यहरुले सहकारी विभागमा दिएको उजुरीमा ‘सिभिल होम्सको २०७५ असारसम्मको वासलात अनुसार सोहि वर्ष मात्र १.६७ अर्ब खुद नोक्सान र संचित नोक्सानी झण्डै ४ अर्ब ३० करोड देखिएको छ, कर्जा लगानी गर्दा सदस्यको हित हेरिएको छैन ।’

१९ करोड धितोमा अर्बौ लगानी

सहकारीले संस्थापक इच्छाराज तामाङका तिनवटा कम्पनीमा सात अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । त्यति धेरै रकमको कर्जा सुरक्षण भने जम्मा १९ करोड रुपैयाँको मात्रै छ । यसमा नियमनकारी निकायले कुनै ठोस कारबाही गरेको छैन ।

एक वर्ष अघि सेयर सदस्यहरुले निक्षेप असुरक्षित भएको भन्दै सहकारी विभागमा उजुरी गर्दा तामाङले आफ्नो नामका अन्य सम्पत्ति बेचेर निक्षेप फिर्ता दिने बताएको विभागका एक अधिकारी बताउँछन् । त्यसबेला इच्छाराजको कम्पनी सिभिल होम्सको नाममा अर्बौको अचल सम्पत्ति रहेको विश्वासमा सेयर सदश्यहरु निक्षेप डुब्दैन भन्नेमा आश्वस्त भएका थिए । तर सिभिल होम्सको अधिकांश सम्पत्ति बिक्री भइसकेको छ ।

तामाङको सुन्धारास्थित सिटिसी मलको पसल कवलहरु पनि बिक्रीयोग्य जति बिक्री भइसकेका छन् । कर्मचारी सञ्चय कोषबाट कर्जाका लागि धितो पारित भएका मात्र बाँकी छन् ।

वित्तीय संकटमा सिभिल ग्रुप !

इच्छाराज तामाङको कम्पनी सिभिल ग्रुप वित्तीय संकटमा छ । उनले धमाधम आफ्नो सम्पत्ति बिक्री गर्दा पनि वित्तीय संकट टार्न सकेका छैनन् ।

केहिअघि श्रीमती सिर्जना शाक्यसँग डिभोर्स गरेलगत्तै शाक्यको नाममा रहेको सिभिल बैंकको १७ लाख ५३ हजार कित्ता संस्थापक सेयर बिक्री गरिएको थियो । कर्मचारी सञ्चय कोषले प्रतिकित्ता १०० रुपैयाँमा किनेको सेयरको मुल्य १७ करोड ५३ लाख रुपैयाँ थियो । इच्छाराज र सिर्जनाको डिभोर्सलाई ‘नक्कली’ भन्नेहरु पनि थिए । इच्छाराजले अन्य सम्पत्ति पनि बिक्री गरेका छन् ।

उनले गत बिहीबारमात्रै परिवारका अन्य सदस्यको नाममा रहेको २० लाख १८ हजार ६६१ कित्ता सेयर प्रतिकित्ता १०० को दरले बेचेका छन् । यसरी सम्पत्ति बिक्री गरिहरनुले तामाङको सिभिल ग्रुप वित्तीय संकटमा छ भन्ने देखाउँछ ।

अनलाइनखबरकर्मी सोल्टिमोडस्थित सिभिल सहकारीको कार्यालय पुग्दा कर्मचारीहरु अन्योलमा थिए । केहि सेयर सदस्यहरुले निक्षेप फिर्ता नपाएको भन्दै गरेको उजुरीसम्बन्धी समाचार प्रकाशन भएकोमा आक्रोश व्यक्त गरे । त्यो समाचारको कारण नयाँ निक्षेप लिने संस्थाको योजनामा पानी खन्याई दिएको उनीहरुले बताए ।

सहकारीले नयाँ निक्षेपकर्तालाई लक्की ड्रमार्फत काठमाडौंमा सुविधा सम्पन्न अपार्टमेन्टदेखि विभिन्न उपहार दिने योजना ल्याएको थियो । एक महिला कर्मचारीले नयाँ निक्षेप नआएपछि निक्षेप फिर्ता लिन चाहनेहरुको रकम पनि फिर्ता हुन गाह्रो पर्ने बताइन् । संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठ अमेरिकामा रहेको उनले बताइन् । सल्लाहकार समिति प्रमुख तामाङ सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment