Comments Add Comment

किन भिडियो कन्फ्रेन्समा जोडिँदैछन् ओली र मोदी ?

३ माघ, काठमाडौं । भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ ।  नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट  हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् । सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार २१ जनवरी (७ माघ)मा  कार्यक्रमको तयारी भइरहेको छ । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ ।

ती घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए ।
भिडियो कन्फ्रेन्समा जोडिने सन्दर्भ भने विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन हो ।

सहसचिव भुसालका अनुसार आइसीपीको औपचारिक उद्घाटनका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनेछन् । सोही बेला भारतीय सहयोगमा निर्माण गरिएका घरको हस्तान्तरण समेत हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घर हस्तान्तरणको तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोस विराटनगरमा पनि आईसीपी तयार, जनवरीभित्रै हस्तान्तरण

प्राधिकरणका अनुसार यी घर पेट्रोलियम पदार्थको पाइपलाइन उद्घाटनकै दिन हस्तान्तरण गर्ने तयारी थियो । तर, प्राविधिक कारणले उक्त प्रक्रिया पुरा हुन नसकेपछि ७ माघमा हस्तान्तरण गर्न लागिएको हो ।

भारतले सहयोग गरेका निजी आवास पुनर्नर्माणको काम ९० प्रतिशतभन्दा माथि पुगेका कारण घर हस्तान्तरण गर्न लागिएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीहरुसँगको भेटमा समेत यो सन्दर्भ उल्लेख गरेका थिए ।

‘गोरखामा भारतीय सहयोगमा बनाएका घरहरुको हस्तान्तरण गर्दैछौं, यहाँ सिंहदरबारबाट मैले र दिल्लीबाट मोदीजीले उद्घाटन गर्दैछौं,’ उनले भनेको थिए ।

भारतीय सहयोगमा गोरखामा मात्र २७ हजार घरको पुनर्निर्माण भएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment