Comments Add Comment

मनोवाद : म निर्दोष निर्मला पन्त !

अँधेरीे रातमा कञ्चनपुरमा एउटी आमालाई बेथाले च्यापिरहेको थियो । उनी प्रसव पीडाले छट्पटाउँदै र चिच्याउँदै थिइन् । निकैपछि भर्खर जन्मेको बच्चाको आवाज आयो । छोरी जन्म भयो ।

खुसीले मगमगाउँदै थिए बुवाआमा । नयाँ जामाले भन्दै थिए, घरमा छोरीको आगमन भएको छ । देवीको आगमन भएको छ, अब घरका सबै दुःख कष्ट हराउने छन् ।

मेरो न्वारनको दिनमा सबैले मेरो नाम लेखे । बाबाले मेरो नाम ‘निर्मला’ राखे । मलाई डाक्टर बनाउने सपना देखे ।

गरिबीले जीवनमा सयाै‌ं परीक्षा लियो । तर, छोरीलाई पढाएर डाक्टर बनाउँछु भन्ने चाहना मेरी आमाको मनमा थियो । सयांै कष्ट झेल्नुप¥यो मेरो पढाइका लागि, तर, उनले कहिल्यै हार खाइनन् ।

गरीबको झुपडीमा जन्मिए पनि त्यस्तो कहिल्यै महसुस नै भएन । आमाले सबै ईच्छा, चाहना पूरा गरिदिएकै थिए । प्यारी छोरी । धेरै विश्वास र आशा थियो ममाथि । बाबा र आमा नै थिए मेरा सबैभन्दा मिल्ने आत्मीय साथी । गाउँलेले भन्थे, छोरीलाई धेरै नपढा यो अर्काको घरमा जाने जात हो । तर, आमाले त्यो कुरालाई मतलब गरिनन् । सधंै मेरो हातमा हात राखेर भनिरहिन्– ‘यो मेरो जीवनभरिको साथ हो ।’

मेरो जीन्दगी यसरी नै बितिरहेको थियो । तर, एक दिन यस्तो आयो, जसले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । बाबा–आमाको सपना पूरा गर्छु भन्दै साथीको मद्दत लिन खोजें । तर, मै त्यता फसें । बुवाआमाको सपना पूरा गर्न सकिनँ । सबै सपना एकाएक भीरबाट खसे ।

बाबा–आमाले मायाले सुम्सुम्याउने मेरो अनुहारमा खोई कसले कालोपट्टी लायो ? जबरजस्ती गरी मेरो कमलो शरीरलाई भोको बाघले जस्तै लुछ्यो । मेरो शरीरको कुनै भागलाई बाँकी छाडेन त्यसले ।

जबरजस्ती मेरो हात समायो, लछा¥यो, पछा¥यो । शरीरलाई नाङ्गो पारिदियो । अनि आफू रमाउन थाल्यो । जब आफ्नो काम पूरा भयो, अनि शरीर उखुको झाडीमा फाल्यो ।

बाबा, म त्यतिबेला जिउँदो लास भइसकेकी थिएँ ।

धेरै बलियो थियो त्यो । धेरै कोसिस गरें, मेरो केही लागेन । हजारौं पटक ‘बाबा’ ‘बाबा’ भन्दै चिच्याएँ । तर, त्यो पापीको जालोबाट आफ्नो निर्दोष छोरी छुटाई लान तपाई आउनुभएन किन ?

सास बाँकी रहुन्जेल तपाईहरु मलाई लिन आउनुहुन्छ भन्ने आस थियो । अर्कोतर्फ मेरो अवस्था देखिसकेपछि तपाईहरुलाई के होला भन्ने डर पनि थियो ।

आफ्नो घीनलाग्दो प्यास लिएको त्यो पापीले आफ्नो मन बुझाई त्यहाँबाट गयो । तर, कुन शब्दमा भनुँ बाबा हजुरकी छोरीको त्यस समयमा बलात्कार भयो । अन्ततः तपाईकी छोरी बाँच्न सकिन । के दोष थियो र मेरो ? किन हामी छोरीसँग नै यस्तो हुन्छ ?

केही समयपछि सम्पूर्ण गाउँलेले मलाई देखे । तर, कसैले तपाईहरुलाई भन्नै चाहेनन् । कसैले पनि मेरो नाङ्गो शरीरमा एउटा फाटेको टालो समेत लाएनन् ।

मलाई त लागेको थियो, जसरी अन्य बलात्कारको केसलाई अनदेखा गरिन्छ, मेरो पनि त्यस्तै हुन्छ भनेर । तर, विश्वास नै लागेन, जब सम्पूर्ण गाउँले एक÷एक गरेर मेरो न्यायका लागि सडकमा उत्रिए ।
हिजोसम्म बाबा आमाकी मात्र छोरी थिएँ म, आज नेपालकी छोरी भाछु । यसर्थमा भाग्यमानी नै ठानुँला । तपाईकी छोरीले बाबा, सम्पूर्ण नेपालीको माया, साथ अनि सहयोग पाएकी छु ।

तर, मेरो हकका लागि लडिरहेका बेला गोली प्रहार गरेर निर्दोषको ज्यान लिइएछ । मेरो जीवन नै बरबाद गरेको यो काण्डलाई ‘निर्मला पन्त हत्या काण्ड’ नाम दिइएछ । खै त मैले न्याय पाएको ?

अपराध गरेको मान्छेलाई थाहा पाएर पनि किन लुकाइयो ? के गरीब हुनु पाप हो र ? गरीबले सधैं हानुपर्ने हो र ? किन मेरा लागि लडन सकेन यो कानुन ? किन देशका ठूला मान्छेले सबै कानुन त्याग गरी भ्याए । किन अँध्यारो भयो अदालत ? किन दिन सकेन मलाई न्याय ?

उज्यालो हराइसकेको छ, कालो बादल छाएकोे घरमा । बाबा–आमा बाँचिरहेका छन्, न्याय पाइन्छ कि भन्ने भरमा ।

सधैंको जस्तै यो काण्ड पनि अधुरै रहयो । उखान, उखान मात्र हो, साँचो हुन सकेन ।

अन्त्यमा, गल्तिकै जीत भयो । यो जन्ममा तपाईको सपना पूरा गर्न सकिनँ अर्को जन्म फेरि लिन्छु । तर, छोरी बनेर जन्मिने छैन । फेरि बलात्कार र हत्या हुने डर रहन्छ । अर्कोचोटि छोरा भई जन्मिन्छु । अनि तपाईहरुलाई सबै खुसी दिन्छु नि है !

(सर्लाही निवासी आरजु ट्रिनिटी कलेज, काठमाडौंमा अध्यनरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment