Comments Add Comment

डेपुटी गभर्नर श्रेष्ठको पुनर्बहाली

२ माघ, काठमाडौं । निलम्बवनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली हुने भएको छ । अनियमितता गरेको आरोपमा छानविनमा परेका कारण श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।

छानविन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । अर्थमन्त्रालयले बुझाएको प्रतिवेदनअनुसार बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केही पनि नपाइएको भन्दै उनले सफाइ पाएको बताए । योसँगै डेपुटी गभर्नर श्रेष्ठलाई अब पुनर्बहाली भएर कामकाज गर्न बाटो खुला भएको छ ।

श्रेष्ठले राष्ट्र बैंकको नियमन विभाग हेर्दै आएका श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, अनियमित काम गरी आर्थिक लाभ लिएको लगायतका आरोप लागेका थिए ।

डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउदै अर्थमन्त्रालयले छानविन गरी कारबाही गर्न भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयको पत्राचारपछि श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment