Comments Add Comment

कांग्रेसको लाइन : शिवमायालाई गाली नगरौं !

केपी ओलीको कटाक्ष : पार्टीले सभामुख तय गर्न सकेन 

Photo Credit : फाइल फोटो

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार बिहानै जाडो र झरीको पर्वाह नगरी प्रधानमन्त्रीनिवास बालुवाटार पुगे । शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल गर्न बालुवाटार पुगेका देउवाले त्यहाँ सभामुख निर्वाचनको प्रशंगसमेत कोट्याए ।

बालुवाटारको बैठकपछि कांग्रेस संसदीय दलको बैठकमा पुगेका देउवाले बालुवाटारमा भएको छलफलबारे आफ्ना सांसदहरुलाई जानकारी दिए । ‘हामीले शिवमाया तुम्बाहाम्फेलाई किन गाली गर्नुपर्‍यो ? संसदलाई बन्धक बनाएको त नेकपाले हो नि’ देउवाले दलको बैठकमा भने, ‘मैले आज बालुवाटारमा नेकपा नेताहरुलाई लामो समय संसदलाई बन्धक बनाउनुहुँदैन, चाँडो सभामुख चयन गर्नुपर्‍यो भनेको छु ।’

उपसभामुख शिवमायाका कारणले भन्दा पनि नेकपा नेताहरुकै कारण संसद बन्धक बनेको भन्दै देउवाले यसबारे आवाज उठाउन सांसदहरुलाई आग्रह गरे ।

सभामुख र उपसभामुख भिन्नाभिन्नै दलको हुनुपर्ने भएकाले पार्टीले यसमा ध्यान दिने देउवाले बैठकमा बताए । माघ ६ गतेको संसद बैठकमा नेकपा कसरी प्रस्तुत हुन्छ, कांग्रेसले त्यही अनुसारको रणनीति लिने कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्ना सांसदलाई बताए ।

यसअघि कृष्णबहादुर महरा सभामुख बन्दा कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको थिएन । यसपालि नेकपाले शिवमायालाई नै सभामुखको उम्मेदवार बनाउँछ या अर्कै उम्मेदवार अघि सार्छ भन्ने स्पष्ट भइसकेको छैन । नेकपाले अघि सार्ने उम्मेदवारलाई हेरेर पार्टीले आफ्नो धारणा बनाउने कांग्रेसको रणनीति छ ।

विगतमा शिवमायालाई नेकपाले उपसभामुखको उम्मेदवार बनाएका बेला कांग्रेसले पुष्पा भुसाललाई उठाएको थियो । यसपालि उपसभामुखमा कांग्रेसलाई नेकपाले सघाएमा सभामुख पनि सर्वसम्मत हुन सक्ने संकेत कांग्रेस संसदीय दलको बैठकले दिएको छ ।

नेकपामा अझै अन्योल

शुक्रबार बिहान बालुवाटारको बैठकमा प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा ‘पार्टीले सभामुखको उम्मेदवार तय गर्न सकेन, अब मैले संसदीय दलको बैठक बोलाएर निर्णय गर्नुपर्ने भयो’ भन्दा कांग्रेस नेताहरु बाहिरिने तरखरमा थिए ।

कांग्रेस नेताहरुले प्रधानमन्त्रीकै शैलीमा जवाफ दिन भ्याए, ‘तपाईहरुले उम्मेदवार दिन सक्नुभएन भने हामी दिन्छौं ।’

कांग्रेेस नेताहरु बालुवाटारबाट निस्किएपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच थप छलफल भयो । तर, दुबै नेताले पछिल्ला छलफलको निचोडबारे निकटस्थहरुलाई केही बताएका छैनन् । ‘छलफल सकारात्मक भएको’ मात्र भनिएको छ ।

प्रतिनिधिसभाको बैठक माघ ६ गते बस्दैछ । सोही दिन प्रचण्ड काभ्रेको महाभारतमा एक कार्यक्रमका लागि जाँदैछन् । त्यसअघि अर्थात आइतबारसम्म नेकपाले सभामुखको टुंगो लगाउनुपर्नेछ ।

सभामुखको उम्मेदवार तय गर्नेबित्तिकै आफूले राजीनामा दिने भनेर उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले बताइसकेको अवस्थामा नेकपाले कसलाई उम्मेदवार बनाउला ? सचिवालयका सदस्यहरु नै यसबारेमा अनुमान लगाउन सक्ने स्थितिमा छैनन् ।

प्रधानमन्त्री ओली पूर्वमाओवादीलाई सभामुख छाड्न लचिलो बनेको भनिए पनि उनीनिकट नेताहरुले त्यस्तो संकेत नपाइएको बताएका छन् ।

राष्ट्रियसभाको चुनावमा कांग्रेसको जोड

यसैवीच, शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले सभामुखको चुनावमा भन्दा पनि माघ ९ गते हुने राष्ट्रियसभाको चुनावमा बढ्ता जोड दिए ।
सभापति देउवाले प्रदेश २ को चुनावमा केही सीट जित्नका लागि जोड गर्ने बताए भने बाँकी प्रदेशहरुमा पनि कांग्रेसलाई मतदान गर्न अन्य दलहरुलाई पार्टीले आग्रह गर्ने दलको बैठकमा बताए ।

राष्ट्रियसभाका १८ सीटका लागि माघ ९ गते सातै प्रदेशमा चुनाव हुँदैछ । स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्यहरुले मतदान गर्ने चुनावमा प्रदेश २ मा राजपा र नेकपाले चुनावी तालमेल गरेको अवस्था छ । यद्यपि कांग्रेसले पनि प्रदेश २ मै बढ्ता जोड गर्ने रणनीति लिएको छ ।

एमसीसी समृद्धिसँग जोडिएको छ : रिजाल

यसैवीच कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमसीसीको महत्वबारे बताएका थिए । रिजालले एमसीसीलाई संसदबाट किन पारित गर्नुपर्छ भन्नेबारे दलको व्याख्या गरेका थिए । एमसीसी पारित भएन भने नेपालमा यस्तो ठूलो आर्थिक सहयोग फेरि आउन नसक्ने बताउँदै दलको बैठकमा भने, ‘यो सहयोग बाहिरियो भने देशलाई ठूलो घाटा हुन्छ । यो सहयोग देशको समृद्धिसँग जोडिएको छ ।

संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापति देउवाले एमसीसीको विरुद्धमा देउवा उभिएको भन्दै कतिपय सञ्चार माध्यममा गलत समाचार आएको स्पष्टीकरण दिए । आफूले एमसीसीको कहिल्यै विरोध नगरेको देउवाले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment