Comments Add Comment

एपीएफ च्यामिपयन, राजेश र रिता उत्कृष्ट खेलाडी

काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ ।

ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जित्दै एपीएफ टिम च्याम्पियन बनेको हो । एपीएफले १ लाख नगद पुरस्कार पायो । यस्तै नेपाल आर्मी ३ स्वर्णसाथ दोश्रो भयो । आर्मीले ५० हजार प्राप्त गर्‍यो ।

यस्तै  व्यक्तिगततर्फ आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । दुवैले २५-२५ हजार नगद पुरस्कार प्राप्त गरे । राजेशले पुरुष ६५ केजी तथा रिताले महिला ५५ केजीमा स्वर्ण जितेका थिए । स्वर्णवापत दुवैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए । भाटभटेनीले अनुशासित टिमको उपाधि हात पार्‍यो भने मार्चपासमा एपीएफ उत्कृष्ट बन्यो ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो  भए । फाइनलमा उनले एपीएफका सञ्जय राईलाई पराजित गरे । आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेश्रो भए । पुरुष ५५ केजीमा एपीएफका रोहित चुनारो पहिलो भए । उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराए । मुवाँथाईका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेश्रो भए ।

पुरुष ६० केजीमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई पाखा लगाए । मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेश्रो बने । पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । बक्समान्डुका मनीषकुमार भुजेल र प्रहरीका समन धुस्रीले कांस्य जिते ।

पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनवारले बाजी मारे । उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारे । सो क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेश्रो स्थानमा चित्त बुझाए ।

पुरुष खुला तौलसमूहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने । फाइनलमा कोशिषले एपीएफका भुपेन्द्र शाहलाई हराए । सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेश्रो भए ।

महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले फाइनलमा आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण चुमिन् । एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेश्रो स्थानमा रहे । महिला खुला तौलसमूहमा आर्मीकी विन्दु पुन पहिलो भइन् । फाइनलमा विन्दुले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन् । मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेश्रो भए ।

महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन् । फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन् । मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेश्रो भए ।

महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण जितिन् । सन्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराइन् । आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे । महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन् । आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेश्रो भए ।

तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment