
२७ पुस, विराटनगर । पूर्वी सीमावर्ती क्षेत्र मीरगञ्ज पुल मर्मतका लागि भन्दै सवारी आवागमन रोकेको भारतीय पक्षले अति आवश्यक इन्धन आयातमा वैकल्पिक सडक प्रयोग गर्न नदिएपछि अमलेखगञ्जबाट इन्धन लैजान लिएको छ ।
पुस २४ गतेदेखि पुलमा आवागमन बन्द गरेको भारतले इन्धन आयातका लागि रि–रुट गर्न नदिएपछि मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश १ मा ल्याएर वितरण गर्न थालिएको हो ।
पुल मर्मतका लागि पुस २४ गतेदेखि माघ ६ गतेसम्म आवागनम बन्द गर्ने निर्णय गरेको भारतीय पक्षले तेस्रो देशबाट भित्रिएका सवारीका लागि मात्र रि–रुट गर्ने अनुमति दिएको छ । भारतबाट कच्चा तथा तयारी पदार्थ लिएर आएका सवारी साधनहरुले माघ ६ पछि मात्रै अनुमति पाउने छन् ।
तेस्रो मुलुकबाट भित्रिएका सामाग्रीलाई भने वीरपुर-भाण्टाबारी नाकाबाट स्कर्टिङ गरी विराटनगरसम्म ल्याएर जाँचपास गरी गन्तब्यमा पठाइने भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीले बताए ।
विराटनगर नाका हुँदै भित्रने इन्धनका लागि रि–रुट नदिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले अमलेखगञ्ज डिपोबाट दैनिक इन्धन आयात गरिरहेको छ ।
आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवश बिष्टका अनुसार मोतिहारी अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश १ मा वितरण गर्न थालिएको हो । उनका अनुसार दैनिक ३०–३५ वटा ट्याङकरमा इन्धन आयात गरिरहेको छ । पुल बन्द हुन अघि अखलेखगञ्जबाट न्यून मात्रामा डिजेल ल्याउने गरिएको थियो । तर पुस २४ गते यता दैनिक ३५ ट्याङकरसम्म इन्धन आयात गरिरहेको विष्टले बताए ।
प्रादेशिक डिपोबाट प्रदेश १ र २ का १४ जिल्लामा इन्धन आपूर्ती गरिदै आएको छ । १४ जिल्लामा दैनिक आठलाख लिटरसम्म डिजले र तीनलाख लिटर पेट्रोलको माग छ ।
मीरगञ्जपुलमा धमाधम काम
पुस २४ गतेदेखि पुल बन्द गरेको भारतले मर्मतको काम अघि बढाएको छ । पुस २४ गते बिहीबारबाट पुलमा सवारी आवागमनमा रोकर मर्मतको काम अघि बढाएको हो । भारतले पुल बन्दको अग्रिम जानकारी गराएपछि करिब ६ सय मालबाहक सवारी साधन बिहीबार दिउँसोसम्म मिगरञ्जपुल पार गरेर बसेका थिए । पुल पार गरेर बसेका सवारीको जाँचपासका लागि मात्र ४ दिन लाग्ने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताए ।
मीरगञ्ज पुलबाट भित्रिसकेका सवारी साधनको जाँचपासपछि मात्र वैकल्पिक मार्ग वीरपुर–भाण्टाबारीबाट आउने सवारीको जाँचपास हुनेछ । पुल मर्मत थालेको भारतीय पक्षले तेस्रो मुलुकबाट भित्रिएका सामाग्रीलाई मात्र वीरपुर– भाण्टारी सडकबाट रि–रुट गरेर ल्याउने अनुमति दिएको भण्डारीले बताए ।
तेस्रो मुलुकबाट सामाग्री लिएर आएका सवारीलाई भाण्टाबारीबाट स्कर्टिङ गरेर ल्याउन भन्सार विभागले अनुमति दिएको भण्डारीले बताए ।
प्रतिक्रिया 4