Comments Add Comment

‘आफ्नै लापरवाहीले बलिउडमा प्रवेश गर्न सकिनँ’: विराज भट्ट

नायक विराज भट्टले चलचित्र क्षेत्रमा लागेर राम्रै नाम र दाम कमाए । नेपाली चलचित्रमा चलिरहँदा उनी भोजपुरी चलचित्रमा व्यस्त बने । यसपछि भने नेपाली दर्शकले विराज भट्टलाई विस्तारै विर्सन थाले । विराजले कमब्याक गरेको चलचित्र ‘जय परशुराम’ बक्स अफिसमा चिप्लनु पनि यसको एउटा उदाहरण हो ।

अरु, निर्देशकले नै निर्देशन गरेको चलचित्रमा काम गरेर सन्तुष्ट नबनेका विराज अहिले आफै चलचित्र ‘साङ्लो’ निर्देशन गरेर दर्शकलाई फरक स्वाद पस्कने तयारीमा छन् । उनी अभिनित चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ । उनै, विराजसँग अनलाइनखबरकर्मी भानुभक्त आचार्यले कुराकानी गरेका छन्ः

जोरायल गाउँपालिकाले १० लाख रुपैयाँ दिएर तपाईँले ‘साङ्लो’ बनाउनु भएको भन्ने आरोप छ । स्थानीय तहसँग पैसा मागेर यो चलचित्र बनाउनु भएको हो ?
सर्वप्रथम त तपाई के बुझ्नुहोस् भने, यो चलचित्रको बजेट दुई करोड रुपैयाँ हो । कुनै गाउँपालिकाबाट यदि आठ–दश लाख रुपैयाँ सहयोग आउँछ भने, त्यसले एउटा पूर्ण चलचित्र बन्दैन । त्यसले त आजको मितिमा एउटा म्युजिक भिडियो पनि तयार हुँदैन । अर्को कुरा, गाउँपलिका भनेको पनि सरकार हो । सरकारले नेपाली सिने क्षेत्रलाई कुनै रूपले सहयोग गर्छ भने त्यो त राम्रो कुरा हो । गर्नु पनि पर्छ ।

पहिलो पटक आफैले बनाएको चलचित्रबाट कस्तो छ अपेक्षा?
अपेक्षा दर्शकहरूले बढाइदिनु भएको छ । मैले त राम्रो चलचित्र बनाउने प्रयास मात्रै गरेको थिएँ । तर, दर्शकहरू निकै उत्साहित देखिनु भएको छ । त्यसकारण म पनि बढी नै आशावादी भएको छु ।

भोजपुरीमा काम गरिरहँदा ठूलो बजारमा काम गरिरहेको जस्तो लागेको थियो होला । अहिले आफै ठूलो लगानीमा चलचित्र बनाउनु भएको छ । तपाई महत्वकाक्षी बन्नु भएको त होइन ?
हेर्नुहोस् आज चलचित्र ‘साङ्लो’को जुन टे«लर आएको छ नि, यसको चर्चा बलिउडमा पनि भैरहेको छ । मेरो धेरै कलाकार साथीहरू छन् त्यहाँ । यो चलचित्रको चर्चा हुनुमा यो धेरै ठूलो बजेटमा निर्माण भएर होइन । हामी नेपाली सिनेमालाई त्यती ठूलो बजेट दिन सक्दैनौँ । उनीहरूको सय करोड, दुई सय करोडको चलचित्रको अगाडि हामीले सानो बजेटमा काम गर्नेहो ।

उनीहरूको सिनेमा सय करोडको होला । तर, उनीहरुको नायक भन्दा विराज भट्टलाई तपाइले ‘साङ्लो’मा कमजोर देख्नुहुन्न । त्यो मिहिनेतको लागि त हामीलाई धेरै पैसा चाहिँदैन नि । मिहिनेतको हिसाबले हामी उनीहरु भन्दा माथि हुन सक्छौ ।

यो कुरा त तपाइले ‘जय परशुराम’ लिएर आउँदापनि त भन्नु भए कै हो । त्यो चलचित्र त फ्लप भयो । अझै उत्साहित हुनुहुन्छ ?
त्यो मेरो सोचको चलचित्र थिएन । अरूको निर्माण, अरूको निर्देशन र अरूकै कथा बस्तुमा मैले काम गरेको हो । त्यस कारण पनि त्यो चलचित्रमा धेरै कुराहरू कमजोर भएका थिएँ । मैले हेरिसकेपछि म आफैलाई चित्त बुझेको थिएनँ । यो ‘साङ्लो’ बनाउँदा सबै आफैले गरेको हुँ । त्यसैले यसमा धेरै कुराहरू तपाइले नयाँ र उत्कृष्ट पाउनु हुन्छ । त्यसैले पनि म निकै उत्साहित छु ।

लामो समय यहाँलाई भोजपुरी चलचित्रको अनुभव पनि भयो । नेपाली चलचित्र र भोजपुरीमा के फरक हुँदोरहेछ ?
खासै फरक छैन । भाषाको भिन्नता होला । तर, अरू ठुलो फरक केही छैन । हाम्रो फिल्म, साउथ, हिन्दी, भोजपुरी जतिपनि छन् सबै बन्ने तरिका, त्यसमा राख्ने गीत, कथावस्तु उस्तै–उस्तै छन् । त्यसले गर्दा धेरै भिन्नता पाइँदैन ।

कलिउडबाट भोजपुरीमा गइसकेपछि धेरैले तपाइलाई बलिउडमा हेर्ने चाहना रोखका थिए । किन लाग्नु भएन बलियुडतर्फ ?
म भोजपुरीबाट बलिउड, बलिउडबाट हलिउड गएपनि नेपालीमा त फर्कने नै हो । नेपाली चलचित्र जगत् भन्दा ठ्ूलो मलाई अरू केही लाग्दैन । जन्मदिने आमा भन्दा ठुलो अरू कोही हुँदैन भनेजस्तै, नेपाली चलचित्र मेरो लागि छ । मलाई धेरैले विराज भट्ट पैसा कम भएर भोजपुरीमा लाग्यो भन्थे । तर, मैले भोजपुरीमा जती कमाएपनि नेपालीमै खर्च गरेको छु ।

बलिउडतर्फ चाहना नै नआएको हो त ?
त्यसो होइन । मैले पनि लापरवाही गरेको थिएँ । मैले सम्बन्धित ठाउँहरूमा गएर भेट्ने, अडिसनको लागि जाने गरिन । मैले प्रयास नै गरिन भन्दापनि हुन्छ । मैले प्रयास गरेको भए त्यहाँ काम गर्ने सम्भावना धेरै थियो ।

अब सम्भावना छैन ?
छ । अबपनि सम्भावना छ । मुम्बईतिर पनि गइरहेको हुन्छु । म छिटै नै त्यताको सिनेमाहरूमा पनि देखिनेछु । के कस्ता भूमिकाहरू हुन्छन् त्यसमा काम गर्ने प्रयास भने गर्ने छु ।

नेपाली सिने क्षेत्रमा पुराना र नयाँ कलाकारहरूबिच तालमेल भएको देखिँदैन । तपाइहरू बिच प्रतिस्पर्धा हो ?
प्रतिस्पर्धा भन्ने कुरा कहिले पनि पुराले नयाँसँग गर्ने नै होइन । पुराना भनेको बर्षाैदेखि दर्शकहरूले रुचाएका कलाकार हुन् । उनीहरूलाई नयाँले सधैँ सम्मान गर्नुपर्छ । नयाँहरूलाई पुरानाले माया गर्नुपर्छ । सिक्ने कुराहरू जो बाट जसले पनि सिक्न सक्छ । त्यसले गर्दा यसमा प्रतिस्पर्धा भन्दा पनि एकले अर्कालाई दिने माया र सम्मानको आवश्यकता पर्छ ।

पछिल्लो बर्ष हेर्ने हो भने नेपाली चलचित्र कमजोर बन्दै गएको अवस्था छ, यस्तो अवस्था किन सिर्जना भयो ?
म जति बेला नेपाली सिनेमामा काम गर्थँे , जतिबेला म निकै व्यस्त थिएँ त्यतिबेला पनि भारतीय चलचित्रहरू यहाँ चल्ने गरेका थिए । तर, हाम्रो चलचित्रको अगाडि उनीहरूको चलचित्रको व्यापार तल थियो । हिन्दी चलचित्र आउँदा बिराज भट्टको चलचित्रले भाग्नु पर्ने अवस्था थिएन । बरु हिन्दी चलचित्र कहाँ चल्छ त्यो दर्शकहरूलाई थाहा नहुने अवस्था थियो । हाम्रो चलचित्रमात्रै बढी चलिरहेको अवस्था थियो ।

लगानीमा हामी उनीहरू जस्तो गर्न नसकौला । तर, उनीहरूको भन्दा राम्रो चलचित्र हामी बनाउन सक्छौँ । फेरि अर्को कुरा, नेपालीहरूले तितो–मिठो जस्तो भएपनि विगत देखि नै नेपाली चलचित्रलाई धेरै माया गरिरहनु भएको छ । अझै अलिकती हामीले मिहिनेत गरेर दियौँ भने विदेशी चलचित्र छोडेर नेपाली चलचित्र नेपाली दर्शकहरूले निकै रुचाउँछन् । त्यो कुरा हिजोका दिनहरूमा पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment