
६ माघ, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका– १ रमितेमा आइतबार राति बम विस्फोट भएको छ । निर्माणाधीन उर्लाबारी किशान चोक–रमिते सडकमा राखिएको डोजरमा आगजनी र बम बिस्फोट भएको हो । आगजनीमा ३ वटा डोजर जलेका छन् ।
आइतबार राति करिब १० बजे विस्फोट भएपनि प्रहरीको अनुसन्धान टोली भने सोमबार बिहान मात्र सो स्थानमा पुगेको थियो । घटना स्थल पुगेर फर्किएका मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले तीनवटा डोजर जलेको बताए । स्थानीयलाई उद्दत गर्दै उनले तीनवटा बम विष्फोट भएको बताए । उनले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने बताए ।
१ नम्बर प्रदेश सरकारको ५८ करोड बजेटमा सो सडक निर्माणका लागि शर्मा एण्ड भिमेश्वर जेभी कण्ड्रक्सनले ठेक्का लिएर काम अघि बढाएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि सहदेव खडकाका अनुसार आगजनीबाट साढे तीन करोड बराबरको क्षति भएको छ । उनले भर्खर खरिद गरेका नयाँ डोजरमा आगजनी भएको बताए ।
ठेकेदार कम्पनीलाई केही समय अघि अज्ञात समूहले चन्दा मागेको थियो । तर नदिएका कारण बिष्फोट गराएको हुनसक्ने प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान भइरहेको बताउँदै मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले आगजनीको कारण चन्दा हुनसक्ने बताए । चन्दा कसले माग गरेको भन्ने विषयमा केही नखुलेको उनले बताए ।
प्रतिक्रिया 4