Comments Add Comment

कलाकर्मीबाटै समर्थन पाइनन् आस्था राउतले

५ माघ, काठमाडौं । प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सिक्किमबाट आइतबार काठमाडौं फर्कन लागेकी आस्थाले विमानस्थलबाट सिधै प्रहरी हिरासतमा जानुपर्ने हुन सक्छ ।

आफूलाई विमानस्थलमा अमर्यादित व्यवहार गरेको भन्दै आस्थाले फेसबुकमा प्रहरीलाई गालीगलौज गरेकी थिइन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार गरेको उनको दाबी छ । उक्त घटनाको सीसीटिभी फुटेज प्रहरीले सार्वजनिक गरिसकेको छ । फुटेजमा आस्था र प्रहरीबीच विवाद भएको देखिए पनि आवाज नभएकाले अपशब्द प्रयोग भएको वा नभएको यकिन गर्न सकिंदैन ।

अहिले सामाजिक सञ्जालमा आस्थाको पक्ष र विपक्षमा बहस तीव्र छ । धेरैले चाहिँ आस्थाकै गल्ती औंल्याएका छन् । हुन पनि प्रहरीलाई मर्यादित बन्न सिकाउने आस्थाले फेसबुक लाइभमा आफैं अमर्यादित भाषा प्रयोग गरेकी थिइन् । उक्त घटनामा संलग्न महिला प्रहरी रमिता श्रेष्ठले आस्थाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी गरिन् । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।

एउटी चर्चित गायिकालाई संकट आइलाग्दा कलाक्षेत्रका व्यक्तिहरु भने अधिकांश मौन छन् । जसले मुख खोलेका छन्, उनीहरु पनि आस्थालाई समर्थन गर्न सकेका छैनन् । अनलाइनखबरले थुप्रै संगीतकर्मीहरुसँग कुरा गर्न खोज्दा उनीहरु टक्टकिए ।

संगीतकार सुरेश अधिकारीसँग यस विषयमा कुरा गर्न खोज्दा उनले आफूलाई घटनाको विषयमा केही थाहा नभएको दाबी गरे । आफू निजी काममा व्यस्त रहेकाले समाचारमा ध्यान दिन नपाएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस आस्था राउतलाई पक्राउ गर्न अनुमति

आस्थासँग भ्वाइस अफ नेपालमा सँगै कोच गरेका गायक प्रमोद खरेल पनि यस विषयमा बोल्न चाहेनन् । उनले आफूलाई टन्सिल भएको भन्दै बोल्न असमर्थ रहेको बताए । थप केही कलाकारहरुलाई सम्पर्क गर्दा उनीहरु पनि बोल्न चाहेनन् ।

संगीतकार अर्जुन पोखरेलले भने सीसीटिभी फुटेज हेरेकै भरमा कसको गल्ती छ भनेर खुट्याउन नसकिने प्रतिक्रिया दिए । उनले भने, ‘भिडियोमा आवाज सुनिएको छैन । त्यसैले यसैको गल्ती भन्ने छुट्याउन गाह्रो छ । हामीले निष्पक्ष भएर हेर्ने हो भने त्यहाँ केही आस्थाकै गल्ती देखिन्छ ।’

अर्जुनको भनाइमा आस्थाले लाइभमा आएर बोल्न जरुरी थिएन । उनी भन्छन्, ‘आस्थाले भिडियोमा त्यसरी नबोलेको भए हुने थियो । त्यहाँ बोलिएका शब्दहरुले उनलाई गलत बनाएको छ । त्यसैको कारण पनि उनले गाली खाइरहेकी छिन् ।’

गल्ति जसको भए पनि समझदारीमा समाधान निकाल्नुपर्ने अर्जुनको भनाइ छ । उनले थपे, ‘मान्छेबाट नै हो गल्ती हुने । त्यसलाई एउटा पाठको रुपमा हेर्नुपर्छ । त्यसैले गल्ती आस्थाको भए उनले माफी माग्नुपर्छ ।’

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा सीसीटिभी फुटेज हेरेर कसको गल्ती हो भनेर छुट्याउन नसकिने बताउँछन् । उनले भने, ‘एअरपोर्ट जस्तो संवेदनशील ठाउँको फुटेज किन बाहिर ल्याइयो भन्ने नै ठूलो प्रश्न हो । यस्तो फुटेज बाहिर ल्याउनु हुन्न जस्तो लाग्छ मलाई ।’

यो पनि पढ्नुहोस यस्तो छ प्रहरी र आस्था राउत विवादको सीसी टीभी फुटेज

आस्थाको लाइभ भिडियोमा बोलिएका शब्दहरु गलत भएको कुरालाई नकार्दैनन्, उनी । बास्कोटाले भने, ‘उनले आवेगमा धेरै कुराहरु बोलेकी छिन् । केही गलत कुराहरु पनि बोलेकी छिन् । त्यसैले म भन्छु, सामाजिक सञ्जाल भनेको धेरै रिस र धेरै खुसी भएको बेला चलाउने कुरै होइन । यसले पक्कै हानी नै गर्छ ।’

गायक राजेशपायल राईले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै आस्थालाई सुझाव दिएका छन् । माया लिन सक्ने कलाकारले घृणालाई पनि स्वीकार्न सक्नुपर्ने उनको टिप्पणी छ ।

यस्तो छ राईको स्टाटस

‘एअरपोर्टमा साहरुख खानको त झन् कट्टु नै चेक गरेको थियो । त्यो उसको अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो ? चेकिङमा कफी, पानी लान पाइँदैन । वाल्लेट (मनी ब्यग ) पनि पाइँदैन । उनी बैनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी शो ‘द भ्वाइस’की कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ । तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार । धेरै रुन्ची नबन, अब तिमी ठूली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवश्यक ।’

अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि यस विषयमा लामो स्टाटस लेखेका छन् । उनको स्टाटस मार्मिक र सन्तुलित पनि छ । उनले अन्य देशहरुमा एयरपोर्टमा कलाकारलाई विशेष व्यवहार हुने गरे पनि नेपालमा भने नेतालाई मात्रै ‘भीआईपी’ मानिने उल्लेख गरेका छन् ।

गिरीको स्टाटस जस्तो तस्तै: 

प्रिय आस्था बहिनी…

यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि विगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु ।

समस्या कहाँबाट आयो भने तिमीले भिडको सामना गर्दै प्रहरीलाई चेक गराउँदै अघि बढ्नुपर्थ्यो । भिड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि । त्यहाँ पनि निस्कियो होला ।

तर हामी कलाकार वा सेलेब्रिटिजको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटिज भनेको सेतो कपडा रहेछ अरू रङमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । अतः सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायस् यस्तो घटना हुँदैन किनकि त्यहाँ नेतामात्रै भिआइपी हुँदैनन् । धेरै कर तिर्ने व्यापारिहरू, नाम चलेका खेलाडी, कलाकारहरूलाई पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन । यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो ।

यो संवेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकि हामी भिडबाट नै गुज्रिनु पर्छ । त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।

मापसे काण्डमा म पनि परेँ । गल्ती मेरै थियो। तर जब म प्रहरीको पञ्जामा परेँ । ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ । हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फुर्ती देखायो होला फस्यो नि’ भनिँदो रहेछ । त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाऊँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ । तिमीलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो । त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाइ केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्या्दित देखियौ । अतस् यो घटनालाई तिमीले हामी सबैले एउटा पाठको रूपमा लिनुपर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्न् भनेर आउँछ दुःख लाग्छ ।

त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु । तिमी पनि माग। सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौँ । यो वास्तविकतालाई बुझौँ ।

नायिका करिश्मा मानन्धरले आइतबार स्टाटस लेखेकी छिन् । उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको उल्लेख गरेकी छिन् । आस्थाले पहिलोपटक यो अनुभव लिएको भन्दै करिश्माले आफूले यस्तो भोगेर वाक्क भइसकेको उल्लेख गरेकी छन् ।

‘असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन । पुलिस पनि नेपाली मानिस हुन् । दिनभरी दिक्क लाग्ने कामले वाक्क छन् होला । तर, भाषाको प्रयोग गर्दा ध्यान पुर्‍याउनु होला,’ करिश्माले लखेकी छन् ।

उनी थप्छिन्, ‘आवेगमा आस्थाले केही त्रुटि बोल्ने समयमा गरिन् होला । तर, के नेपाल पुलिसबाट ‘तँ’ नखाने कोही छौं ? त्यो पनि बिनाकारण ? हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छोडिदिन्छौं । तर, अब केटाकेटीले रियाक्ट गरिन् । त्यही हो ।’

को हुन् आस्था राउत ?

नेपाली गीत संगीतको दुनियामा चिनिएकी गायिका हुन् आस्था । उनले केही सोलो एल्बमहरु निकालेकी छिन् । ‘खोइ त मलाई झुम्के बुलाकी’ बोलको गीतबाट चर्चामा आएकी आस्थाको ‘चौबन्दीमा पटुकी, तिन मोहोरको धागो, सालको पात टपरी, नाकैमा फुली’ लगायत गीत हिट छन् ।

यो पनि पढ्नुहोस आस्था राउतको सुरक्षा जाँच गर्ने प्रहरी जवानले दिइन् उजुरी

आस्थाले केही चलचित्रको गीतमा पनि आवाज दिएकी छिन् । उनले आवाज दिएको चलचित्र ‘मायाज बार’को गीत ‘माया यो माया’ पनि हिट भएको थियो । यस अलवा उनले ‘ढुवानी’ र ‘लंका’ चलचित्रको गीतमा पनि आवाज दिएकी छिन् ।

अहिले आस्था गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा पनि आवद्ध छिन् । ‘द भ्वाइस अफ नेपाल सिजन २’ मा उनी कोच थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment