Comments Add Comment

पोलिथिनमुक्त नगर बन्दै तिलोत्तमा

दैनिक चार क्वीन्टल प्लास्टिक फोहोर संकलन

जथाभावी फालिएका प्लाष्टिक संकलन गर्दै नगरवासी।

५ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र केही दिनयता दिनहुँ हुलका हुल मान्छे बोरा समाएर प्लास्टिक फोहोर बटुल्दै हिँडेका देखिन्छन् ।

उनीहरु कहिले बस्तीमा त कहिले सडकमा, कहिले कुलो-खोल्सामा त कहिले विद्यालय र हाटबजार पुगेर यत्रतत्र फालिएका प्लास्टिक, प्लास्टिकका बोत्तल, सुर्ती, गुट्खा, चाउचाउ र बिस्कुटका खोल टिप्दै बोरामा जम्मा गर्दै हिँडिरहेका हुन्छन् ।

महिला, युवा, बयस्कदेखि बृद्धबृद्धा र सामाजिक संघ-संस्थाका गरी दिनहुँ पाँच-सात सय स्थानीय बासिन्दाले चकलेट, मिठाई, चुइगम, बिस्कुट, चाउचाउका खोलसमेत सडक छेउ र जमिनमा रहन नदिइ जम्मा गर्दै हिँडेका छन् ।

जथाभावी फालिएका प्लास्टिक फोहोर बटुल्न नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यदेखि शिक्षक-विद्यार्थी सबै अहोरात्र खटेका छन् ।

कोही प्लास्टिकजन्य फोहोरले खेती गर्ने माटो र वातावरणलाई कसरी बिगार्छ भन्ने चेतना जगाउन सडक नाटक गर्दै छन् । कोही सरकारी विद्यालय र निजि बोर्डिङ स्कूलहरुमा वातावरण र सरसफाइका विषयमा सिकाउन खटिएका छन् ।

प्लास्टिकजन्य बस्तु जम्मा गर्ने काममा सहभागी सबैलाई अबदेखि जथाभावी नफाल्न र बानी/व्यवहार बदल्न वातावरणविज्ञबाट सिकाउने काम पनि सँगसँगै भएको छ ।

नगरवासीहरु चाडपर्व, चीसो मौसम र झरी समेत नभनी उत्साहजनक रुपमा बिहानदेखि साँझ अबेरसम्म खटिएका छन् ।

तिलोत्तमा नगरपालिकालाई देशकै पहिलो शून्य खुला पोलिथिन नगर घोषणाका लागि नगरभित्र यसरी प्लाष्टिकजन्य फोहर जम्मा गरेर ब्यवस्थापन गर्ने अभियान चलाइएको हो ।

माघको अन्तिम हप्ता कक्षा ९ देखि १२ सम्मका करिब २० हजार विद्यार्थी र ५ हजार वौद्धिक वर्ग गरी २५ हजार जनमानसको उपस्थितिमा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाउने लक्ष्यका साथ अभियान अन्तिम चरणमा छ ।

नगरपालिकाको यो अभियानमा वातावरणविद् निपेश ढाका (अधिकारी) र उनको संस्था दीगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सीम) नेपालले सहकार्य गरेको छ ।

सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफाइ, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि प्लास्टिकले पुर्‍याउने हानी-नोक्सानीबारे प्रशिक्षण दिने र त्यसलगत्तै उनीहरुकै सहभागितामा आआफ्नो क्षेत्रमा फालिएका प्लास्टिकजन्य र अन्य फोहोर संकलन गराउने गरेका छन् ।

‘अहिलेसम्म नगरभित्रको करिब ६० प्रतिशत फोहोर संकलन गरिसक्यौं’-अभियानका संयोजक निपेश ढाकाले भने, ‘हामीले बीसौं वर्षदेखि जम्मा भएका प्लास्टिक र अन्य फोहोर निकाल्यौं, सडक, कुलो, खोल्सा कतै पनि अब प्लास्टिक नभेटिने बनायौं ।’

संकलित फोहोर तिलोत्तमाकै वडा नं. ८ मा सञ्चालनमा आएको फोहोर प्रशोधन केन्द्रमा पठाउने गरिएको छ । त्यहाँ नकुहिने प्लाष्टिकजन्य र अन्य सिसाजन्य फोहरहरु प्रशोधन गर्ने तथा कुहिनेलाई प्रांगारिक मल बनाएर बिक्री गरिन्छ ।

हरेक दिन करिब चार क्वीन्टलका दरले प्लास्टिक फोहोर आउने गरेको प्रशोधन केन्द्रका सञ्चालक खेमप्रसाद गौतमले बताए ।

शून्य पोलिथिन अभियान अन्तर्गत राष्ट्रिय कलाकारको प्रस्तुतिमा पोलिथिन साँझ कार्यक्रम पनि गरिएको र त्यहाँ चार हजार बोरा प्लास्टिक संकलन भएको अभियानका स्थानीय संयोजक कमल देवकोटाले बताए ।

‘नगरवासीलाई प्रशिक्षण,सडक नाटक, साँस्कृतिक कार्यक्रम जस्ता विभिन्न माध्यमबाट प्लास्टिकलाई जथाभावी फाल्न हुँदैन, यसले वातावरण, मानव स्वास्थ्य र माटोलाई हानी गर्छ भन्ने जनचेतना जागृत गराउंदै नगरलाई शून्य खुल्ला पोलिथन घोषणाको अन्तिम चरणमा आइपुगेका छौं,’ नगर प्रमुख बासुदेव घिमिरेले भने, ‘यो कार्यक्रम सस्तो लोकपि्रयताका लागि नभई देशलाई नै सन्देश दिने गरी लामो प्रयास र धेरै मेहनत खर्च गरेर गरिएको हो ।’

प्लास्टिकजन्य बस्तुको प्रयोगपछि नगरवासीले जथाभावी नफ्याँकुन्, निश्चित ठाउँमा संकलन गरेर त्यसलाई बिक्री गरेर आयआर्जन गर्न सकियोस् र माटो र वातावरण संरक्षण गर्दै नगरलाई स्वच्छ, हराभरा बनाउन सकियोस् भन्ने उद्देश्यले शून्य खुला पोलिथिन नगर घोषणा कार्यक्रम ल्याइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले स्पष्ट पारे ।

‘यो अभियान अनुशासन, संस्कार र सभ्यताका लागि पनि हो,’ उनले भने, ‘हामीले तिलोत्तमाबाट सातै प्रदेशका स्थानीय तहले पनि यो कुरा अनुशरण गरुन् भन्ने सन्देश दिन चाहेका छौं ।’

नगरपालिकाले अभियानसँगै १७ वटै वडामा प्लाष्टिकजन्य र अन्य फोहोर बस्तुहरु फाल्नका लागि चोकचोकमा ठूला साइजका डष्टबिनको उचित ब्यवस्थापन गर्दैछ ।

नगरभित्रका एक सय ९० वटा टोल विकास संस्थाहरुलाई यसमा सहभागी गराउँदैछ । आफ्नो टोललाई घोषणा अनुसार शून्य पोलिथिन राख्ने टोललाई प्रत्येक तीन-तीन महिनामा पुरस्कृत गर्ने र जथाभावी प्लास्टिकजन्य फोहोर फ्यांक्नेलाई जरिवानासमेत तिराउने नगरपालिकाको तयारी छ ।

३६५ जना कलाकारलाई एकै थलोमा जम्मा गरेर एकैदिनमा वातावरण सम्बन्धी गीत रेकर्ड गराएका र ६५ जिल्लामा पुगेर ५ वर्ष लगाएर वातावरण संरक्षणकै लागि वृत्तचित्र बनाएका वातावरणको क्षेत्रमा अनुसन्धान गर्दै आएका निपेश ढाकाले तिलोत्तमा नगरपालिकामा सञ्चालित अभियान राष्ट्रकै लागि अनुकरणीय काम भएको दाबी गर्छन् ।

‘यहाँ अभियान सुरु गरेपछि धेरै स्थानीय तहले हामीकहाँ पनि आइदिनुपर्‍यो भन्न थाल्नुभएको छ,’ ढकाले भने, ‘हामीले चर्चा र पैसा कमाउन यो सबै गरेका होइनौं, हामी देशको माटो र वातावरण बचाउन कोही न कोही त लाग्नुपर्छ भन्ने मान्यताले रात दिन नभनी लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment