
नायिका रेनशा वान्तवा राइको जन्मदिनमा नायिका रेखा थापाले चलचित्र निर्माणको घोषणा गरिन् । रेनशालाई निर्देशकको रुपमा लिदै रेखाले नयाँ चलचित्रको घोषणा गरेकी थिइन् । नेपाली मिडियामा समेत यो समाचारले राम्रै स्थान पाएको थियो । तर, रेखा थापा र रेनशाको यो टिमअप अहिले रोकिएको छ ।
अझ, नायिका रेखा थापाले दयाहाङ राई र सौगात मल्ललाई मुख्य भूमिकामा लिएर नयाँ चलचित्र निर्माणको घोषणा गरेसँगै रेखा र रेनशाको टिमअप अब नहुने चर्चा समेत चलचित्र बजारमा चल्न थालेको छ ।
हुनत, रेखा र रेनशाले यो चलचित्र बन्छ या बन्दैन, कुनै जानकारी दिएका छैनन् । रेनशा आफ्नै होम प्रोजेक्टको चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशनको तयारीमा छिन् । धिरज मगर र जसिता गुरुङ यो चलचित्रको मुख्य कलाकार हुन् ।
रेखाले भने नयाँ चलचित्रमा आफ्ना प्रिय निर्देशक सविर श्रेष्ठलाई चलचित्र निर्देशनको जिम्मेवारी दिएकी छिन् । उसो त, रेखाले निर्माण गर्ने भनिएका थुप्रै चलचित्र घोषणामै सिमित छन् । निरन्तर बक्स अफिसमा चलचित्र असफल हुँदा ‘रेखा यूग’ सकिएको टिप्पणी समेत चलचित्र बजारमा हुने गरेको छ । यसैले पनि रेखालाई एउटा हिट चलचित्र आवश्यक छ ।
पछिल्ला रिलिज ‘रुद्रप्रिया, मालिका’ बक्स अफिसमा असफल भएपछि रेखा यतिबेला हिटको खोजीमा छिन् । दया र सौगातसँगको टिमअप उनका लागि कतीको फलदायी होला, समयले नै बताउनेछ ।
प्रतिक्रिया 4