Comments Add Comment

कक्षा ११ र १२ मा लागु हुने पाठ्यक्रमप्रति विज्ञहरुले जनाए आपत्ती

२९ पुस, काठमाडौं । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा लागु गरिने पाठ्य संरचना तथा पाठ्यक्रमप्रति गणित तथा विज्ञान विषयका विज्ञहरुले आपत्ती जनाएका छन् ।

सरकारले पाठ्य संरचनाको प्रारुप सार्वजनिक नगरी त्यसलाई राष्ट्रिय बहसमा समेत नल्याइ हचुवाको भरमा पाठ्यक्रम बनाइरहेको भन्दै गणित तथा विज्ञान विषयका विज्ञहरुले विरोध गरेका हुन् ।

गणित तथा विज्ञान विषयसँग सम्बन्धित संस्थाहरुको शनिबार बसेको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘निहित स्वार्थ परिपूर्तिका लागि विद्यार्थीलाई उत्तीर्ण मात्र गराउने उदेश्य राखेर गणित विषयको महत्वलाई बेवास्ता गरी प्रतिस्थापन गर्ने दिशातिर उन्मुख रहेको यथार्थ सरकारका विगतका क्रियाकलापबाट छर्लङ्ग भएको छ ।’

नेपाल गणित समाजका सभापति प्राडा चेतराज भट्ट, विज्ञान तथा प्रविधि अध्ययन संस्थान त्रिविका सहायक डीन डा खगेश्वर मण्डल, नेपाल माइक्रोबाइलोजी सोसाइटी तथा विभागीय प्रमुख डा मेघराज बन्जारा, स्कुल अफ म्याथम्याटिकल साइन्सका निर्देशक प्राडा नारायणप्रसाद पहाडी लगायतका विज्ञहरुले तत्काल पाठ्य संरचना सार्वजनिक गरी राष्ट्रिय बहसमा ल्याउने व्यवस्था गर्न, संविधानले प्रत्याभूत गरे अनुरुप प्रदेश सरकारलाई जिम्मेवारी दिन, अन्तर्राष्ट्रिय मान्यता अनुसार विद्यार्थीले छनौट गर्न पाउने विषयलाई कायम राख्न एवं अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा विद्यार्थीहरुले सहज रुपमा प्रवेश एवं प्रतिस्पर्धा गर्न पाउने पाठ्य संरचना बनाउन माग गरेका छन् ।

गणित विषयको अध्ययनबिना उत्पादित हुने जनशक्ति उच्च शिक्षा अध्ययनका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुले बताएका छन् । विज्ञहरुले भनेका छन्, ‘यस्ता जनशक्तिबाट राष्ट्र विकास एवं समृद्धिको परिकल्पना निर्थक हुनेछ । यसले राष्ट्रलाई दीर्घकालिन रुपमा अधोगति तिर उन्मुख गराउने स्पष्ट छ ।’

गणित विषयको सर्वव्यापी भूमिकालाई कमजोर तुल्याउने, विद्यार्थीले मौलिक रुपमा चयन गरी अध्ययन गर्न पाउने अधिकारलाई संकुचन गर्ने, क्याम्पसमा विज्ञान तथा प्रविधि आदि विषय अध्ययनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका शर्तहरुको कुनै वास्ता नगरी एक पक्षीय रुपमा अवैज्ञानिक पाठ्यक्रम बनाइ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा प्रवेश गर्न चाहने विद्यार्थीहरुको भविष्य प्रति खेलवाड गर्न खोजेको उनीहरुको ठहर छ ।

गणित विषय विज्ञान, मानविकी एवं अन्य अधिकांश प्राविधिक अध्ययन संकाय आदिको मेरुदण्डको रुपमा रहेको भन्दै विज्ञहरुले विद्यार्थीहरुको गणित विषय छनौट गर्न पाउने अन्तर्राष्ट्रिय प्रावधान हटाउँदा उत्पादित हुने जनशक्ति अत्यन्त दुर्बल एवं शैक्षिक अपाङ्ग हुने बताएका छन् ।

सरकारले विद्यार्थीहरुको गणित विषयमा उत्तीर्ण प्रतिशतलाई वृद्धि गर्ने उदेश्य सफल पार्न गणित विषयलाई सहज, सरल र व्यवहारिक गर्ने दिशामा पाठ्यक्रममा आवश्यक परिमार्जन गर्नका लागि सहयोग गर्न आफूहरु तयार रहेको विज्ञहरुले बताएका छन् ।

आफूहरुको माग प्रति सरकारले वेवास्ता गरी अवैज्ञानिक पाठ्य संरचनामा आधारित पाठ्यक्रम लागु गर्न खोजिए सरोकारवाला विद्यार्थी, अभिभावक एवं शिक्षक तथा प्राध्यापक आन्दोलित हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।

नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जीवन काफ्लेले विज्ञान तथा प्रविधlको युगमा गणित तथा विज्ञानका विषयहरुलाई महत्व दिनु पर्नेमा यस विपरीत देशका नीति निर्माणकर्ता उल्टो दिशामा जान लागेको बताए।

“गणित यस्तो विधा हो जुन सबै प्राकृतिक र सामाजिक विज्ञानमा प्रयोग हुन्छ । गणितको अध्ययन अध्यापनले विद्यार्थीको सीप, आत्मविश्वास, सिर्जनशिलता, गहिराइसम्म सोच्न सक्ने क्षमताको विकास हुन्छ । तसर्थ गणित विज्ञान तथा प्रविधिको आधार स्तम्भ हो” डा. काफ्लेले भने ।

गणित विषयमाथि नीति निर्माताको लगातार आक्रमण किन ?

कक्षा ११र १२ को पाठ्यक्रमको प्रारुप छलफल विगत २ वर्ष अगाडिबाट भइरहेको छ । पाठ्यक्रम विकास केन्द्र (सीडीसी)ले तयार गरिरहेका प्रारुप र पाठ्यक्रममा धेरै विवाद आएकोले विगतका वर्षहरुमा लागु हुन सकिरहेको छैन। अझ गणित विषयमा भइरहेको बहस पेचिलो भइरहेको छ ।

नेपाल गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जीवन काफ्लेका अनुसार प्रायोगिक गणित अनिवार्य गर्ने प्रारुपको ड्राफ्ट गराउने सीडीसीले अहिले गणित विषय विद्यार्थीले रोज्न चाहे पनि रोज्न नमिल्ने गरी प्रारुप तयार पारेको छ । विज्ञान तथा प्रविधिका मेरुदण्ड रहेको गणितप्रति नीति निर्माणकर्ताले अवज्ञा तथा आक्रमण गरिरहेको उनको भनाइ छ ।

अहिलेको प्रारुपको असर ?

हाल सञ्चालनमा रहेको प्रारुपमा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार वटा ऐच्छिक विषयहरु गरी जम्मा ५ वटा विषय र १२ कक्षामा अंग्रेजी र नेपाली अनिवार्य र ३ वटा ऐच्छिक गरी जम्मा ५ वटा विषयहरु पढ्छन् । तर अहिले सीडीसीले बनाएको प्रारुपमा ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन् तथा १२ कक्षामा अंग्रेजी, नेपाली र जीवन उपयोगी र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ विषया पढ्नेछन ।

यसरी विषयहरु ५ वटाबाट ६ वटा थपिए पनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पार्ने देखिन्छ। अन्य देशहरुमा कतै माध्यम भाषा बाहेक अरुलाई ऐच्छिक हुनु तथा कतै गणित तथा विज्ञानलाई अनिवार्य रुपमा सामेल गरिएको हुन्छ । ११ र १२ दुवैमा तीन-तीन वटा अनिवार्य विषय राखेर विद्यार्थीहरुको रुचीकर  विषयहरु पढ्नबाट वञ्चित गरेको देखिन्छ।

प्रारुपमा गणित ओझेलमा हुँदाका समस्या ?

अहिले सीडीसीले ल्याउन खोजेको प्रारुपमा विज्ञान विषयहरु बायोलोजी, फिजिक्स र केमिस्ट्री पढ्ने विद्यार्थीहरुले चाहेर पनि गणित विषय पढ्न पाउने छैनन् । तर नन् क्रेडिटमा सातौँ विषयको रुपमा पढ्न पाउँछन् । विद्यार्थीका कम रुची भएका विषयहरु ११ र १२ मा अनिवार्य गर्ने तर धेरैको रुची र विज्ञान तथा प्रविधिको जगलाई नन् क्रेडिटमा पढ्न वाध्य बनाउने यो कस्तो प्रारुप हो भनेर काफ्लेले प्रतिप्रश्न गरेका छन् ।

विश्व विद्यालयमा १०० पुर्णाङ्कको गणित पढेर बायोलोजी पढ्ने धेरै विद्यार्थी पढिरहेका छन्। त्यस्तै फरेस्ट्री, कृषि, पढ्न पनि १०० पुर्णाङ्कको गणित पढ्नै पर्छ। यसरी विश्व विद्यालयमा अध्ययनका लागि शर्तहरुको कुनै वास्ता नगरी एक पक्षीय रुपमा पाठ्यक्रम बनाइ विश्वविद्यालय प्रवेश गर्ने विद्यार्थीहरुको भविष्यप्रति खेलवाड गरेको उनले बताए।

यसैगरी गणित र व्यवसायिक गणितलाई एउटै समूहमा राखी यस भन्दा अगाडि भइरहेको प्रारुपमा दुवै गणित विद्यार्थीले चाहेमा पढ्न पाउने व्यवस्थाबाट म्यानेज्मेन्ट पढ्ने विद्यार्थी वञ्चित हुने उनले बताए ।  जसले गर्दा यस विधाका विद्यार्थीलाई पछि सीए, बीबीए र आईटी पढ्न समस्या हुने उनको भनाइ छ ।

अध्ययनपछि जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र आइक्यू विधा समावेश गरिने तर ११ र १२ को प्रारुपमा गणितलाई महत्व नदिने कार्य उचित नभएको उनले बताए ।

विदेश अध्ययन गर्नका लागि जुन सुकै निकायको विद्यार्थीहरुले दिने एप्चिच्युट टेस्ट जस्तै जिआरई, स्याट, जिम्याटहरुमा पनि अत्याधिक रुपमा गणितका प्रश्नहरु समावेश गरिने काफ्ले बताए ।

हालसालै त्रिविको इन्जिनियरिङ्ग अध्ययन संस्थान आइओइमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० बनाएको छ। यसले हामीलाई के दर्शाउछ भने गणितको महत्व इन्जिनियरिङ्ग पढ्ने विद्यार्थीलाई कति ? आरआर क्याम्पसमा बीसीए तहमा गणित विषय अध्यापन गरी रहेका डा. पुष्करराज पोखरेलका अनुसार ११ र १२ मा गणित पूर्वाधार नभएका विद्यार्थीलाई यस तहमा अध्ययन अध्यापन गर्न निकै कठिन भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment